३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

प्रादेशिक रंगशाला निर्माणको काम तीब्र

निर्माण भइरहेको प्रादेशिक रंगशालाको निरीक्षण गर्दै मुख्यमन्त्री जीवनबहादुर शाही।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश सरकारले सुरु गरेको प्रादेशिक रंगशाला निर्माणको काम ३० प्रतिशत सम्पन्न भएको छ। प्रदेश गौरवको आयोजनाका रुपमा निर्माण भइरहेको रंगशाला समय अगावै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।  

राष्ट्रिय खेलकुद परिषद्ले कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेसँगै प्रदेश सरकारले पूर्वाधार निर्माणतर्फ आफ्नो केन्द्रीत गरेको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रादेशिक रंगशालासँगै १० वटै जिल्लामा खेलकुद पूर्वाधार निर्माणको कामलाई तिब्रता दिइएको बताए।

मुख्यमन्त्री शाहीले रंगशाला शिलान्यास गरेयता एक वर्षको अवधिमा ३२ औं पटक अनुगमन गरेका छन्। खेलकुदको शून्य पूर्वाधार भएको कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगीता आयोजना गर्नका लागि प्रदेश सरकारले प्रादेशिक रंगशालासहित सबै जिल्ला खेलकुद पूर्वाधार निर्माण गरिरहेको उनले जानकारी दिए। प्रादेशिक रंगशाला एक अर्व ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँमा निर्माण भइरहेको छ।  

खेलकुदको शून्य पूर्वाधार भएको कर्णालीमा २०८१ बैशाखभित्र रंगशाला निर्माण सम्पन्न गर्ने गरेर कर्णाली प्रदेश खेलकुद विकास परिषद् र निर्माण कम्पनी एम.ए.सी.जी. बीच गत कात्तिक महिनामा संझौता भएको थियो। मुख्यमन्त्री शाहीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाधार निर्माण गर्न बजेट अभाव हुन नदिने बताए। ‘कर्णालीमा पहिलो पटक खेलकुदको महाकुम्भ हुँदैछ,’ उनले भने, ‘यसका लागि पूर्वाधार पहिलो कुरा हो, पूर्वाधार निर्माणमा बजेटको कमि हुन दिनेछैनौं।’  

‘प्रदेश गौरवको योजना भएकाले समयमै सम्पन्न गर्ने गरेर कार्ययोजना बनाएका छौं,’ परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले भने, ‘रंगशालाले कर्णालीको खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएका छौं।’

निर्माण भइरहेको रंगशालाभित्र फिफाको मापदण्ड अनुसार फुटवल मैदानसँगै आठ लेनको सेन्थेटीक एथलेटिक्स ट्रयाक हुनेछ। यस्तै १० हजार दर्शक क्षमताको भूकम्प प्रतिरोधी प्यारोफिटसँगै भिआइपी प्यारोफिट, मिडिया रुम, रेफ्री, चेन्जिङ र रिफ्रेस रुप रहनेछ।  

रंगशालाभित्र मेडिकल रुम, फिजियोथेरापी, भिआइपी वेटिङ रुमका साथै अण्डरग्राउण्ड पार्किङ रहनेछ। अपाङ्गमैत्री रंगशालासँगै टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म रहने उनले जानकारी दिए। रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड र फिफा मापदण्डकै पौडीपोखरी रहनेछ। यस्तै १५ सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल रहनेछ।  

रंगशालाभित्र नेपालकै पहिलो अन्तराष्ट्रियस्तरको भलिबल कोर्ट निर्माण भइरहेको छ। १५ सय दर्शक अटाउने उक्त भलिबल कभर्ड हल वातानुकुलित हुनेछ। यसमा ह्याण्डबललगायतका खेलहरु खेल्न मिल्ने छ। यस्तै महिला र पुरुषले छुट्टाछुट्टै खेल्न मिल्ने गरेर आउटडोर भलिबल कोर्ट पनि यसमा समावेश छ।

प्रकाशित: १४ मंसिर २०७९ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App