७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

मानबहादुर भलिबल टोलीको कप्तान

त्रिभुवन आर्मी भलिबल क्लबका स्पाइकर मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तान नियुक्त भएका छन्।

नेपाल भलिबल संघले मंगलबार मानबहादुरलाई नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानको जिम्मेवारी सुम्पिएको आफ्नो सामाजिक सञ्जालमार्पmत जानकारी दिएको हो। सोमबार बसेको आफ्नो कार्यसमिति बैठकबाट उनलाई सो जिम्मेवारी सुम्पिएको संघले जनाएको छ। आर्मीकै हरिहजुर थापालाई कप्तानबाट हटाएको एक साता पनि नबित्दै संघले सोही विभागका खेलाडी मानबहादुरलाई  सो जिम्मेवारी सुम्पिएको हो।

गत हप्ता सम्पन्न सातौं प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल क्लब लिगमा गण्डकीसँगको खेलका दौरान भएको विवादमा दर्शकमाथि गरिएको हातपातको विषयलाई लिएर संघले हरिहजुरबाट कप्तानको जिम्मेवारी खोसेको थियो। उक्त खेलमा विवाद भइरहँदा दर्शकबाट बोतल प्रहार भएपछि आर्मीका खेलाडी दर्शकमाथि हातपात गर्न पुगेका थिए। सोही घटनामा संघले राष्ट्रिय टोलीका स्पाइकर धनबहादुर भट्टलाई दोषी ठहर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरी ६ महिनाको प्रतिबन्ध लगाएको छ।

आर्मीकै राजेन्द्र विष्ट र धनपति कुँवर भने तीन महिनाको प्रतिबन्धमा परेका छन्। उक्त घटनामा राष्ट्रिय टोलीका कप्तानको भूमिका गैरजिम्मेवारीपूर्ण भएको भन्दै संघले गत शनिबार हरिहजुरलाई सो जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। राष्ट्रिय टोलीको कप्तानी समालेको एक महिना पनि बित्न नपाउँदै हरिहजुर सो जिम्मेवारीबाट हटाइएका हुन्। उनको स्थानमा संघले राष्ट्रिय टोलीकै मानबहादुरलाई उक्त जिम्मेवारी सुम्पिएको हो। मानबहादुरले सन् २०१५ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। 

प्रकाशित: ३ श्रावण २०८० ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App