७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

रहर पछ्याउँदै पेरिस ओलम्पिक पुगिन् सुस्मिता

पेरिसमा अभ्यास गर्दै सुस्मिता नेपाल (राताे)। तस्वीर साैजन्य: लाेकेन्द्रकुमार बस्नेत

रहर एक त्यस्तो भावना हो, जसले सपना, लक्ष्य र आकांक्षाहरू पूरा गर्न प्रेरित गर्छ। जीवनमा अगाडि बढ्ने दरिलो साहस दिन्छ। चाहे त्यो शिक्षा, करियर होस् वा कुनै व्यक्तिगत लक्ष्य नै किन नहोस्। यसले मानवलाई निरन्तरता प्रदान गर्छ र आफ्नो गन्तव्यतिर लैजान्छ।

त्यही रहरलाई पछ्याउँदैपेरिस ओलम्पिक २०२४ सम्म पुगेकी एक खेलाडी हुन्, सुटिङकी सुस्मिता नेपाल। ‘बच्चा बेलामा रहर थियो बन्दुक चलाउने। त्यही रहरले सानै उमेरमा स्वर्ण दिलाएपछि ममा खेलाडी बन्न सक्छु है भन्ने साहस मिल्यो। त्यसपछि मैले केका लागि खेल्नुपर्छ, मेरो गन्तव्य के हो भनेर पहिचान गरें। त्यही गन्तव्य पछ्याउँदै म ओलम्पिकसम्म पुगेको हुँ,’ उनले सुनाइन्। काभ्रेको मण्डनदेउपुरमा जन्मिएकी सुस्मिताले सानैदेखि बन्दुक बोक्ने रहर पालेकी थिइन्। तर, बाल मस्तिष्कमा त्यो बन्दुक बोक्दा के हुन्छ भन्ने उनलाई पत्तो थिएन।

अझ सुटिङ खेलबारे त उनलाई के थाहा ? ललितपुरको ढोलाहिटीमा हुर्किएकी सुस्मितालाई कक्षा नौमा पढ्दै गर्दा एकपल्ट प्रधानाध्यापकले सोधे, ‘अन्तरस्कुल सुटिङ प्रतियोगितामा भाग लिन्छौ ?’ कल्पनैकल्पनामा निसाना लगाउन माहिर सुस्मिताले जबाफ दिन आनाकानी गरिनन्। उनले साहस देखाउँदै भनिन्, ‘लिन्छु नि !’

बन्दुक बोक्ने र चलाउने बच्चैदेखिको चस्काले भर्खरै १५ वर्षमा टेकेकी सुस्मितालाई प्रतियोगितामा भाग लिने रहर जागेको थियो। त्यही रहर लिएर सातदोबाटोको सुटिङ रेन्जसम्म पुगेकी उनलाई पहिलो प्रयासले स्वर्ण दिलायो। त्यो स्कुल प्रतियोगितापछि आफ्नो ‘बेस’ बनाउन उनलाई दुई वर्ष लाग्यो। त्यति बेलासम्म प्रशिक्षक प्रदीप खातीले बलियो साथ मिलिसकेको थियो।

उनकै साथ सहयोगले सुस्मिताले २०७४ मा पहिलो आधिकारिक प्रतियोगिता खेलेकी थिइन्, राखेप च्याम्पियनसिप। १० मिटर एयर राइफल ‘टिम इभेन्ट’ मा उनले कांस्य हात पारिन्। त्यससँगै उत्कृष्ट सुटर घोषित भइन्। त्यही प्रतियोगिताले उनलाई करियरमा पछाडि फर्केर हेर्न परेन। त्यसपछि झन् उनको मिहिनेत गर्ने हुटहुटीलाई कसैले रोकेन।

खेल्न थालेको दुई वर्षमै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेकी उनी कुवेतमा भएको एसियाली युथ क्यापमा समेत परिन्। १०औं एसियन एयर गन जुनियर च्याम्पियनसिप खेल्न सन् २०१७ मा जापानसमेत पुगिन्। त्यसपछि जार्कातामा भएको १८औं तथा हान्झाउमा भएको १९औं एसियन गेम्स, दक्षिण कोरियामा भएको एसियन सुटिङ च्याम्पियनसिप र जकार्तामा भएको एसियन राइफल पेस्तोल च्याम्पियनसिपमा गरेको प्रदर्शनले नै उनलाई तिखार्दै गयो।

यसअघिको टोकियो ओलम्पिक २०२० मा कल्पना परियारले सहभागिता जनाएकी थिइन्। त्यतिखेर सुस्मिताभन्दा कल्पना केही अंकले अगाडि थिइन्। त्यही पनि सुस्मिताका लागि नेपाल सुटिङ संघले प्रयास गरेको थियो। क्रोएसियामा भएको छनोट प्रतियोगितामा सुस्मिताले अंक सुधार गर्न नसकेपछि टोकियो ओलम्पिक खेल्ने सपना अन्त्य भएको थियो।

