९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

नेइमारले भारतीय क्लबसँग पनि खेल्ने

ब्राजिलियन फुटबलका स्टार नेइमार साउदी प्रो लिग क्लब अल हिलालमा अनुबन्धित भएसँगै उनले एसियन च्याम्पियन्स लिगमा भारतीय क्लबसँग पनि खेल्ने भएका छन्।

बिहीबार एसियन च्याम्पियन्स लिगको ‘ड्र’ सार्वजनिक भएको थियो। ‘ड्र’ अनुसार अल हिलालले नेइमारको साथमा भारतको मुम्बई एफसी, इरानको नासाजी मजानदारन एफसी र उज्बेकिस्तानको नाभबहोरविरुद्ध समूहचरणमा खेल्ने भएको छ। अल हिलाल गत सिजन साउदीको  

प्रो लिगमा दोस्रो स्थान प्राप्त टोली हो। विश्वकै महँगा फुटबलर नेइमार केही समयअगाडि मात्र युरोपियन फुटबल छाड्दै एसियाली फुटबलमा भित्रिएका हुन्। सन् २०१७ मा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नेइमारलाई दुई सय २२ मिलियन युरोमा बार्सिलोनाबाट अनुबन्धित गरेको थियो। यो रकम ट्रान्सफर मार्केटको अहिलेसम्मकै ठूलो हो।

अल हिलालले नेइमारको साथमा भारतको मुम्बई एफसी, इरानको नासाजी मजानदारन एफसी र उज्बेकिस्तानको नाभबहोरविरुद्ध समूहचरणमा खेल्ने भएको छ।

युरोपियन स्टार क्रिस्टियानो रोनाल्डो पहिलो पटक साउदी लिगमा भित्रिएका थिए। उनको आगामनसँगै विश्वका चर्चित स्टारको रोजाइ साउदी प्रो क्लब बन्न पुगिरहेको छ। फ्रेन्च स्टार करिम बेन्जिमाले पनि एसियाको ठूलो क्लबमा रहेर एसियन च्याम्पियन्स लिग खेल्दै छन्। उनी अल इतिहादबाट खेल्दै छन्। मध्यपूर्वी एसियाका यी क्लबहरूले युरोपियन स्टारलाई क्लबमा भिœयाउँदै सनसनी मच्चाएका छन्। अब उनीहरूको प्रदर्शनबाट यी क्लब एसियाको पावर हाउस बन्ने लक्ष्यमा छन्। तेल बिक्रीबाट अर्बौं डलर कमाइरहेको साउदीले खेलकुदको माध्यमबाट यहाँको पर्यटन बढाउने उद्देश्यअनुरूप लगानी गरिरहेको छ।  

अल हिलाल क्लब सर्वाधिक  

चार पटक एएफसी च्याम्पियन्स लिग विजेता हो। ब्राजिलियन प्लेमेकर नेइमारको साथ पाएको अल हिलाल यो सिजन आफ्नो पक्षमा पार्दै कीर्तिमान पाँचौं पटक एएफसी च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा छ। यता, रोनाल्डोको अल नासर भने सन् २०२० र २०२१ को संस्करणमा सेमिफाइनलिस्ट हो। यस पटक अल नासरले इरानको पेर्सेपोलिस एफसी, कतारको अल दुहेल एससी र ताजकिस्तानको एफसी  

इस्तिकलोलविरुद्ध समूहचरणमा प्रतिस्पर्धा गर्ने भएको छ। साउदीको प्रो लिग च्याम्पियन अल इतिहाद सन् २००५ मा च्याम्पियन्स लिग जित्न चाहन्छ। अल इतिहाद सन् २००४ र २००५ मा लगातार दुई पटक एएफसी च्याम्पियन्स लिग विजेता हो। फ्रान्सका दुई स्टार करिम बेन्जिमा र एनगोलो कान्टेलाई अनुबन्धित गरेपछि अल इतिहाद यो सफलता दोहोर्याउने लक्ष्यमा छ। त्यसका लागि अल इतिहादले यस सिजन समूहचरणमा इरानको सेपाहान एससी, इराकको एयर फोर्स क्लब र उज्बेकिस्तानको एजिएमके एफसीको चुनौती पार गर्नुपर्नेछ।  

डिफेन्डिङ च्याम्पियन जापानको उरावा रेड डाइमन्डले चीनको युहान थ्री टाउन एफसी, दक्षिण कोरियाको पोहान स्टिलर र भियतनामको हानोई एफसीविरुद्ध प्रतिस्पर्धा गर्न भएको छ। क्वालालम्पुरस्थित एसियन फुटबल कन्फेडेरेसन (एएफसी) मा उक्त ‘ड्र’ सार्वजनिक भएको हो। एएफसीका महासचिव विन्डसर जोनले प्रतियोगिता निकै प्रतिस्पर्धात्मक रहने बताएका थिए। ‘कुनै पनि खेल सहज छैनन्। भिडियो एसिस्टेन्ट रेफ्री समूहचरणबाट नै लागू हुनेछ,’ जोनले भने। समूहचरणका खेल आगामी सेप्टेम्बर १८ देखि डिसेम्बर १३ सम्म सञ्चालन हुन्छन्। नकआउट चरणका खेल भने आगामी वर्षको फेब्रुअरीदेखि सञ्चालन गर्ने एएफसीले जनाएको छ। 

प्रकाशित: ८ भाद्र २०८० ०२:४८ शुक्रबार

नेइमारले भारतीय क्लबसँग पनि खेल्ने नेइमार