४ मंसिर २०८१ मंगलबार
image/svg+xml
खेल

उत्कृष्टताका लागि प्रशिक्षकको प्रतिस्पर्धा

काठमाडौं- मेघराज केसी र उनको क्लब थ्री स्टारका लागि २०७३ चरम उतारचढावको वर्ष रह्यो । प्रशिक्षक केसीको नेतृत्वमा थ्री स्टारले मंगोलियामा भएको एएफसी कपको प्रारम्भिक छनोटमा सफलता प्राप्त गर्यो ।

केसी र उनको टोली मंगोलिया र कम्बोडियाका लिग च्याम्पियनलाई पन्छाउँदै अन्तिम प्लेअफका लागि छानिएका थिए । तर अखिल नेपाल फुटबल संघ (एन्फा) ले समयमा टिम दर्ता नगराइदिएका कारण आफ्नै पौरखले आर्जन गरेको प्लेअफ पनि थ्री स्टारको ‘आकाशको फल’ मा परिणत भयो ।

त्यसअघि केसीकै नेतृत्वमा थ्री स्टार भारतको गुवाहटीमा सम्पन्न बोर्दोलोई ट्रफीमा च्याम्पियन भएको थियो । तथापि केसी र उनको टोलीका लागि एएफसी कपको प्लेअफ खेल्न नपाउँदाको पीडामा त्यो वर्ष अरू कुनै उपलब्धिले मलम लगाउन सकेन । प्लअ‍ेफ खेल्न नपाएपछि एन्फासँग क्षतिपूर्तिका साथै दोषीमाथि कारबाहीको माग राख्दै थ्री स्टारले माग पूरा नभएसम्मका लागि फुटबल मैदानबाट बिदा लिएको छ । एन्फाको गत महिना सम्पन्न कार्यसमिति बैठकले क्षतिपूर्ति दिने विषयमा निर्णय गरे पनि अझैसम्म मामला पूर्ण रूपमा टुंगो लागिसकेको छैन ।

प्लेअफ खेल्न नपाएको पीडामा मलम लगाउनका लागि केसीले यसपालि एउटा मौका पाएका छन् । उनी सोमबार हुने पल्सर स्पोटर््स अवार्डको उत्कृष्ट प्रशिक्षक विधाको उत्कृष्ट पाँचभित्र परेका छन् । मोटरसाइकल पुरस्कार रहेको अवार्ड जित्नका लागि उनले फुटबलकै राष्ट्रिय प्रशिक्षक ग्योतोकु कोजी, एथ्लेटिक्सका पुष्पराज ओझा, क्रिकेटका जगत टमाटा र ब्याड्मिन्टनका किरण थापालाई पन्छाउन सक्नुपर्नेछ ।

गत वर्षको प्रदर्शन र नतिजाका आधारमा शीर्ष पाँचको मनोनयन गरिएको अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । जापानी प्रशिक्षक कोजीको नेतृत्वमा नेपालले गत वर्ष मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो । त्यो वर्ष खेलेका ६ अन्तर्राष्ट्रिय खेलमा कोजीले नेपाललाई तीन जित र दुई बराबरीमा डो¥याएका थिए ।

यसै गरी रियो ओलम्पिकमा ओझाले नेपाली एथ्लेटिक्स टोलीको नेतृत्व गर्दा उनकी चेली सरस्वती भट्टराईले १ हजार ५ सय मिटर दौडमा २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी थिइन् । सातौं राष्ट्रिय खेलकुदमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ओझाले २२ स्वर्ण, १६ रजत र ८ कांस्य पदक जिताउँदै टिम च्याम्पियन बनाएका थिए ।

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक टमाटाको नेतृत्वमा नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा गत वर्ष खेलेका ६ मध्ये ४ मा जित हासिल गरेको थियो । च्याम्पियन्सिपमा नेदरल्यान्ड्सलाई हराउने एक्लो टोली बनेको नेपालले नामिबियालाई दुई तथा केन्यालाई एक खेलमा हराएको थियो । त्यस्तै इमर्जिङ टिम्स कपमा हङकङलाई हराउँदा पनि नेतृत्व टमाटाकै थियो ।

थापा पाकिस्तान इन्टरनेसनल सिरिजमा रत्नजित र नङ्सल तामाङले स्वर्ण पदक जित्दाका प्रशिक्षक हुन् । त्यही सिरिजमा नङ्सलले कांस्य पदक जित्दा पनि उनकै प्रशिक्षण थियो ।

प्रकाशित: २४ भाद्र २०७४ ०३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App