काठमाडौं–नेपाली फुटबल इतिहास लेखनको चरणमा छ । राष्ट्रिय फुटबलको सर्वोच्च निकायले यसै महिना पहिलो पटक निर्वाचनमार्फत नयाँ नेतृत्व चयन ग¥यो । गतवर्ष विभिन्न स्तरमा गरी नेपालले तीन अन्तर्राष्ट्रिय उपाधि उचाल्यो । एसियाली फुटबल महासंघको आधिकारिक प्रतियोगिता एएफसी सोलिडारिटी कपको उपाधिमा चुनौती प्रस्तुत गर्नु नेपाली फुटबलको अवको पालो हो ।
नेपालका जापानी प्रशिक्षक ग्याटुको कोजी र उनको टोलीलाई सोलिडारिटी कप जित्नुको महत्व राम्ररी थाहा छ । अघिल्लो वर्ष उमेर समुहमा दुई र एउटा आमन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगिता जित्दा टिमको जयजयाकार भएको कोही फुटबलकर्मीले विर्सेका छैनन् । जवकि २०७२ भदौमा सातदोबाटोमा जितेको साफ यु–१९ च्याम्पियनसिप र फागुनमा भारतमा जितेको साग फुटबलको उपाधि दुवै उमेर समुहमा प्रतियोगिता थिए । माघमा बंगलादेशमा जितेको बंगबन्धु गोल्डकपलाई पनि अन्तर्राष्ट्रिय मान्यता थिएन ।
एसियाली फुटबल महासंघको आधिकारिक प्रतियोगिता एएफसी सोलिडारिटी कपको उपाधिमा चुनौती प्रस्तुत गर्नु नेपाली फुटबलको अवको पालो हो ।
त्यसैले मलेसियाको कुचिङमा मंगलबार हुने फाइनलमा पुरानै प्रतिद्वन्द्वी मकाउलाई हराउन सके नेपाली फुटबल इतिहासमा अर्को सुनौलो अध्याय थप हुनेछ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले गरेको आधिकारिक प्रतियोगितामा नेपाल फाइनल पुगेको यो पहिलो अवसर हो । शनिबार लाओसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपाल पहिलो पटक एसियाली स्तरको प्रतियोगितामा फाइनल पुगेको थियो । एएफसीले विश्वकप छनोटका लागि समेत छनोट नभएका कमजोर देशहरुका लागि गरेको भए पनि नेपालका लागि यसको महत्व विशेष छ ।
आधिकारिक प्रतियोगिता हुनु यसको सबभन्दा ठूलो विशेषता हो । झन १९९३ मा बंगलादेशमा सम्पन्न छैटौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ हालको साग) अन्तर्गत फुटबलमा उपाधि जितेयता नेपाल आधिकारिक अन्तर्राष्ट्रिय उपाधिबाट विमुख हुँदै आएको छ । त्यसैले मंगलबार मकाउको चुनौती पन्छाउन सके नेपाल २३ वर्षपछि फेरी आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा च्याम्पियन बन्नेछ ।
पेनाल्टीको नियमित दुखःद संयोगमाथि जित हासिल गर्दै नेपालले फाइनलयात्रा तय गर्नु आफैमा एउटा उत्साहजनक पक्ष थियो । लामो समयदेखि पेनाल्टीमा चुक्दै आएको अवस्थामा यसपाली त्यसमाथि जित हासिल गर्नुले टोलीको मनोबल उकास्न महत्वपूर्ण योगदान गरेको छ । तर लाओसमाथिको जित नेपालका लागि सफलताको उत्कर्ष पक्कै थिएन । खासमा त्यो एउटा सुरुआत थियो ।
जसले कम्तिमा सोलिडारिटी कपमा उपाधिको उत्कर्ष दिने कोजीको अपेक्षा छ । ‘गतवर्ष नेपालमा ठूलो भुइचालो गएको थियो । जसले ९ हजारभन्दा बढिको ज्यान लिनुका साथै राष्ट्रिय रंगशाला क्षतविक्षत पारेको छ । हामीसँग देशभित्र खेल आयोजना गर्ने ठाउँ छैन । नेपाली जनताहरु घरमै फुटबल हेर्न चाहन्छन्,’ कोजीले भने, ‘अहिले नेपाली समर्थहले हामीलाई कम्प्युटरको स्क्रिनमा हेरिरहेका छन् । हामीले फाइनल जित्न सक्यौं भने घर फर्किँदा काठमाडौं विमानस्थलमा हजारौं समर्थक हाम्रो स्वागतका लागि उपस्थित हुनेछन् । मार्चमा यु–२३ टिमले साग जित्दा सरकारले ठूलो सहयोग गरेको थियो । हामीले पनि यहाँ जित्यौं भने त्यस्तै हुनेछ ।’
