१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

एक विकेटको जितसँगै नेपाल सुपर सिक्समा

यु–१९ विश्वकप

अफगानिस्तानको विकेट लिएपछि नेपालका बलर आकाश चन्द (दायाँ)। तस्बिर: क्यान

आकाश चन्दको उत्कृष्ट बलिङ र कप्तान देव खनालको धैर्यपूर्ण ब्याटिङ प्रेरणामा नेपालले शुक्रबार अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै जारी यु–१९ विश्वकपमा पहिलो जित निकालेको छ।

दक्षिण अफ्रिकामा जारी यु–१९ विश्वकपमा पहिलो जित निकाल्दै नेपालले सुपर सिक्समा स्थानसमेत बनाएको छ। नेपालको जितमा आकाशले पाँच विकेट र कप्तान देवको ५८ रनको अर्धशतकीय योगदान महत्त्वपूर्ण रह्यो।

समूह ‘डी’ मा नेपालले पहिलो खेलमा न्युजिल्यान्ड र दोस्रो खेलमा पाकिस्तानसँग हार बेहोरेको थियो। अफगानिस्तानविरुद्ध संघर्षपूर्ण जितसँगै नेपाल समूहको तेस्रो स्थानमा रहेर दोस्रो चरणमा पुगेको हो। सुपर सिक्समा नेपालले समूह ‘ए’ बाट छनोट भएका तीन टोली भारत, बंगलादेश र आयरल्यान्डसँग खेल्नेछ।

नेपालकै समूहका न्युजिल्यान्ड र पाकिस्तानले पनि सुपर सिक्सको ग्रुप वानबाट नै प्रतिस्पर्धा गर्नेछन्। इस्ट लन्डनको बफेलो पार्कमा अफगानिस्तानले दिएको १४६ रनको सामान्य लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर मात्र पूरा गर्‍यो।

सामान्य लक्ष्यका बावजुद नेपालले सुरुआतदेखि नै ब्याटिङमा संघर्ष गर्नुपर्‍यो। नेपालले शीर्ष तीन ब्याटरलाई सस्तैमा गुमायो। ओपनर अर्जुन कुमाल १० रन, विपिन रावल दुई रन र गुल्सन झा एक रनमै आउट भए। नेपाल ८.१ ओभरमा २४/३ को नाजुक अवस्था पुग्यो। यद्यपि, एक छेउबाट कप्तान देवले इनिङ समाले।

उनले चौथो विकेटका लागि आकाश त्रिपाठीसँग ४९ रनको साझेदारी गरे। तर, २४औं ओभरमा आकाश १६ रनमै आउट भए। त्यसपछि आएका दीपक डुम्रे ५ रनमा र दीपेश कँडेल ४ रनमै आउट भएपछि नेपालको इनिङ फेरि धरमरायो।

सय रनको आँकडा पार नगर्दै नेपालका ६ ब्याटर पभेलियन फर्किए। त्यसपछि कप्तान देवले सातौं विकेटका लागि दीपक बोहोरासँग ३६ रनको साझेदारी गरे। यद्यपि, ३७औं ओभरमा कप्तान देव ५८ रनमा आउट भए। ८९ बल खेलेका देवले सात चौका प्रहार गरे।

नेपाललाई जितका लागि ६ रन आवश्यक हुँदा दीपक २७ रनमा फरिदुन दवादजाईद्वारा क्लिन बोल्ड भए। त्यससँगै ४१.२ ओभरमा खातामा १४० रन हुँदा नेपालको हातमा दुई विकेट थियो। त्यसपछि अफगानी बलरले कसिलो बलिङसँगै एक विकेट पनि लिँदा नेपाल निकै दबाबमा पर्‍यो।

यस क्रममा फरिदुनले आकाश चन्दलाई एक रनमै पभेलियन फर्काउँदै नेपाललाई ठूलो झड्का दिए। तर, सुवास भण्डारीले अविजित ९ रन जोड्दै रोमाञ्चक जित दिलाए। अरब गुलको बलमा चौका प्रहार गर्दै सुवासले ३२ बलअगावै जित सुरक्षित गराए।

अफगानिस्तानको बलिङमा फरिदुनईले तीन विकेट, खलिल अहमद, कप्तान नासिर खान मारूफखिलले समान दुई तथा अल्लाह मोहम्मद घनजफर र अरब गुलले समान एक विकेट लिँदै नेपाललाई चुनौती दिए पनि सफल हुन सकेनन्। त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमै समेटियो।

आकाश चन्दले शीर्ष क्रमका ब्याटरलाई सस्तैमा आउट गर्दै अफगानिस्तालाई दबाब बनाए। पहिलो ओभरमा नै गुल्सनले ओपनर नुमान साहलाई शून्यमा नै पभेलियन फर्काए। त्यसपछिका पाँच ब्याटर भने आकाशको सिकार बने।

दोस्रो ओभरमै आकाशले खालिद तनिवाललाई पनि शून्यमै पभेलियनको बाटो देखाए। त्यसपछि उनले अर्का ओपनर जमसिद जादरानलाई ३ रन, सोहेल खानलाई ४ रन, अहमदलाई शून्य रन र हसन इसाखेललाई २० रनमा आउट गर्दै अफगानिस्तानको इनिङ धराशयी बनाए। त्यससँगै ११.३ ओभरमा अफगानिस्तान ४३/६ को नाजुक अवस्थामा पुग्यो। तर, त्यसपछि अल्लाह मोहम्मद घजनफरले आक्रामक ब्याटिङ गर्दै नेपाली बलरमाथि दबाब बनाए। १८औं ओभरमा तिलक भण्डारीले घजनफरलाई ३७ रनमा आउट गर्दै ठूलो सफलता दिलाए।

लगत्तै दीपेश कँडेलले अरब गुललाई शून्यमै एलबिडब्लु आउट गर्दै नेपाललाई आठौं सफलता दिलाए। तर, कप्तान नासिर खान मारूफखिलले नवौं विकेटका लागि दाउदजाईसँग ५५ रनको साझेदारी गर्दै इनिङ उकासे।

दीपेशले नासिरलाई ३१ रनमा कट एन्ड बोल्ड गर्दै नवौं विकेट दिलाए। खातामा थप दुई रन जोड्दा सुवास भण्डारीले हसन इसाखिललाई २० रनमा आउट गरे। नेपालको बलिङमा आकाशले आठ ओभरमा ३४ रन खर्चिएर पाँच विकेट लिए। दीपेशले दुई तथा गुल्सन झा, सुवास र तिलकराजले समान एक विकेट लिए।

प्रकाशित: १३ माघ २०८० ०१:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App