काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान राजुकाजी शाक्यलाई प्रशिक्षक पदबाट हटाउन गरेको निर्णय सच्याएको छ।
शाक्य प्रकरणमा एन्फाको निर्णयको चौतर्फी आलोचना भएपछि बुधबार आधिकारिक धारणा सार्वजनिक गर्ने भन्दै प्रवक्ता किरण राईले ‘शाक्यलाई बर्खास्त गरेको नभई जिम्मेवारी हेरफेर गरिएको’ बताए।
‘शाक्यको विषयमा बाहिर धेरैथरी कुरा आए । त्यसैले आज हामीले यस विषयमा आधिकारिक धारणा बनाउन अध्यक्षलगायत पदाधिकारी बसेर छलफल गर्याें । उहाँलाई खासमा एन्फाले बर्खास्त गरेको नभई राष्ट्रिय टिमको सहायक प्रशिक्षकको जिम्मेवारीमा अर्को प्रशिक्षक ल्याएका मात्र हौं,’ नागरिकसँग कुरा गर्दै राईले भने, ‘उहाँसँग भएको सम्झौतामा पनि एन्फाले खटाएअनुसार प्रशिक्षण काम गर्ने भनिएको छ । त्यसअनुसार एन्फाले आवश्यकताअनुसार उहाँलाई राष्ट्रिय टिम, उमेरसमूहको टिम, महिला टिम वा एकेडेमी अथवा अन्य कुनै प्राविधिक प्रशिक्षणसम्बन्धी काममा खटाउन सक्छ।’
राईका अनुसार एन्फाले सञ्चारमाध्यममा आएका समाचारको विषयमा शाक्यसँग स्पष्टीकरण लिने भएको छ । ‘सञ्चारमाध्यममा उहाँले बोलेका कुराको विषयमा उहाँसँगै छलफल गर्ने भन्ने छ,’ राईले थपे, ‘सँगै उहाँले अबका दिनमा कुन जिम्मेवारी वहन गर्ने भन्ने पछि छलफल हुनेछ।’
‘एन्फाले आवश्यकताअनुसार उहाँलाई राष्ट्रिय टिम, उमेरसमूहको टिम, महिला टिम वा एकेडेमी अथवा अन्य कुनै प्राविधिक प्रशिक्षणसम्बन्धी काममा खटाउन सक्छ।’
शाक्यलाई एन्फाले औपचारिक रूपमा बर्खास्त गरेको थिएन । तर वैशाखमा सम्पन्न साधारणसभाले कर्माछिरिङ शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चुनेपछि शाक्यको पारिश्रमिक रोक्का गर्दै राष्ट्रिय टिममा उनको ठाउँमा अर्का राष्ट्रिय पूर्वखेलाडी बालगोपाल महर्जनलाई नियुक्त गरिएको थियो।
बर्खास्त गरेको पत्र नथमाए पनि अध्यक्ष शेर्पाले नेपालको कानुनअनुसार एकै व्यक्तिले दुई ठाउँबाट तलब खान नपाउने नियम भएको र शाक्य राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी भएकाले उनलाई निकालेको प्रतिक्रिया सञ्चारमाध्यमलाई दिएका थिए । एक टेलिभिजन च्यानलमा उनले यसो भनिरहँदा शाक्य दुई वर्षअघि नै राखेपबाट सेवानिवृत्त भइसकेको थाहा भएपछि शेर्पाले बोली फेर्दै स्विकारेका थिए, ‘अब हामी आएपछि हामीले आफ्नो प्यानलको टिम बनाउने हो।’
दक्षिण एसियाली खेलकुद (साफ, हालको साग) मा नेपाली फुटबलले अहिलेसम्म तीन पटक स्वर्ण पदक जितेको छ । पहिलो पटक स्वर्ण पदक जित्दा शाक्य नेपाली टोलीको मुख्य खेलाडी थिए । दोस्रो पटक नेपालले शाक्यकै कप्तानीमा उपाधि जितेको थियो भने दुई वर्षअघि नेपाल सागको फुटबलमा च्याम्पियन हुँदा शाक्य मुख्य प्रशिक्षक थिए । यसै गरी नेपालले जितेको अहिलेसम्मकै अर्को एक मात्र आधिकारिक प्रतियोगिता एएफसी सोलिडारिटी कपको उपाधियात्रामा पनि शाक्य प्रशिक्षकको भूमिकामा थिए।
नेपाललाई चार पटक च्याम्पियन बनाउँदा फरक भूमिकामा टिममा महत्वपूर्ण भूमिका रहेका शाक्यले एन्फाको नयाँ नेतृत्वबाट निकालिएपछि भावुक भएर ‘फुटबल खेलेकोमा पछुतो लागेको’ प्रतिक्रिया दिएका थिए । शाक्यको उक्त प्रतिक्रियापछि एन्फाको चौतर्फी आलोचना भएको थियो।
नेपाली फुटबलका सर्वकालीन महान् हस्ती शाक्यसँग एन्फाले गत वर्ष पुसमा एक वर्षका लागि राष्ट्रिय टोलीसमेत हेर्ने गरी भन्दै करार सम्झौता गरेको थियो।
प्रकाशित: २४ श्रावण २०७५ ०४:१८ बिहीबार