१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

विश्वविजेता बन्ने नेइमारको सपना

ब्राजिलका नेइमार घरेलु मैदानमा सन् २०१४ मा तय विश्वकपको तयारीमा जुटिरहँदा नै स्टार खेलाडीका रूपमा उदाइसकेका थिए।

त्यसो त नेइमार त्यसको केही समयअघि मात्र ब्राजिलियन क्लब सान्तोसबाट स्पेनिस ला लिगाको क्लब बार्सिलोना गएका थिए। जसले गर्दा उनी विश्व फुटबलमा उदीयमान खेलाडी भएका थिए। बार्सिलोनामा आबद्ध भएको केही समयपछि नै उनले त्यहाँ आफ्नो प्रभाव जमाउन थालिसकेका थिए। सोही प्रभावशाली प्रदर्शनले उनलाई विश्व फुटबलको स्टारका रूपमा परिचित गराएको थयो। तर सबैले जिज्ञासा भने एउटै थियो, ‘के पेले र रोनाल्डोजस्तै नेइमारले पनि ब्राजिललाई विश्वकपको उपाधि जिताउँछन् ? विश्वकप नजिताए नेइमारको भविष्य कस्तो हुन्छ ? उनी स्टार खेलाडी भैरहन्छन् अथवा उनको चर्चा सेलाउँदै जानेछ ?’

ब्राजिलको विश्वकप यात्रा सेमिफाइनलमा जर्मनीसँग लज्जास्पद हार व्यहोर्दै अन्त्य भयो। ब्राजिल विश्वकप समापन भएको आठ वर्ष भैसकेको छ। विश्व फुटबलमा पनि धेरै परिवर्तन भइसकेको छ। तर पनि नेइमार अझै पनि विश्व फुटबलका स्टार खेलाडी हुन्। तर उनले ब्राजिलबाट युरोपियन लिगमा आबद्ध भएपछि त्यहाँका समर्थकले गरेको अपेक्षा भने पूरा गर्न सकेका छैनन्। सन् २०१७ मा बार्सिलोनाबाट विश्वकीर्तिमानी रकममा फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्धित भएका नेइमारले क्लब फुटबलमा औसत प्रदर्शन गरे पनि ब्राजिलको राष्ट्रिय टोलीका लागि भने उनको प्रदर्शन आशा गरिएभन्दा धेरै तल छ।  

सन् २०१८ को रूस विश्वकपमा ब्राजिलको यात्रा क्वार्टरफाइनलमा अन्त्य भएको थियो। ब्राजिलको यात्रामा बेल्जियम बाधक बनेको थियो।  

सन् २०१८ मा ब्राजिलले रियो ओलम्पिकमा स्वर्ण पदक जित्दा उनी टोलीका सबैभन्दा महŒवपूर्ण खेलाडी थिए। यी नै नेइमारले आइतबारबाट सुरु हुने कतार विश्वकपमा कस्तो प्रदर्शन गर्छन् भन्ने चर्चा सुरु भैसकेको छ। के नेइमारले बार्सिलोना छोडेर पिएसजी जानु गलत निर्णय थियो ? नेइमार पिएसजीमा लियोनल मेसी र किलियन एमबाप्पेको छायामा परेका हुन् ? के उनको स्वाभाविक लय गुमेको हो ?

तर नेइमार भने एउटा मात्र कुरामा केन्द्रित छन्। दुई दशकपछि ब्राजिललाई विश्वकपको उपाधि जिताउने। सन् २००२ मा पाँचाैं पटक विश्व विजेता बनेको ब्राजिलले त्यसपछि भने उपाधि जित्न सकेको छैन। सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा नेइमार मात्र १० वर्षका थिए। ‘म यस पटक विश्वकपको उपाधि हाम्रो हातबाट गएको हेर्न चाहन्नँ,’ नेइमारले केही समयअघि भनेका थिए, ‘म यो अवसर खेर फाल्न चाहन्नँ। म त्यसका लागि पूर्ण रूपमा तयार छु, शारीरिक र मानसिक रूपमा। मेरो सबैभन्दा ठूलो सपना नै विश्व विजेता बन्नु हो। म मेरो खेलजीवनबारेमा चलेका चर्चा भन्दा पनि त्यो उपाधि जित्नेमा मात्र केन्द्रित छु।’

‘नेइमार अहिले उच्च लयमा छन्,’ ब्राजिलका प्रशिक्षक टेटेले भने, ‘ब्राजिलको विश्वकप लक्ष्यमा नेइमार सबैभन्दा महत्वपूर्ण सदस्य हुन्। उनी अनुभवी र क्षमतावान् खेलाडी हुन्।

प्रकाशित: ३ मंसिर २०७९ ०२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App