५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

खस सभ्यताको सम्मानमा सिंजाले मनायो खस दिवस

जुम्लाको सिंजा गाउँपालिकाले खस सभ्यता र संस्कृतिको सम्मानमा साउन १ गतेलाई ‘खस दिवस’ का रूपमा मनाएको छ।

सिंजा क्षेत्रका हिमा र कनकासुन्दरीसहित तीन गाउँपालिकामध्ये सिंजाले पहिलोपटक औपचारिक रूपमा यो दिवस मनाउँदै सार्वजनिक बिदा समेत दिएको थियो।

गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार, गाउँपालिकाको १२ औं गाउँसभाले साउन १ गतेलाई खस दिवसका रूपमा मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

‘बिहीबार गाउँपालिकाभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालयहरू बन्द रहे,’ अध्यक्ष धितालले भने, ‘खस सभ्यता मान्नेहरूका लागि यो दिन नयाँ वर्ष पनि हो, त्यसैले सिंजावासीले यसलाई नयाँ वर्षकै रूपमा मनाए।’ 

प्राचीन खस साम्राज्यमा साउन १ गतेलाई नयाँ आर्थिक वर्षको सुरुवातका रूपमा लिइन्थ्यो। त्यसबेला नयाँ रीतिथिति बसाल्ने, कर असुली गर्ने, सरसफाइ गरेर मिष्ठान्न भोजन ग्रहण गर्ने जस्ता महत्त्वपूर्ण कार्यहरू हुन्थे। सोही ऐतिहासिक दिनको सम्झना र सम्मानमा गाउँपालिकाले खस दिवस मनाउन थालेको हो। यो खस दिवसको तेस्रो संस्करण हो।

यस दिनमा काल, अनिकाल र रोगव्याधि हटेर जाओस् तथा आयु, आरोग्य र सुबिकाल प्राप्त होस् भन्ने कामनासहित राँको बालेर मनोकामना व्यक्त गर्ने प्रचलन छ। यो दिवसले स्थानीयवासीलाई खस सभ्यताको अध्ययन, अनुसन्धान र संरक्षणमा थप प्रोत्साहित गरेको गाउँपालिकाको विश्वास छ।

अध्यक्ष धितालले कर्णाली प्रदेश सरकारले यसै दिनलाई ‘देउडा दिवस’ का रूपमा मनाउने निर्णय गरे पनि त्यसले दिवसको सार्थकता र व्यापकतालाई संकुचित पारेको बताए।

‘देउडा खस संस्कृतिको एउटा महत्त्वपूर्ण अङ्ग हो, तर खस दिवसको महत्त्व देउडामा मात्र सीमित छैन,’ उनले भने, ‘त्यसैले कर्णाली प्रदेश सरकारले पनि यसलाई खस दिवसकै रूपमा मनाउनु आवश्यक छ।’

उनले खस जातिको उद्गम थलो सिंजाबाट सुरु भएको यो अभियानलाई राष्ट्रिय पहिचान दिन नेपाल सरकारले ‘खस दिवस’ लाई राष्ट्रिय दिवसकै रूपमा घोषणा गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: १ श्रावण २०८२ २१:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App