इतिहास कल्पेर वर्तमान सुखद हुन सक्दैन । तर फुटबलमा इतिहासको महत्व पनि विशेष हुने गर्छ । त्यसले दुवै टोलीको मानसिकतामा ठूलो प्रभाव पार्ने गर्छ । मकाउसँग नेपालको विगत सुखद छ । दुई टोलीबीच पाँच पटक अन्तर्राष्ट्रिय मैदानमा भेट हुँदा नेपालले पराजय भोग्नु परेको छैन् । पाँचमध्ये चार खेल जितेको नेपालले एक खेलमा बराबरी नतिजा निकालेको छ ।
१९९८ को विश्वकप छनोटअन्तर्गत अघिल्लो वर्ष ओमानको मस्कटमा मकाउसँग पहिलो पटक भेट हुँदा नेपाल १–१ को बारबरी नतिजामा सिमित भएको थियो । त्यसयता नेपालले मकाउसँग सतप्रतिसत नतिजायात्रालाई निरन्तरता दिएको छ । त्यही छनोटको दोस्रो लेगमा २–१ को जित हासिल गरेको थियो । यसैगरी २००२ को विश्वकप छनोटअन्तर्गत २००१ मा सम्पन्न पहिलो लेगमा ४–१ तथा दोस्रो लेगमा ६–१ को जित हासिल गरेको नेपालले मकाउलाई एएफसी च्यालेन्ज कपको छनोटअन्तर्गत २००८ मा भेट हुँदा ३–२ ले निराश पारेको थियो ।
इतिहास बलियो भए पनि नेपालका प्रशिक्षक कोजी फाइनल खेल सहज देख्दैनन् । ‘मेरो विचारमा यो खेल सहज हुने छैन, तर हामीसामु जित्ने सम्भावना बलियो छ,’ कोजीलाई उद्यृत गर्दै एएफसीले जनाएको छ, ‘पाँच महिनादेखि हामीले कुनै प्रतियोगिता खेल्न पाएका थिएनौं, त्यसले गर्दा खेलाडीहरु यहाँ थकित छन् । तर यो हाम्रो समस्या हो, कसैप्रतिको गुनासो होइन । खेलाडहिरु उच्च मनोबलका साथ फाइनलका लागि तयार छन् ।’
फाइनल जित्ने लक्ष्य पूरा गर्नका लागि रक्षापंक्तिले राम्रो प्रदर्शन गर्नुपर्ने कोजी बताउँछन् । विपक्षी टोलीका अग्ला स्ट्राइकर निकोलस टाराओलाई मुख्च चुनौती देख्ने कोजीले भने, ‘उनी अग्ला छन्, त्यसैले हाम्रा लागि खतरनाक हुन सक्छन् । लाओससँगको खेलमा पनि उनीहरुका स्ट्राइकर साइसङखाम त्यस्तै खतरनाक हुन सक्छन भनेर मैले भनेको थिएँ । उनले दुई गोल पनि गरे । फाइनल जित्ने हो भने हाम्रा रक्षकहरुले राम्रो खेल्नुपर्छ ।’
प्रतियोगितामा सर्वाधिक ४ गोल गरेका टाराओको चोट मकाउका प्रशिक्षकका लागि भने टाउको दुखाई बनेको छ । हातको चोटका कारण २८ वर्षे स्ट्राइकरले शनिबार ब्रुनाईविरुद्धको सेमिफाइनल बेन्चबाट खेलेका थिए । मकाउका प्रशिक्षक ताम आओ सानले दायाँ हातको हाडमा सामान्य फ्रयाक्चरका बावजुद टाराओले मंगलबार खेल्ने अपेक्षा गरे । अन्तिम समयमा उनको फिटनेस परिक्षण गरिने उनको भनाई थियो । ‘हामी फाइनलका लागि तयार छौं, तर केही चोटका कारण हामीलाई समस्या छ,’ उनले भने ।
नेपालका प्रशिक्षक कोजी भने खेलाडीको फिटनेसका कारण चिन्तामा छैनन् । भन्छन्, ‘ससाना समस्या भए पनि हाम्रो टोलीमा कुनै चोटको समस्या छैन । हामी च्याम्पियन भएर नेपाल फर्किन चाहन्छौं । हाम्रा लागि च्याम्पियन हुने यो राम्रो मौका हो । यो पहिलो एएफसी सोलिडारिटी कप हो र हामी पहिलो च्याम्पियन बन्न चाहन्छौं ।’
प्रकाशित: ३० कार्तिक २०७३ ०४:२७ मंगलबार