२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

ओमानले नेपाललाई दियो जितका लागि १४६ रनको लक्ष्य

ओमानले आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एसिया क्वालिफायरमा नेपालसामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहीबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभर नै खेल्दै ९ विकेटको क्षतिमा मध्यम लक्ष्य प्रस्तुत गरेको हो। 

नेपालका बलरले राम्रो बलिङ गर्दै पाहुना टोलीलाई मध्यम लक्ष्यमा रोक्न सफल भए। ओमानका लागि कप्तान जिसान मक्सुदले सर्वाधिक ३२ रन बनाए। जिसानले एक चौका र तीन छक्का प्रहार गरे। ओपनर प्रतीक अथाभालेले २४ रन र आयान खानले १८ रन जोडे। ओमानको इनिङ एक समय कमजोर देखिएको थियो।

तर, आठौं नम्बरमा ब्याटिङ गर्न आएका नसिम खुसीले २५ रन र नवौं नम्बरमा आएका सकिल अहमदले २२ रन जोड्दै इनिङ उकासे। त्यसबाहेक अन्य ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। खराब सुरुआत गरेको ओमानले पहिलो ओभरमा नै ओपनर कश्यप प्रजापतिलाई ८ रनमा नै गुमाउन पुग्यो।

करण केसीले उनलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराउँदै नेपाललाई राम्रो सुरुआत दिलाए। त्यससँगै नेपाली बलर हाबी भए र पावर प्लेमा नै चार विकेट लिँदै ओमानलाई दबाबमा राखे। यस क्रममा ओमानले ३८ रन बटुलेको थियो।

तर, त्यसपछि समालिएको ओमानले १४.३ ओभरमा नै एक सय रनको आँकडा भेट्टाए पनि ठूलो योगफल भने बनाउन सकेन। नेपालको बलिङमा करण केसीले तीन विकेट तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए।

गुल्सन झा र अविनाश बोहोराको नाममा समान एक विकेट रह्यो। चार ओभर बलिङ गरेका करण ४३ रन खर्चँदै महँगा साबित भए। यो खेलमा विजयी हुने टोली समूह ‘बी’ को विजेता बन्नेछ। दुवै टोली एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन्।

प्रकाशित: १६ कार्तिक २०८० ०५:०१ बिहीबार

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप