मड्रिड– स्ट्राइकर लुइस स्वारेजको ह्याट्रिक तथा मिडफिल्डर फिलिप कौटिन्होले स्पेनिस ला लिगामा पहिलो गोल गरेको दिन बार्सिलोनाले शनिबार जिरोनालाई ६–१ ले पराजित गर्दै शीर्ष स्थानमा १० अंकको अग्रता लिएको छ।
लियोनेल मेसीले दुई गोल गर्दै जारी सिजन सबै खाले प्रतियोगितामा गोल संख्या ३० पुर्याएपछि बार्सिलोना(६५)ले एक खेल कम खेलेको दोस्रो स्थानको एट्लेटिको मड्रिड(५५)सँगको अंकदूरी थप फराकिलो पारेको हो।
यता क्रिस्टियोनो रोनाल्डोको दुई गोल तथा गारेथ बेल र करिम बेन्जेमाको एक–एक गोलमा आल्भेसमाथि ४–० को सहज जित हात पारे पनि साबिक विजेता रियाल मड्रिड तेस्रो स्थानमा यथावत् छ । रियालको ५१ अंक छ । जुन बार्सिलोनाभन्दा १५ र एट्लेटिकोभन्दा ४ अंक कम हो ।पहिलो पटक क्याम्प नोउ भ्रमणमा निस्किएको नवांै स्थानको जिरोनाले स्वारेज, मेसी, कौटिन्हो र ओसामाने डेम्बेलेजस्ता स्टार खेलाडी उतारेको बार्सिलोनाविरुद्ध अप्रत्याशित अग्रता लिएको थियो ।
खेलको तेस्रो मिनेटमा बार्सिलोनाका सामुइल उम्टिटीले रक्षापंक्तिमा गरेको गल्तीको फाइदा उठाउँदै क्रिस्टियन पोटर्सले पाहुना टोलीका लागि खाता खोलेका थिए ।तर जिरोनाले अग्रता लामो समय टिकाउन सकेन । त्यसको दुई मिनेटपछि स्वारेजले मेसीको पासमा गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए।
३०औं मिनेटमा मेसीले स्वारेजको पासमा गरेको गोलमा अग्रता लिएको बार्सिलोनाका लागि त्यसको ६ मिनेटपछि मेसीले फ्रि–किकमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता बढाएका थिए ।मध्यान्तर हुन १ मिनेट बाँकी रहँदा स्वारेजले गोल गर्र्दै घरेलु टोलीलाई पहिलो हाफमा ४–१ को अग्रता दिलाएका थिए । स्वारेजले कौटिन्होको पासलाई पोस्टको दिशा दिएका थिए।
६६औं मिनेटमा कौटिन्होले गोल गर्दै बार्सिलोनाको अग्रता बढाएका थिए । खेल सकिन १४ मिनेट बाकी हुँदा स्वारेजले ह्याट्रिक पूरा गरेपछि बार्सिलोनाले सहज जित पक्का गरेको थियो ।यसअघि घरेलु मैदान सान्टियागो बेर्नाबेउमा ह्याट्रिकको संघारमा भए पनि रोनाल्डोले अन्तिम समायमा प्राप्त पेनाल्टी बेन्जेमालाई प्रहार गर्न दिएका थिए । जसका कारण प्रशिक्षक जिनेदिन जिदानले उनलाई व्यक्तिगत स्वार्थबाट माथि उठेको खेलाडी भन्दै प्रशंसा गरेका थिए।
४४औं मिनेटमा रोनाल्डोले गरेको गोलमा रियालले अग्रता लिएको थियो । मध्यान्तरपछिको पहिलो मिनेटमै बेलले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए।६१औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै रियालको बढाए । खेल सकिन एक मिनेट बाँकी हुँदा बेन्जेमाले पेनाल्टीलाई सदुपयोग गर्दै रियालको सहज जित पक्का गरेका थिए ।‘रोनाल्डोले दुई गोल गरिसकेका थिए । तर उनले अन्तिम समयमा प्राप्त पेनाल्टी बेन्जेमालाई प्रहार गर्न दिए,’ जिदानले भने, ’उनी ह्याट्रिक पूरा गर्न लालायित भएनन्।’
‘पेरिस सेन्ट जर्मनविरुद्ध च्याम्पियन्स लिग अीन्तम १६ पहिलो लेगमा हात पारेको ३–१ को जितपछि टोलीको प्रदर्शन थप सुदृढ बनेको छ । यस्तो जितले टोलीको मनोबल थप बढाउँछ,’ जिदानले थपे ।
स्पेनिस ला लिगाअन्तर्गत शनिबार सम्पन्न अन्य खेलमा सेल्टा भिगोले एइबारलाई २–० को नतिजामा पराजित गर्दा लिगानेस र लस पाल्मसले गोलरहित बराबरी खेले ।
प्रकाशित: १४ फाल्गुन २०७४ ०४:२२ सोमबार