साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल पराजित भएको छ।
भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा आज भएको उद्घाटन खेलमा नेपाल कुवेतसँग ३-१ गोल अन्तरले पराजित भएको हो।
पहिलो पटक साफमा सहभागी भएको कुवेतको जितमा कप्तान खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले एक एक गोल गरे ।नेपालका अन्जन विष्टले एक गोल गरेका हुन ।
नेपाल मध्यान्तर सम्म २ ० ले पछि पछाडि परेको थियो । मध्यान्तर पछि कुवेतले एक तथा नेपालले एक गोल गरेको हो । ३- ० ले पछि परेको बेला नेपालका अन्जन विष्टले ६८ औं मिनेटमा गोल गरेर ३-१ को स्थीतीमा ल्याएपनि हार टार्न सकेनन ।अन्जनको यो नेपालका लागि १२ औं अन्तराष्ट्रिय गोल हो ।
यस संस्करणको साफमा ८ राष्ट्रको सहभागिता रहेको छ।यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाएका छन। यस संस्करणमा कुवेत र लेबनान आमन्त्रित टोलीको रुपमा रहेका हुन।
अब नेपालले दोस्रो खेलमा शनिबार आयोजक भारतसँग खेल्नेछ।यस्तै तेस्रो तथा समूह चरणको अन्तिम खेलमा असार १२ गते पाकिस्तानविरुद्ध खेल्नेछ ।
प्रकाशित: ६ असार २०८० १२:१७ बुधबार