अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एक पटक म्याराथन दौडिएपछि धावकले तीन महिना आराम गर्नुपर्छ। त्यही भएर एउटा प्रतियोगितामा दौडिएको धावकले नजिकैको मितिको म्याराथन प्रतियोगितामा भाग लिँदैन। किनकी म्याराथन दौडिदा ईनर्जी धेरै खपत हुन्छ। जुन पूर्ति गर्न करिब तीन महिना लाग्छ।
तर नेपाल र भारतका दुई युवा भने दैनिक ५० किलोमिटर दौडिने गरेका छन्। त्यो पनि खाली खुट्टा। गिनिज बुक अफ वर्ल्ड रेकर्डस नाम लेखाउने उद्देश्यले जाजरकोट अमृत बस्नेत र भारत महाराष्ट्रका विशाककृष्ण स्वामीले दैनिक ५० किलोमिटर दौडिने गरेका हुन।
ईण्डो नेपाल फ्रेण्डसीप नाम दिएर भारतको गोरखपुरबाट चैत ११ गतेदेखि दौडिन सुरु गरेका उनीहरू नेपालको बुटवल, पाल्पा, स्याङ्जा हुँदै पोखरा आइपुगेका छन्। प्रत्येक दिन ५० किलोमिटर दौडिने गरेका उनीहरू पोखरामा तीन दिनमै आइपुगे। पहिलो दिन पोखरा रंगशालास्थित ट्रयाकमा दौडिएका उनीहरू दोस्रो दिन पोखरा म्याराथनको रुटमा र तेस्रो दिन पुनः रंगशालाको ट्रयाकमा दौडिएका उनीहरू आइतबार दमौलीतर्फ लागेका छन्।
दैनिक ५० किलोमिटर दौडिने उनीहरुले २२ दिनमा १ हजार १ सय किलोमिटर दौडको लक्ष्य राखेका छन्। गिनिज बुक्स अफ वल्ड रेकर्डसमा जानकारी गराएरै आफूहरुले दौड सुरु गरेको धावक अमृत बस्नेतले बताए। ‘हामीले दौडिएको जिपीएसमा ट्र्याक हुन्छ। फोटो र भिडियो पनि प्रमाणका रुपमा हुन्छ। त्यसैका आधारमा पछि गिनिज बुक्स अफ वर्ल्ड रेकर्डस्ले हामीलाई प्रमाणपत्र प्रदान गर्छ,’ उनले भने।
कहिले जुत्ता लगाएर त कहिले खाली खुट्टा दौडिने गरेका अर्का धावक भारत महाराष्ट्रका विशाककृष्णले बताए। ‘खाली खुट्टा दौडिए क्यान्सर हुन्छ भन्ने भ्रम छ मान्छेमा। हो त्यही भ्रम तोड्न हामीहरु खाली खुट्टा दौडिन्छौं,’ उनले भने।
हालसँगै दौडिएर विश्व रेकर्ड राख्न तम्सिएका अमृत र विशाककृष्ण दुवैले एक्ला एक्लै रुपमा विश्व रेकर्ड राखिसकेका छन्। अमृतले भारतको दिल्लीदेखि काठमाडौंसम्म खाली खुट्टा दौडिएर तथा विशाककृष्णले ६२ दिनसम्म हरेक दिन म्याराथन दौडिएर विश्व रेकर्डस् राखिसकेका छन्।
सन् २०२१ म भारतको चण्डीगढमा भएको ‘ट्वाण्टी फोर आवर स्टेडियम’ प्रतियोगितामा प्रतियोगिका रुपमा सहभागि अमृत र विशाक साथी बनेका थिए। त्यही फ्रेण्डसीपलाई दोस्तीमा बदल्दै उनीहरू सामूहिक दौडिएर नयाँ रेकर्ड राख्न तम्सिएका छन्। भन्छन्,‘दुवैको सोच र मन मिलेपछि नयाँ रेकर्ड राख्न दौडिएका हौँ।’
दौडिएर पनि देशको नाम राख्न सक्दा खुसी लागे पनि राज्य र समाजले सम्मान नदिँदा खिन्न हुने गरेको उनीहरुको भनाई छ । आफ्नै खर्चमा दौडिने गरेका उनीहरू भन्छन्, ‘राज्य र समाजको सहयोग मिले हामी सधैँ दौडिरहने छौं।’
प्रकाशित: १९ चैत्र २०७९ १०:५४ आइतबार