४ मंसिर २०८१ मंगलबार
image/svg+xml
खेल

नेपालले नयाँ म्याटमा भारतसँग खेल्ने

काठमाडौं- नेपाली महिला भलिबल टोलीले भारतसँग साउनमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नेपाल भलिबल संघले साउन १३ र १४ मा त्रिपुरेश्वरस्थित कभर्ड हलमा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी गरिरहेको बुधबार जनाएको छ।

संघका महासचिव जितेन्द्रबहादुर चन्दले नयाँ म्याट उद्घाटनका लागि भारतसँग मैत्रीखेल खेल्न लागेको बताए। भलिबलमा कुनै पनि देशले नयाँ म्याटको उद्घाटन अन्तर्राष्ट्रिय खेलबाट गर्ने चलन छ। अन्तर्राष्ट्रिय भलिबल महासंघले नेपाललाई उपलब्ध गराएको नयाँ म्याट उद्घाटनका लागि भारतसँगको मैत्री खेल तय गरिएको हो।

'भारतमा केही महिनाअघि सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा हामीले अपेक्षा गरेअनुसार नतिजा निकाल्न सकेनौं तर त्यसबाट पाठ सिक्दै राम्रो गर्ने कोसिस गरिरहेका छौं,' महासचिव चन्दले बुधबार पत्रकार सम्मेलनमा भने, 'भारत दक्षिण एसियाको नम्बर एक टोली हो। उनीहरूसँग खेल्दा हामीलाई आफ्नो स्तर उकास्न सहयोग पुग्नेछ।'

यसैबीच मैत्री खेलको घोषणा गर्न बुधबार आयोजित कार्यक्रममा भलिबलका पूर्व खेलाडीले संघलाई आर्थिक सहयोग गरेका छन्।खेल आयोजनाका लागि पूर्व खेलाडी एवं शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले भलिबल संघलाई १ लाख ५० हजार,संघका पूर्व सदस्य विनोद सुवेदीले २ लाख र नासा कलेजका अध्यक्ष प्रकाश थापाले व्यक्तिगत१ लाख रुपैयाँ सहयोग गरे।

१२औं सागमा भारतले आफ्नै कोर्टमा नेपाललाई ३–० को सोझो सेटमा हराएको थियो। यसैगरी दुई वर्षअघि काठमाडौंमा भएको प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल प्रतियोगितामा पनि नेपाल भारतसँग ३–० को सोझो सेटमा पराजित भएको थियो।

मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षण सिविरको व्यवस्था नगरिए पनि नेपाली महिला टोलीले दुई सातादेखि त्रिपुरेश्वरमा दैनिक अभ्यास गरिरहेको छ। टोलीले असार १७बाट अभ्यास सुरु गरेको हो। साउन पहिलो सातादेखि टोलीलाई बन्द प्रशिक्षणमा राख्ने महासचिव चन्दले बताए। पहिलो चरणको प्रशिक्षणमा १७ खेलाडी सहभागी छन्।

सुदेशकुमार रिमाल र प्रज्ज्वलबहादुर सिंहले महिला टोलीलाई प्रशिक्षण गराइरहेका छन्। संघकी सदस्य ज्योति केसीले व्यवस्थापकका रुपमा टोलीको नेतृत्व गरिरहेकी छन्।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमणशर्माले पूर्व खेलाडीको सहयोग मैत्रीपूर्ण खेलको सफलताका लागि सहयोगी हुने बताए। 'हामीलाई सहयोग गर्ने सबैलाई धन्यवाद। हामी खुसी छौं। आगामी दिनमा थप नयाँ कार्यक्रम गर्नखेलाडीको साथ र सहयोग आवश्यक छ,' उनले भने।

कार्यक्रममा अध्यक्ष शर्माले पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेकी प्रतिभा मालीलाई जिताउन संघ सक्रिय भएर लागिपरेको बताए।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले महिला भलिबलको मनोबल बढाउन आवश्यक भएको बताए। 'दक्षिण एसियामा महिला टोलीले राम्रो नतिजा निकालेको छ। पूर्व खेलाडी भएर महिला टोलीलाई सहयोग गर्न पाउँदा खुसी छु,' उनले भने, 'काठमाडौंमा श्रीलंकालाई हराउन हामी सफल भइसकेका छौं। खेलाडीको मनोबल बढाउन सके उनीहरूले राम्रो नतिजा निकाल्न सक्छन्।'

कार्यक्रममा अध्यक्ष शर्माले राष्ट्रिय टोलीका खेलाडीलाई अभ्यास जर्सी प्रदान गरेका थिए।

प्रकाशित: ३० असार २०७३ ०३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App