३ चैत्र २०८१ आइतबार
image/svg+xml ४:२६ पूर्वाह्न
खेल

आहा! रारा गोल्डकप : नेपाल पुलिस फाइनलमा, चर्च ब्वाईज पराजित

नेपाल पुलिस क्लब पोखरामा जारी २४औं संस्करणको आहा! रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।  

पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडमाथि शुन्यका विरुद्ध एक गोलको साँधुरो जित निकाल्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । आहा! राराको २४ मध्ये २३ वटा संस्करणमा सहभागी भएको पुलिस ११औं पटक फाइनलमा पुगेको हो । उसले ६ पटक उपाधि जितेको छ ।  

आहा! रारामा आफ्नो ५०औं खेलमा पुलिसलाई जित दिलाउन ५८ औं मिनेटमा सन्जिव लामाले एकमात्र गोल गरे ।  

२०७६ सालपछि पहिलो पटक फाइनलमा पुगेको पुलिस सातौं पटक उपाधि उचाल्दै इतिहास बनाउने योजनामा छ । पुलिस र चर्च ब्वाइजबीच बुधबार भएको खेल आहा! रारा गोल्डकपको २५०औं खेल पनि हो ।  

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुनेछ ।  

फाइनल खेल शनिबार हुनेछ ।

प्रकाशित: ३० माघ २०८१ १६:३६ बुधबार

#Aharara Goldcup