१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

सुवासले जिते गल्फ च्याम्पियनसिपकोे उपाधि

एमेच्योर गल्फर सुवास तामाङले सूर्य नेपाल गल्फ टुर २०२२-०२३ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन्।

पार–७२ को गोकर्ण गल्फ क्लबमा शुक्रबार सम्पन्न फाइनलमा सुवासले अर्का एमेच्योर गल्फर सद्भाव आचार्यमाथि चार स्ट्रोकको अन्तरसहित उपाधि उचालेका हुन्। अन्तिम दिन सुवासले सात अन्डर ६५ को प्रदर्शन गर्दै उपाधि सुरक्षित गरे। कुल ७२ होलको समाप्तिमा उनले २१ अन्डर २ सय ६७ स्कोर बटुले। सिजनको दोस्रो उपाधि जितेका जितेका सुवासका लागि समग्रमा भने पाँचौं उपाधि हो। सुवासमाथि दुई स्ट्रोकको अग्रतासहित फाइनलमा प्रतिस्पर्धा गरेका सद्भावले उपाधि भने जित्न सकेनन्। सद्भावको अन्तिम दिन एक अन्डर ७१ को प्रदर्शन रह्यो। त्यससँगै उनले कुल १७ अन्डर २ सय ७१ बटुले।

समग्रमा तेस्रो भए पनि प्रोफेसनलतर्पm भने नीरज तामाङ च्याम्पियन भए। एमेच्योर गल्फर ट्रफी मात्र पाउने भएकाले नीरजले च्याम्पियनको नगद पुरस्कार दुई लाख ७० हजार रूपैयाँ प्राप्त गरे। धराने गल्फर नीरजले कुल १२ अन्डर २७६ स्कोर बटुले। चार अन्डर ६८ सहित उनले शुक्रबारको खेल सकाए। समग्रमा अर्का प्रो गल्फर शुक्रबहादुर राई चौथो स्थानमा खुम्चिए। यद्यपि, उनले दोस्रो स्थानको नगद पुरस्कार एक लाख ७० हजार रूपैयाँ पुरस्कार पाए। यो पुरस्कार राशिसँगै डिफेन्डिङ शुक्रले नेपाल नम्बर एक खेलाडीको वरीयता पनि जोगाए। शुक्रले यस सिजन कुल ६ लाख ६४ हजार रूपैयाँ नगद पुरस्कार पाएका थिए।

भुवन नगरकोटी समग्रमा पाँचौं र प्रोतर्पm तेस्रो स्थानमा रहे। शुक्रबार इभन पार ७२ मा रहेका भुवनले कुल पाँच अन्डर २ सय ८३ बटुले। भुवनले भने एक लाख २० हजार रूपैयाँ प्राप्त गरे। प्रोफेसनलमा दिनेश प्रजापति चौथो रहे। समग्रमा भने छैटौंमा रहेका दिनेशले कुल तीन अन्डर २ सय ८५ स्कोर बटुले। यसबापतले उनले एक लाख रूपैयाँ नगद पुरस्कार पाए। तोरणविक्रम शाह प्रोतर्फ भने पाँचौं हुँदा ८६ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे।  

४१ प्रो र ९ एमेच्योर गल्फरले प्रतिस्पर्धा गरेको सूर्य नेपाल प्रिमियर गल्फ सूर्य नेपाल गल्फ टुर २०२२-०२३ को अन्तिम तथा आठौं प्रतियोगिता हो। प्रतियोगिताका विजेतालाई सूर्य नेपाल प्रालिका म्यानेजिङ डाइरेक्टर रवि के रायबराम र प्रोफेसनल गल्फ एसोसिएसन नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठलगायतले पुरस्कृत गरे। शनिबार नै प्रो–एमको प्रतिस्पर्धा हुनेछ। उक्त प्रतिस्पर्धामा २५ प्रो गल्फर एक सय एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन्। 

प्रकाशित: २७ जेष्ठ २०८० ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App