कैलाली – कैलालीको धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक सुदूरपश्चिम–११ बीच प्रतिस्पर्धा हुँदैछ ।
खेल धनगढी रंगशालामा दिउँसो साढे २ बजे पछी सुरु हुनेछ । क्वाटरफाइनल खेलमा संकटा क्लबलाई २–० ले हराउँदै एपीएफ र च्यासल युथ क्लब काठमाडौंलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउदै सुदूरपश्चिम–११ ले सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।
दुवै टोलीमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी रहेकाले आजको खेल निकै प्रतिस्पर्धी र रोमाञ्चक हुने छ ।
आजको खेलमा विजयी हुने टोलीले फाइनलमा त्रिभुवन आर्मीको सामना गर्नेछ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लवलाई ३–१ गोलअन्तरले पराजित गर्दै आर्मीले फाइनलमा स्थान बनाएको हो । फाइनल खेल सोमबार हुनेछ ।
१२ ओटा टिमको सहभागिता रहेकोे प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रकाशित: ३० पुस २०७४ ०६:०४ आइतबार