वाइल्ड कार्ड वा युनिभर्सालिटी कोटाका लागि कम्तीमा पनि अन्तर्राष्ट्रिय सुटिङ स्पोट्र्स फेडेरेसन (आइएसएसएफ)को मान्यताप्राप्त न्यूनतम दुई प्रतियोगिता खेलाडीले खेल्नै पर्छ। त्यहीअनुसार अघिल्लो वर्ष इन्डोनेसियाको जकार्तामै भएको विश्व सुटिङ च्याम्पियनसिपमा उनले सहभागिता जनाइन्। त्यसमा उनले ६०२.५ स्कोर गरेकी थिइन्। त्यतिखेर वरीयता ५३औं स्थानमा थियो। गत जुन ५ देखि १८ सम्म जकार्तामै भएको एसियन च्याम्पियनसिपको क्वालिफायरमा १० मिटर एयर राइफलमा पनि उनले सहभागिता जनाइन्।

यही प्रतियोगिताबाट उनले ओलम्पिकसम्मको ढोका खोल्न सक्थिन्। त्यसैले उनले अन्तिम प्रयासमा निकै दबाब महसुस गरेकी थिइन्। तर, धेरै दबाबले खेल बिग्रिन्छ भन्ने उनलाई लागिसकेको थियो। त्यो दबाबलाई केही नियन्त्रण गर्दै रेन्जमा उत्रिएकी उनले अघिल्लो प्रतियोगितामा भन्दा स्कोरमा सुधार पनि गरिन्। उक्त स्पर्धामा उनले ६१६.२ स्कोर गरेकी थिइन्। त्यसले उनी ५०औं वरीयतामा उक्लिइन्।

सोही नतिजाको आधारमा उनलाई संघले वाइल्ड कार्डका लागि अप्लाई गर्दिएको थियो। तर, सुस्मिता ढुक्क भने थिइनन्। यद्यपि, उनलाई केही हुन्छ कि भन्ने आशा जागिसकेको थियो। ‘त्यो क्वालिफायर नै ओलम्पिकमा पुग्ने अन्तिम अवसर थियो। यसलाई सदुपयोग गर्न सकिन भने ओलम्पिक खेल्ने अवसर गुम्छ भन्ने दिमागमा थियो। त्यसैले जसरी पनि प्वाइन्ट ल्याउनुपर्छ भन्ने माइन्ड सेट गरेको थिएँ,’ उनले सुनाइन्, ‘तर त्यसमा राम्रो गरेको भएर यहाँसम्म पुग्ने मौका पाएँ।’

वाइल्ड कार्ड आएपछि उनले परिवारलाई मात्रै सुनाइन्। पछि सञ्चारमाध्यममा पेरिस ओलम्पिक २०२० खेल्ने सुस्मिता छैटौं नेपाली खेलाडी भनेर प्रचारप्रसार गरेपछि यो खबर सर्वत्र फैलियो। तर, उनले ‘सेलिब्रेट’ भने कसैसँग गरेकी छैनन्।

नेपालले सन् १९८८ को सोल ओलम्पिक ( पार्वती थापा) देखि नै हो, सुटिङमा सहभागिता जनाउन थालेको। त्यसयता रियो २०१६ बाहेक सबै ओलम्पिकमा नेपाली सुटिङ खेलाडीले भाग लिएका छन्। ओलम्पिकमा नेपाली महिला खेलाडीले सहभागिता जनाएको गर्विलो इतिहास छ।

बार्सिलोना ओलम्पिकमा अनिता श्रेष्ठ (१९९२), एटलान्टा ओलम्पिकमा विभाश्वरी राई (१९९६), सिड्नी ओलम्पिकमा भगवती केसी (२०००), एथेन्स ओलम्पिकमा टीकाराम श्रेष्ठ (२००४), बेइजिङ ओलम्पिमा फूलमाया क्यापछाकी (२००८), लन्डन ओलम्पिकमा स्नेहा राज्यलक्ष्मी राणा (२०१२) र टोकियो ओलम्पिक २०२० मा कल्पना परियारले नेपालको प्रतिनिधित्व गरेका थिए। तर, सबैको सहभागितामै सीमित रह्यो।

हुन त यो स्पर्धामा २-४ खेलाडी मात्रै पनि हुने होइनन्। त्यसैले अन्तिम चरणसम्म पुग्न गाह्रै हुन्छ। सुस्मिताले पनि त्यो कुरा महसुस गरेकी छन्। सुस्मिताको लक्ष्य अन्तिम आठसम्मको यात्रा तय गर्नु हो। त्यो पूरा भएमा मात्रै उनी ओलम्पिक खेलेको खुसी खुलेर ‘सेलिब्रेट’ गर्ने तयारीमा छिन्।

