२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

खेलाडीको भविष्य सुरक्षित गर्न सुझाव

नेपाली खेलाडीले बागमती प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई खेलजीवनपश्चात् पनि खेलाडीको भविष्य सुरक्षित हुने तवरबाट काम गर्न सुझाव दिएका छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा मन्त्री महर्जनलाई बधाई दिने तथा अन्तरक्रिया कार्यक्रममा खेल लिजेन्ड एवम् वर्तमान समयमा विभिन्न खेलबाट योगदान दिँदै आएका खेलाडीले उक्त सुझाव दिएका हुन्। नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसी र कीर्तिमानी वैकुण्ठ मानन्धरलाई सँगै राखेर मन्त्री महर्जनले खेलकर्मीबाट सुझाव संकलन गरेका थिए।

तेक्वान्दोका ओलम्पियन दीपक विष्ट, १३औं सागमा दोहोरो स्वर्ण विजेता कराते मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयसा शाक्य, फुटबलका उपेन्द्रमान सिंह, एसियाली खेलकुदमा कांस्य विजेता दीपक महर्जन र विभिन्न समयका चर्चित खेलाडी तथा ओलम्पियन मन्त्री महर्जन आपैंm पनि खेलाडी रहेकाले खेलकर्मीले धेरै आशा गरेको धारणा राखेका थिए। खेलकुदमन्त्री महर्जन करातेका अन्तर्राष्ट्रिय पूर्वखेलाडी, प्रशिक्षक हुँदै राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्षसमेत हुन्।

अन्तरक्रिया कार्यक्रममा अधिकांश खेलाडीले खेलाडीको दुःख अर्को खेलाडीले मात्र बुझ्न सक्ने भन्दै मन्त्री महर्जनले आफ्नो कार्यकालमा खेलकुदमा हित हुने काम गर्ने आशा राखेका छन्। अहिले अधिकांश प्रशिक्षकको कार्यकाल सकिँदा खेलकुद क्षेत्र बिस्तारै प्रशिक्षकविहीन भैरहेको प्रति पनि खेलाडीले खेलकुद मन्त्री महर्जनको ध्यानकर्षण गराएका छन्। त्यसैले खेलकुदमा आवश्यक प्रशिक्षक नियुक्तिका लागि पहल गर्न खेलाडीले सुझाएका छन्।

१२औं सागमा उसुका लागि स्वर्ण पदक दिलाएकी निमा घर्तिमगरले विभागीय खेलाडीलाई जस्तै प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीका लागि पनि बागमतिको प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताइन्। जतिसक्दो धेरै खेलाडीले एक्सपोजर पाए मात्र प्रदर्शनमा स्तरोन्नती हुने उनको भनाइ छ। साथै नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई दिने भनिएको पुरस्कार पनि अहिलेसम्म नपाएको केही खेलाडीले गुनासो गरेका छन्।

मन्त्री महर्जनले आफ्नो कार्यकालमा खेलाडी र प्रशिक्षकको सल्लाह र सुझावअनुसार नै काम गर्ने प्रतिवद्धता व्यक्त गरे। साथै मन्त्री महर्जनले अबको आफ्नो पहिलो प्राथमिकता नै खेलाडीले पाउनुपर्ने सेवासुविधा र पुरस्कार बारे प्रक्रिया अगाडि बढाउनु रहेको बताएका छन्। 

प्रकाशित: २१ श्रावण २०८१ ०६:५३ सोमबार

#Tips to secure the player's future #Meenkrishna Maharjan newly appointed Youth and Sports Minister of Bagmati Province