१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सन्यास लिने तयारीमा सकिब

अवामी लिगका नेतासँगको सम्बन्धका कारण दबाबमा रहेका बंगलादेश क्रिकेट टोलीका पूर्वकप्तान सकिब अल हसन अन्तर्राष्ट्रिय क्रिकेटबाटै संन्यास लिने तयारी रहेको बताइएको छ । तर, कम्तिमा एक खेल घरेलु मैदानमा खेल्ने उनले आश राखेका छन्।

पूर्वप्रधानमन्त्री शेख हसिना र सकिबसहित पार्टीका १४७ नेतामाथि गत महिना ढाकामा भएको विद्यार्थी आन्दोलनमा एक जनाको हत्या गरेको र आन्दोलनकारीमाथि धरकपड गर्न लगाएको आरोप लागेको थियो। तर, अगस्टको सुरुमा बंगलादेशमा हिंसा र प्रदर्शन भएदेखि सकिब बंगलादेशमा थिएनन्। देशमा आन्दोलनले उग्र रूप लिएपछि हसिनाले गत अगस्ट ५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन्। त्यतिबेला सकिब क्यानडामा ग्लोबल ट्वान्टी–२० लिग खेलिरहेका थिए।

हसिनाको पार्टी अवामी लिगबाट सांसद भएका ३७ वर्षे सकिब गत महिना आफ्नो सरकार ढलेपछि बंगलादेश फर्केका छैनन्। उनी टेस्ट शृंखला खेल्न पाकिस्तान गएका थिए। त्यसपछि सरेबाट काउन्टी क्रिकेट खेल्न इङ्ल्यान्ड पुगे। उनी हाल भारतविरुद्ध टेस्ट शृंखला खेलिरहेका छन्। अर्को वर्ष फेब्रुअरीमा पाकिस्तानमा हुने ५० ओभरको च्याम्पियन्स ट्रफी आफ्नो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुने उनले बताएका छन्। ‘मैले एकदिवसीयमा आठ खेल खेल्न बाँकी छ र च्याम्पियन्स ट्रफी अन्तिम हुनेछ,’ उनले भने।

तर, दक्षिण अफ्रिकाविरुद्धको दुई टेस्ट शृंखला खेल्न उनी स्वदेश फर्कन चाहन्छन्। उनले बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) लाई आफू फर्कन सक्ने या नसक्ने अवस्थाबारे सोधेका थिए। अक्टोबर २१ मा सुरु हुने दक्षिण अफ्रिकाको भ्रमण अभैm शंकाको घेरामा छ। गत महिनाको विद्यार्थी आन्दोलनपछि भ्रमणकारी टोलीले बंगलादेशमा पर्याप्त सुरक्षा नरहेको यकिन गरिरहेको छ। ‘म बंगलादेशको नागरिक हुँ, त्यसैले मलाई बंगलादेश फर्कन कुनै समस्या हुनु हुँदैन। मैले यो कुरा बिसिबी र छनोटकर्तालाई भनेको छु,’ उनले भने, ‘सम्भव भएसम्म सबै कुरा मिलाउने प्रयास भैरहेको छ। मिरपुरमा दुई टेस्ट खेल्दै टेस्ट करियर समाप्त गर्ने लक्ष्य छ।’

शुक्रबार कानपुरमा भारतविरुद्धको दोस्रो टेस्टअघि आफूविरुद्ध लागेको आरोपबारे सकिब बोल्न चाहेनन्। ‘तपाईंहरू सबैलाई थाहा छ, यो कस्तो प्रकारको मुद्दा हो। म कहाँ थिएँ र म त्यो समयमा के गरिरहेको थिएँ,’ उनले भने, ‘मेरो चिन्ता सुरक्षाको हो। मेरो नजिकका साथी र परिवारका सदस्यहरू चिन्तित छन्। सबै राम्रो हुन्छ भन्ने मलाई आशा छ।’ यस वर्ष जुनमा सम्पन्न आइसिसी ट्वान्टी–२० विश्वकपमा अफगानिस्तानविरुद्ध उनले अन्तिम ट्वान्टी–२० खेलेका थिए। यो खेलपश्चात् नै आफूले संन्यास लिने योजना बनाएको उनले सुनाए।

‘यसबारे छनोटकर्ता र बोर्डसँग छलफल गरेको थिएँ। मेरो लागि अगाडि बढ्ने यो नै सही समय हो र बिसिबीले केही नयाँ खेलाडीहरू खोज्नेछ,’ उनले भने। एकैसाथ तीनवटै फम्र्याटका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुग्ने उनी एक मात्र खेलाडी हुन्। यस महिनाको सुरुमा टोलीले पाकिस्तानमा ऐतिहासिक टेस्ट शृंखला ‘क्लिन स्विप’ गर्दा उनले महŒवपूर्ण भूमिका खेलेका थिए। सन् २००६ मा अन्तर्राष्ट्रिय डेब्यू गरेदेखि उनले ७० टेस्ट, २४७ एकदिवसीय र १२९ ट्वान्टी–२० खेलमा बंगलादेशको प्रतिनिधित्व गरेका छन्।

प्रकाशित: ११ आश्विन २०८१ १०:५३ शुक्रबार

#shakib al hasan #Bangladesh