१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

‘युरोकप २०२४ को बलियो दाबेदार इङ्ल्यान्ड’

इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले ‘युरो कप २०२४’ को उपाधि जित्न आफ्नो टोली पनि बलियो दाबेदार रहेको विश्वास व्यक्त गरेका छन्।

शनिबार युरोकप २०२४ को ‘ड्र’ सार्वजनिक भएपछि इङ्ल्यान्डका प्रशिक्षक साउथगेटले यस पटक उपाधि जित्ने दाबेदारमध्ये आफ्नो टोलीमा पनि एक रहेको उल्लेख गरेका हुन्। आगामी जुनदेखि सुरु हुने युरोकप २०२४ मा इङ्ल्यान्डले समूह ‘सी’ मा डेनमार्क, स्लोभेनिया र सर्बियासँग प्रतिस्पर्धा गर्दै छ।

१९९६ को विश्वकप उचालेपछि इङ्ल्यान्डले पहिलो उपाधि उचाल्न प्रतीक्षारत छ। फिफा वरीयतामा पनि तेस्रो स्थानमा रहेको इङ्ल्यान्डलाई फ्रान्ससँगै युरोकपको दाबेदारको रूपमा पनि हेरिएको छ। गत विश्वकपको क्वार्टरफाइनलमा पनि इङ्ल्यान्ड फ्रान्ससँग नै पराजित हुँदै बाहिरिएको हो।

‘हामी यस हप्ता विश्वको तेस्रो वरीयतामा छौं। पछिल्ला पाँच वर्षयता हामी शीर्ष पाँच नै छौं। सोहीअनुरूप हामीले प्रदर्शन पनि गरेका छौं। सो प्रदर्शन आगामी युरोकपमा पनि दोहोरिनेछ,’ इङ्ल्यान्डका प्रशिक्षक साउथगेटले भने। 

युरोकप २०२४ को छनोटमा पनि इटालीलाई पछि पार्दै इङ्ल्यान्ड शीर्ष स्थानमा रहेर छनोट भएको हो। यस क्रममा इङ्ल्यान्डले एक खेलमा पनि हार बेहोर्नु परेन।

‘खेलाडीहरू पनि यो उपाधि जित्ने आशामा छन्। धेरैले सँगै ठूलो खेल खेलेका छन्। व्यक्तिगत रूपमा पनि ठूला खेलमा प्रदर्शन गरेका छन्। त्यसैले पनि आगामी युरोकपलाई लिएर सबै जना उत्साहित छन्।’

साउथगेटको प्रशिक्षणमा इङ्ल्यान्ड सन् २०१८ को विश्वकपमा सेमिफाइनल र युरोपकप २०२० को फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो। एक वर्ष अगाडि पनि कतारमा सम्पन्न विश्वकपको अन्तिम आठमा पनि इङ्ल्यान्ड फ्रान्ससँग २–१ ले पराजित हुन पुग्यो।

अन्तिम समय ह्यारी केनले पेनाल्टी नगुमाएको भए सो विश्वकप इङ्ल्यान्डका लागि फरक बन्न सक्थ्यो। यस पटक इङ्ल्यान्डले उच्च आत्मविश्वासका साथ जर्मनी जाँदै छ। केन र जुड बेलिङ्मको लय आगामी जुन र जुलाईमा हुने युरोकपमा पनि जारी राख्ने अपेक्षा गरिएको छ।

यस सिजन केन बायर्न म्युनिखमा र जुड रियल मड्रिडमा उत्कृष्ट लयमा छन्। टोटेनह्याम हट्सपर छाडेर जर्मनी गएपछि केनले १८ बलमा २२ गोल गरेका छन्। 

‘त्यहाँको (जर्मनी) खेल केही फरक छ। बायर्नले प्रायः खेलमा आफ्ना प्रतिद्वन्द्वीलाई दबाबमा राखेर खेल्ने गर्छ। तर पनि केन उत्कृष्ट खेलाडी हुन्। उनमा धेरै क्षमता छ। त्यसैले केन जस्तो खेलाडी टोलीमा हुनु हामी भाग्यमानी ठान्दछौं,’ साउथगेटले भने।

इङ्ल्यान्डले ३४ औं वरीयतामा रहेको सर्बियाविरुद्ध प्रतिस्पर्धा गर्दै युरोकपको उपाधि यात्रा थाल्नेछ। सो खेल साल्खेमा आगामी जुन १६ मा हुनेछ। त्यसपछि डेनमार्कसँग जुन २० मा खेल्न फ्रान्कफर्ट जानेछ।

युरोकप २०२० मा पनि इङ्ल्यान्डले अतिरिक्त समयमा डेनमार्कलाई सेमिफाइनलमा २–१ ले हराएको थियो। समूहको अन्तिम खेलमा स्लोभेनियासँग जुन २५ मा खेल्नेछ। शनिबार आयोजक जर्मनीको ह्यामबर्गमा युरोकपको ‘ड्र’ सार्वजनिक भएको थियो। 

कुल २४ राष्ट्रलाई छनोटको प्रदर्शनका आधारमा चार वटा पटमा विभाजन गरिएको थियो। हरेक पटबाट एक टोली गरी चार टोली एक समूहमा रहनेछन्। जर्मनी आयोजक रूपमा छनोटमा सहभागी थिएन। समूह ‘ए’ मा आफ्नो स्थान बनाइसकेको थियो। त्यसबाहेक अन्य टोलीका लागि भने ‘ड्र ’ बाट आफ्नो समूह टुंगो लागेको हो। थप तीन टोलीको टुङ्गो भने प्लेअफबाट हुन बाँकी छ। 

साबिक विजेता इटाली, स्पेन, क्रोएसिया र अल्बानिया एकै समूह ‘बी’ मा परेका छन्। समूह ‘ए’ मा  जर्मनी, स्कटल्यान्ड, हंगेरी, स्विट्जरल्यान्ड, समूह ‘डी’ मा फ्रान्स, नेदरल्यान्ड्स, अस्ट्रिया र प्लेअफबाट आउने टोली (पोल्यान्ड, वेल्स, फिनल्यान्ड, इस्टोनियामध्ये एक) तथा समूह ‘इ’ मा बेल्जियम, स्लोभाकिया, रोमानिया र प्लेअफबाट आउने टोली (इजराएल, बोस्निया एन्ड हर्जगोभिना, युक्रेन, आइसल्यान्डमध्ये एक) तथा समूह ‘एफ’ मा पोर्चुगल, टर्की, चेक रिपब्लिक, प्लेअफबाट आउने टोली (जर्जिया, ग्रिस, काजकिस्तान, लक्जमबर्ग मध्ये एक) छन्। 

६ समूहबाट शीर्ष दुई टोली र तेस्रो स्थान हासिल गर्ने चार उत्कृष्ट टोली अन्तिम १६ मा प्रवेश गर्नेछन्। 

प्रकाशित: १७ मंसिर २०८० ०८:४५ आइतबार

युरोकप