१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

३५ वर्षीया स्पाइकर कालिनोभा मधेस युनाइेडमा

काजखस्तानकी ३५ वर्षीया स्पाइकर कालिनोभा यभजिनियाले नेपालमा पहिलोपल्ट हुन लागेको फ्रेन्चाइज भलिबल लिगमा मधेस युनाइटेडबाट खेल्ने भएकी छन् ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा ६ वटा फ्रेन्चाइज टोली सम्मिलित एभरेष्ट वुमन्स भलिबल लिग(इडब्लुभिएल) आयोजना हुँदै छ ।  फ्रेन्चाइजमध्ये मधेस युनाइटेड विदेशी खेलाडी भित्राउने पहिलो टोली हो । यसअघि ६ वटै फ्रेन्चाइज टोलीले मार्की खेलाडी घोषणासँगै घरेलु कोटाबाट खेलाडी भित्राइसकेको छ । विदेशी खेलाडीको कोटाबाट मंगलबार मधेस युनाइटेडले काजखस्तानकी कालिनोभालाई टोलीमा भित्राएको हो । मधेस युनाइटेडले उनलाई टिममा अनुबन्ध गर्न पाउँदा एकदमै खुसी रहेको प्रतिक्रिया दिएको छ । कालिनोभा काजखस्तानको राष्ट्रिय टोलीको सदस्यसमेत हुन् ।

उनीसँग सन् २००८ देखि काजखस्तानको लिग र कप खेलेको अनुभव पनि छ । उनको उचाइ १८० सेन्टिमिटर छ । कालिनोभाले काजखस्तानको क्लब सिमकेन्ट (सन् २०२१ देखि ०२३ सम्म), गार्सिया केज (सन् २०१९ देखि ०२१) र भिसी इर्टिस (सन् २००८ देखि ०१३) बाट घरेलु लिग खेलेकी छन् । कालिनोभाले मधेस युनाइटेडसँग अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै खेल्न उत्साहित रहेको बताएकी छन् । ‘मधेस युनाइटेडबाट पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिग खेल्न म नेपाल आउँदै छु । मधेस युनाइटेडबाट खेल्दै छु । हाम्रो टिमलाई समर्थन गर्नुहोला,’उनले भनेकी छन् ।

मधेसकी अपरेसन हेड संज्ञा श्रेष्ठले कालिनोभालाई स्वागत गर्दै उनको अनुभवले टोलीलाई धेरै फाइदा पुग्ने विश्वास व्यक्त गरिन् । नेपाली राष्ट्रिय टोलीकी स्पाइकर निरुता ठगुन्ना मधेस युनाइटेडको मार्की खेलाडी हुन् । मधेस युनाइटेडमा राष्ट्रिय टोलीकै संगम महतो र शान्तिकला तामाङ छन् । नेपालको यु–२०  टोलीका एलिशा मानन्धर र आशिका क्षेत्रीलाई पनि मधेस युनाइटेडले टोलीमा समावेश गरेको छ । हिरा केसी, पूजा थारु र जसना महतो पनि मधेस युनाइटेडको टोलीमा छन् । 

प्रकाशित: ४ भाद्र २०८१ १९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App