‘एकै पल्ट मेडलको आस नगरे पनि उताबाट राम्रो खेलेर आएपछि मात्रै सबैसँग सेलिब्रेट गर्ने योजना बनाएकी छु,’ उनले भनिन्। यसपल्ट सुस्मितालाई अनुभवी प्रशिक्षक प्रदीप खातीले नै प्रशिक्षण गराइरहेका छन्। उनले बेइजिङ ओलम्पिक २००८ मा फूलमाया क्यापछापीलाई प्रशिक्षण दिएका थिए।

ओलम्पिक छात्रवृत्ति प्राप्त खेलाडी भएका कारण यसपल्ट उनले पाकिस्तान, कोरिया, इन्डोनेसियालागायत विभिन्न देशमा प्रशिक्षण र प्रतियोगिता खेल्न पाएकी छन्। त्यसले गर्दा उनलाई ढुक्क भएर खेल्ने वातावरण मिलेको र राम्रो स्कोर गरिरहेको उनको भनाइ छ। खातीले यसपल्ट नयाँ ढंगलले सुस्मितालाई तयार गरेका छन्।

ठूला प्रतियोगिताको तयारीअघि खेलाडीलाई ‘क्याम्प’ मा राखिन्थ्यो। अन्यलाई सुटिङ रेन्जमा प्रवेशको अनुमति दिइँदैनथ्यो। तर, यसपल्ट सुस्मितालाई एक्लो महसुस नहोस् भनेर प्रशिक्षकले अन्य खेलाडीलाई पनि बोलाएर प्रशिक्षण दिएका थिए। समूहमा प्रतिस्पर्धात्मक खेल खेलाउने र जित्नेलाई फाइनलमा अर्को प्रतिस्पर्धा गराएर ओलम्पिकको झल्को दिने प्रयास उनले गरेका थिए। यसले सुस्मितामा अझ आत्मबल बढेको उनले महसुस गरेका छन्।

‘क्याम्पमा बसेपछि एक्लैले टार्गेट लगाउने प्रयास गर्ने र एकैपल्ट खेल्न पठाउने गथ्र्याैं। यसले गर्दा ठूलो समूहमा गएपछि खेलाडी आत्तिएको धेरै देखेको छु। त्यसैले सबैलाई बोलाएर खेलाएको हुँ। यसपल्ट सुस्मितालाई विदेश पनि पठाएका छौं, यहाँ पनि प्रतिस्पर्धा गराएका छौं। त्यसले उनीले कम स्कोर गरेकी छैनन्, उनको स्कोरमा एकरूपता छ,’ खाती भन्छन्।

यसअघि भएको एसियन अनलाइन च्याम्पियनसिपमा उनले ६१९ स्कोर गरेकी थिइन्। एसियन च्याम्पियनसिपको क्वालिफायरको पहिलो चरणमा पनि उनले यही स्कोर गरेकी थिइन्। उनले आफ्नै नाममा भएको राष्ट्रिय कीर्तिमान पनि सुधार गरिसकेकी छन्। त्यसैले योभन्दा अझ उत्कृष्ट स्कोर उनले गर्छिन् भन्नेमा खाती विश्वस्त रहेको बताउँछन्।

‘यसमा दुई चरण हुन्छ। छनोट चरणमा बेस्ट एटमा पुग्न सक्यौं भने फाइनलमा पुग्छौं। फाइनलमा पुगे स्कोर फेरि शून्यबाट सुरु हुन्छ। त्यहाँ अन्तिम आठमा पुग्नु नै ठूलो कुरा हुन्छ। हाम्रो लक्ष्य नै त्यही हो,’ उनले भने। सुस्मिता पाँच दिनअघि मात्रै पेरिस प्रस्थान गरेकी हुन्। उनले शुक्रबार बिहानसम्म प्रशिक्षण गरेकी थिइन्।

बेलुका भने उद्घाटन समारोह भएका कारण उनले प्रशिक्षण गर्ने मौका पाइनन्। शनिबार उनले ‘प्रि इभेन्ट’ प्रशिक्षण गर्नेछिन्। आइतबार उनले छनोट चरणको प्रतियोगिता खेल्नेछिन्। त्यसमा राम्रो प्रदर्शन गरेर ‘बेस्ट एट’ मा पुगे नेपाली सुटिङ इतिहासमा सुनौलो अक्षरले नाम लेखाउनेछिन्।

प्रकाशित: १२ श्रावण २०८१ ०६:३२ शनिबार

#Olympics 2024 #Sushmita Nepal