काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता पुस १ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा हालसम्म मोफसल ३ सहित १७ टिमको सहभागिता निश्चित भइसकेको चावहिल स्पोर्ट्स क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक राजेश श्रेष्ठले जनाएका छन् । मोफसलबाट हेटौंडा, चितवन र बीबीसी बनेपाले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ । टिम अन्तिम दर्ता मिति मंसिर २९ गतेसम्म राखिएको छ ।
विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र फरवार्डलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ९० हजार रुपैयाँ खर्च हुने आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडाले जानकारी गराए । चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताका खेल चन्द्रविनायक पार्क, चावहिल मैदानमा हुनेछ । विगतका तीनै संस्करणको उपाधि फ्रिडम फाइटर, ढोलाहिटीले जितेको थियो । फाइनल पुस ६ गते हुनेछ ।
प्रकाशित: २६ मंसिर २०८१ १८:५५ बुधबार