१८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा सहभागी हुन चाहनेले बेलैमा आफूलाई धावकको रुपमा दर्ता गराउनुपर्ने भएको छ। किनभने आयोजकले म्याराथनमा सहभागी हुने धावकका लागि निश्चित संख्या (कोटा) निर्धारण गरिदिएको छ।
तोकिएको भन्दा बढी संख्यामा सहभागी भएमा उनीहरुले चाहेको दूरीको दौडमा सहभागी हुन पाउने छैनन्, मात्र ‘रन फर फन’मा मात्र दौडनुपर्नेछ।
आगामी फागुन ५ गते हुने प्रतियोगिताका लागि म्याराथन सहित सबै दूरीको दौडमा कोटा निर्धारण गरिएको हो। त्यसका लागि माघ २८ गतेसम्म धावकले नाम दर्ता गराउनुपर्ने आयोजकले बताएको छ। नेपाल भूतपूर्व खेलाडी मञ्चले यो प्रतियोगिता आयोजना गरेको हो। नेपाली सिटी म्याराथनको अभ्यासमा यसरी कोटा निर्धारण गरिएको यो नै पहिलो पटक भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए।
पराजुलीका अनुसार खुल्ला म्याराथन (४२.१९५ किमि) मा १ सय ६० जनाको संख्या निर्धारण गरिएको छ। त्यस्तै महिला हाफ म्याराथनमा ५० जना, १० किमि पुरुष दौडमा ४ सय ५० जनाको कोटा तोकिएको छ। १० किमि महिलातर्फ १ सय ५० जना, ५ किमि छात्रतर्फ १२ सय, ५ किमि छात्रातर्फ ७ सय, ५ किमि भेट्रान पुरुषतर्फ ५० र ५ किमि भेट्रान महिलातर्फ २५ जनाको कोटा निर्धारण गरिएको पराजुलीले जानकारी दिए। अपांगता भएका व्यक्तिको दौडमा भने कोटा निर्धारण गरिएको छैन।
‘दौड सुरु हुने बेलासम्म पनि नाम दर्ता गरि दिनुपर्यो भनेर धावक आउँदा व्यवस्थापनमा झन्झट हुने अवस्था रह्यो। बेलैमा टिममा सहभागी भएमा व्यवस्थापन सहज हुन्छ, नत्र समस्या पर्ने रहेछ,’ पराजुलीले भने, ‘त्यही भएर यो पटक कोटा तोकिदिएका हौ।
तोकिएको कोटा पुरा भएपछि धावकले सम्बन्धित दूरीको दौडमा सहभागी हुन पाउँदैन, रन फर फनमा भने जो कोहीले सहभागिता जनाउन सक्छ।’ उनका अनुसार व्यवस्थापन सहज होस भनेर यो अभ्यास गरिएको छ।
आयोजकले कोटा तोकेसँगै धावकलाई एउटा डिभाइस (चिप्स) पनि उपलब्ध गराउनेछ। सबै धावकले चिप्स पाउनेछन्। चिप्समा दौडिएको दूरी, समय, अवधि, रुटबारे रेकर्ड रहनेछ। कसैले गलत रुट प्रयोग गरे नगरेको भनेर पनि थाहा पाउन सकिनेछ।
‘सबैजसो धावकलाई चिप्स दिने भएकोले पनि कोटा निर्धारण गरिएको हो, जतिपनि सहभागी हुन आए भन्दैमा उनीहरुलाई डिभाईस उपलब्ध गराउन पनि सकिन्न,’ पराजुलीले भने, ‘डिभाइसको संख्या पनि त निर्धारण हुनुप¥यो।’ आयोजकले अघिल्लो संस्करणमा पनि म्याराथन र हाफ म्याराथनमा यस्तै डिभाईसको व्यवस्था गरेको थियो।
पराजुलीका अनुसार अहिलेसम्म म्याराथन र हाफ म्याराथनमा ३९ जना विदेशीले पनि नाम दर्ता गराइसकेका छन्। म्याराथनमा मात्र दुई सय हाराहारीमा धावक सहभागी हुने गरेका थिए। तर, यो पटक कोटा तोकिएकोले १ सय ६० जनामा मात्र सीमित रहने उनले बताए। ‘कोटा पुरा भएपछि दर्ता नै रोकिन्छ । त्यसपछि धावकले रन फर फन मा सहभागी हुनुपर्नेछ,’ उनले भने, ‘अन्तिम समयसम्म पनि दर्ता हुन आउने परिपाटीलाई अन्त्य गर्न यो अभ्यास थालिएको हो।’ ‘रन फर फन’को संख्या पनि हजारौं हाराहारीमा हुने आयोजकको अनुमान छ।
१८ औं संस्करणका लागि आवश्यक करिब ३ हजार डिभाइस गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसी र पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च युकेको सहकार्यमा ल्याएको मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए। ‘नेपाली खेलकुदलाई प्रविधिमैत्री बनाउनु पर्छ भन्ने बलियो सन्देश समेत दिनेछ,’ निवर्तमान अध्यक्ष गुरुङले भने। खेलाडीलाई अन्तिम समयमा आएर दर्ता गर्ने परिपाटी समेत निराकरण गर्न र दौडमा सहभागी हुनेलाई समेत आफ्नो भूमिका के हुनुपर्छ भन्ने विषयमा प्रष्ट्याउन सहज हुने गुरुङले बताए।
पोखरा म्याराथन नेपालकै सर्वाधिक पुरस्कार राशि भएको म्याराथन हो। १८ औं संस्करणमा विभिन्न इभेन्टमा ४१ जना विजेता प्रतियोगीलाई १८ लाख १६ हजार रुपैयाँ नगद प्रदान गरिनेछ। म्याराथन विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। द्वितीयलाई ३ लाख, तृतीयलाई २ लाख र सान्त्वना स्वरुप चौथो हुने धावकलाई ३० हजार रुपैयाँ प्रदान गरिने मञ्चले जनाएको छ। खुला म्याराथन तर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्साहन गर्न विजेतालाई ५०, उपविजेताले ३० र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने पनि मञ्चले बताएको छ।
महिला हाफ म्याराथनले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुने धाविकाले ७५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्ने छन्। १० किलोमिटर सडक दौड महिला तथा पुरुषले समान ३०, २०, १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। ५ किलोमिटर छात्रछात्रा दौड विजेताले नगद १५, १० र ७ हजार रुपैयाँ प्राप्त गर्ने छन्।
प्रकाशित: १७ माघ २०८० १०:०३ बुधबार