९ पुस २०८१ मंगलबार
image/svg+xml
खेल

जातीय दुर्व्यवहारका हजारौं कथा पोस्ट

फ्य्रांकफर्ट – आर्सनलका मिडफिल्डर मेसुट ओजिलले गत आइतबार आफूमाथि जातीय दुर्व्यवहार भएको भन्दै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरे । तर ओजिलले संन्यास लिएको साता दिन बित्न लाग्दा समेत जर्मनीमा जातीय दुर्व्यवहारकोे तरंग हटेको छैन।

ओजिलबाट प्रभावित बनेका जर्मनीमा बसोबास गर्ने हजारौं आप्रवासीले ट्विटरमा ह्यासट्याग ‘मि टु’ मार्फत आफूहरूमाथि हुने जातीय दुर्व्यवहारका कथा दैनिक रूपमा पोस्ट गरिरहेका छन्।

“जब म रेलमा यात्रा गरिरहेको हुन्छु र रेलमा मबाहेक सबे गोरा मानिसहरु छन् । सो समयमा प्रहरी रेलमा प्रवेश गरेमा मलाई मात्र आफ्नो परिचयपत्र देखाउन लगाइन्छ,” डेर स्पिगेलका संवाददाता हासेन काजिमले ट्विट गरेका छन्।

टर्किस मूलका लेखक र सामाजिक अभियान्ता अली क्यानले जातीय दुर्व्यवहार र महिलामाथि हुने यौन हिंसाका विरुद्ध ‘मि टु’ नामक क्याम्पेनको थालनी गरेका थिए ।

ओजिलले जर्मन फुटबल संघ (डिएफबी) का अध्यक्ष, प्रायोजक र सञ्चारमाध्यमलाई सम्बोधन गर्दै ४ पेज लामो पत्र लेखेर अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका थिए।

जर्मनीले २०१४ को विश्वकपको उपाधि जित्दा टोलीका प्रमुख सदस्य रहेका ओजिलले आफूमाथि निरन्तर जातीय दुर्व्यवहार भैरहँदा पनि डिएफबीका अध्यक्ष रेनार्ड ग्रिन्डेलले कुनै प्रतिक्रिया नजनाउँदा आफू निराश भएको उल्लेख गरेका थिए ।

“ग्रिन्डेल र उनका समर्थकको आँखामा जर्मनीले जित्दा म जर्मन खेलाडी भएँ भने टोलीले हार्दा म आप्रवासी भएँ,” विश्वकपअघि टर्कीका राष्ट्रपति इर्डोगानसँगको भेटको कुनै राजनीतिक उद्देश्य नभएको भन्दै २९ वर्षे ओजिलले भनेका थिए, “मेरो दुईवटा मुटु छ । एउटा जर्मनीको र अर्को टर्कीको।” ओजिलले लगाएको जार्तींय दुव्यवहारपछि उनको समर्थन र विरोधका जर्मनी तरंगित बनेको हो ।

“हामीलाई आप्रावासीमाथि हुने दुर्व्यवहारसँग लड्नका लागि पनि ह्यासट्याग ‘मी टु’ आवश्यक छ,” क्यानले मंगलबार एक भिडियो सन्देशमार्फत भने, “मेरो एकभन्दा बढी परिचय छ । म जर्मनीलाई मेरो घर मान्दछु र म आफूलाई अर्को एउटा देशसँग पनि जोडिरहन चाहन्छु । यो दुवै पक्ष एकै साथ अघि बढ्छन् । म जर्मन हुँ भन्दैमा मैले टर्कीलाई घृणा गर्नुपर्छ भन्ने छैन र म टर्किस मूलको भएँ भन्दैमा जर्मनीलाई हेलाँ गर्न मिल्दैन।”

उनको अभिव्यत्ति लगत्तै ट्विटरमा ह्यासट्याग ‘मी टु’ मार्फत जातीय र महिला हिंसाका हजाराैं कथा पोस्ट भइरहेका छन्। त्यस्तै केही मानिसले आफ्नो वर्ण र नामकै आधारमा पनि जर्मनीमा घर किन्न र भाडामा बस्न समेत अपमानित भएको आरोप लगाएका छन् ।

“जब तपाईं कुनेै घर किन्न वा भाडाका बारमा बुझ्न जानुहुन्छ र तपार्इं आप्रवासी हुनुहुन्छ । तब कयौं पटक आग्रह गर्दा समेत घरबेटीका तर्फबाट कुनेै जबाफ आउदैन,”ओगुज एलमाजले ट्विट गरेका छन्, “तर तपार्इंको साथम जर्मन प्रेमिका वा श्रीमती छन् भने उनीहरुबाट सहजै जबाफ आउँछ।”

“मैले कलेज पढ्दा डेड लक गरेको थिएँ । तर मलाई सबैले बाँदर भनेर गिज्याए,” माक्कोम ओस्कार ओजोमा ओडेज–ओहान्वेले ट्विट गरेका छन्। जर्मनीका परराष्ट्रमन्त्री हेइको मासले जातीय दुर्व्यवहारका लागि सुरु भएको अभियान दुखद भएको बताए।

“तपाईं जर्मनीमा कुनै जातीय दुर्व्यवहार हुँदैन भन्ने सोच्नुहुन्छ भने म तपाईंहरूलाई दैनिक रूपमा ट्विटर ह्यासट्याग ‘मी टु’ मा आइरहेका यससम्बन्धी पोस्टहरु पढ्न आग्रह गर्न चाहान्छु,” उनले ट्विट गरेका छन्, “आउनुहोस् हामी जो जहाँ भए पनि जातीय दुर्व्यवहारका विरुद्ध आवाज उठाऔ।”

प्रकाशित: १३ श्रावण २०७५ ०५:०८ आइतबार

जातीय दुर्व्यवहारका हजारौं कथा पोस्ट