९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

आर्सनलको भेट बायर्नसँग

नियोन- युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सोमबार निकालिएको अन्तिम १६ को ‘ड्र’मा आर्सनलले जर्मन क्लब बायर्न म्युनिखलाई प्रतिद्वन्द्वी पाएको छ। बार्सिलोनाले अन्तिम ८ का लागि परिचित प्रतिद्वन्द्वी पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग प्रतिस्पर्धा गर्नेछ।

पछिल्लो पाँच वर्षमा पहिलोपटक समूह विजेता बन्दै अघिल्लो चरण प्रवेश गरेको आर्सनलका लागि नकआउट चरण भने सहज छैन। युरोपियन प्रतियोगितामा बायर्नसँग आर्सनलको भेट सुखद छैन। यही चरणमा दुई टोली २००५, २०१३, २०१४ मा आमने सामने भएका थिए। च्याम्पियन्स लिगमा भएको १० भेटमा आर्सनलले ३ खेलमा मात्र विजय पाएको छ।

२०१२/१३ मा बायर्नले उपाधि जित्दा पनि आर्सनललाई अन्तिम १६ मै पराजित गरेको थियो। पहिलो लेग २–० ले पराजित बायर्नले दोस्रो लेगमा ५–१ को प्रभावशाली जित दर्ता गरेको थियो।

‘यो रोचक र कठिन ‘ड्र’ हो। पछिल्ला वर्षहरूमा हामीले धेरैपटक आर्सनलविरुद्ध खेलेका छौं। उनीहरूविरुद्ध हाम्रो सुखद अनुभव छ,’ बायर्नका गोलकिपर म्यानुयल नेयुरले भने, ‘आर्सनल बलियो टोली हो। पछिल्ला वर्षहरूभन्दा यसपालिको आर्सनल बलियो छ।’

आर्सनल सम्मिलित समूह ‘ए’बाट उपविजेताका रूपमा अघि बढेको पिएसजीलाई पनि नकआउट चरणको यात्रा सहज हुनेछैन। फ्रेन्च क्लब पिएसजीले क्वार्टरफाइनलका लागि पाँचपल्टको युरोपियन विजेता बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ। पछिल्लो ४ वर्षमा पिएसजी अन्तिम ८ मा बार्सिलोनासँग पराजित हुँदै घर फर्किएको थियो। यी दुईबीच २०१४/१५ को संस्करणमा पनि एउटै समूहमा परेका थिए।

‘यदि अर्को क्लब छान्न पाउने भए म त्यही गर्ने थिएँ,’  बार्सिलोनाका पूर्व फरवार्ड तथा पिएसजीका निर्देशक प्याटि्रक क्लाइभर्टले भने।

त्यस्तै बार्सिलोनाका उपाध्यक्ष जोर्डी मेस्ट्रीले आफ्नो प्रतिद्वन्द्वीबारे भने, ‘यो सत्य हो कि हाम्रो सम्भावित प्रतिद्वन्द्वी मध्येमा बायर्न सबैभन्दा कठिन थियो। तर पिएसजी पनि बलियो क्लब हो। खेलमा जितको ग्यारेन्टी हुँदैन तर हामीले पहिले पनि पराजित गरिरहेकाले मनोबल भने उच्च रहनेछ।’

कीर्तिमानी १२ औं उपाधि जित्ने अभियानमा रहेको साबिक विजेता रियाल मड्रिडले नेपोलीविरुद्ध खेल्नेछ भने पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले मोनाकोसँग प्रतिस्पर्धा गर्नेछ।

पछिल्लो समय सिटी जितका लागि संघर्ष गरिरहेको छ। त्यसैले मोनाकोको चुनौती पार गर्न सिटीलाई पनि सहज छैन। युरोपको प्रतिष्ठित फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको मोनाकोले पछिल्लो दुई वर्षमा इङ्लिस क्लब आर्सनल र टोटेनह्यामलाई पराजित गरिसकेको छ।

‘रियाल मड्रिड र बार्सिलाना प्रतिद्वन्द्वी नपरेकोमा हामी खुसी छौं,’ सिटीका फुटबल निर्देशक टिजिकी बेगिरिस्टेनले भने, ‘तथापि मोनाकोले अहिले फ्रान्समा उत्कृष्ट फुटबल खेलिरहेको छ। समूह चरणमा पनि राम्रो प्रदर्शन गरेको छ। युवा खेलाडीको प्रदर्शनले टोली राम्रो छ।’

पछिल्लो तीन सिजनमा रियाल र सिटीको प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडले बायर लेभरकुसनविरुद्ध खेल्नेछ। २०१४/१५ को सिजनमा पनि यी दुई टोली आमने–सामने भएका थिए। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एट्लेटिको पेनाल्टी सुटआउटमा विजयी हुँदै क्वार्टरफाइलनस्थान पक्का सफल भएको थियो। दुईपटकको विजेता युभेन्ट्सले एफसी पोर्टोको सामना गर्दा बोरुसिया डर्टमन्डले बेन्पि्ककासँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै लेस्टर सिटीले सेभियासँग खेल्नेछ।

पहिलो लेग फ्रेबुअरी मध्य साता र दोस्रो लेग मार्च पहिलो साता हुनेछ।

प्रकाशित: २८ मंसिर २०७३ ०४:४१ मंगलबार

आर्सनलको बायर्नसँग