२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

रेडहर्ष इलाम ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

ताप्लेजुङ गोल्ड कपमा रेडहर्ष इलाम (रातो जर्सीमा ) र गोर्खा स्र्पोटिङ क्लब (हरियो जर्सीमा) शुक्रवार भिड्दै । तस्बिर: खगेन्द्र/ नागरिक

 झापा दमकको गोर्खा स्र्पोटिङ क्लबलाई २–० ले पराजित गर्दै रेडहर्ष फुटबल क्लब,इलाम ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्ड कपको सेमिफाइनल पुग्ने दोस्रो टिम बनेको छ । यो सँगै ताप्लेजुङ गोल्ड कपमा सेमिफाइनल पुग्ने ४ मध्ये दुई टोलीको टुङ्गो लागेको छ । विजेता  रेडहर्ष फुटबल क्लब क्लबले भदौ १९ गते फाइनल यात्राका लागि आउँदो आइतबार हुने भारत दार्जिलिङको खर्साङ फुटबल क्लब र झापा बिर्तामोडको रेडस्टार फुटबल क्लबको विजेतासँग भिड्ने छ ।

 यो खेलको विजेता पनि सेमिफाइनल पुग्ने छ । शनिवार सेमिफाइनल पुग्ने तेस्रो टोलीको निर्णयका लागि पाँचथरको फिदिम स्र्पोटिङ क्लब र मोरङ पथरीको पथरी स्र्पोटिङ क्लब भिड्ने छन् । आइतवारको खेल सकिएसँगै सेमिफाइनल पुग्ने ४ वटै टोलीको टुङ्गो लाग्ने छ । दमकको गोर्खा स्र्पोटिङ क्लब ताप्लेजुङमा तत्कालीन रुपमा सञ्चालित पाथीभरा गोल्ड कपको विजेता पनि हो । तर ताप्लेजुङ गोल्डपकको पहिलो संस्करणको खेल भने गोर्खाका लागि सुखद बनेन । आइभरीकोष्टका फोफोना इब्राहिम र घानाका रिचार्ड विल्सन सहित राष्ट्रिय टोलीमा समेत अटाएका खेलाडी लिएर मैदान उत्रिएको गोर्खा स्र्पोटिङ क्लब, इलामको टिमसंग स्तब्ध हुँदै मैदान बाहिरिएको छ ।

 खेलको १० औं मिनेटमा युवराज राईको गोलबाट अग्रता लिएको रेडहर्षले दोस्रो हाफमा पनि एक गोल थप्यो । रेडहर्षका लागि आशिष राईले खेलको ५९ मिनेटमा एक गोल गर्दै अग्रता दोब्बर पारे । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनले नगद ५ हजार पुरस्कार समेत पाए । नेपालका ग्रामीण क्षेत्रका अधिकांश स्थानमा हुने फुटबल खेलमा मैदानमा देखिने फोफोना र रिचार्डलाई विपक्षी टिमको दरिलो रक्षापंक्ति गोल गर्न बाधक बन्यो ।‘मिस पास’ र खेलको लय गुमाएर अलमलिनु गोर्खाको अर्को कमजोरी थियो । फोफोनाका अधिकांश प्रहारलाई कहिले इलामका गोलरक्षक बिबेक मगरले गोल गर्नबाट असफल तुल्याई दिनु र कहिले पोष्ट नजिकबाट बाहिरिनु तथा रिचार्ड सहितका खेलाडीको गोल गर्ने प्रयास असफल हुनुको मौका उठाउँदै दरिलो रक्षापंक्ति र सुधारिएको प्रदर्शनका कारण रेडहर्ष इलामले सेमिफाइनलमा आफुलाई सुरक्षित गर्न सकेको छ । आउँदो बुधवार सकिने प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । उपविजेता टिमले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । 

प्रकाशित: १५ भाद्र २०८० १३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App