२४ पुस २०८१ बुधबार
image/svg+xml
समाज

चुमनुब्रीको नामरुङ र चुम्लिङमा खाद्यान्न बिक्री केन्द्र राख्ने निर्णय

जिल्ला खाद्य ब्यवस्थापन समिति गोरखा बैठक।

गोरखाको चुमनुब्री गाउँपालिकाको नाम्रुङ र चुम्लिङमा खाद्यान्न बिक्री केन्द्र राख्ने निर्णय भएको छ। जिल्ला खाद्य व्यवस्थापन समिति गोरखाको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाका निमित्त प्रमुख मुनिलाल कुश्वाहाले बताए। जिल्लाले गरेको यो निर्णय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रिय कार्यालयले स्विकृत गरेपछि बिक्री केन्द्र संचालन हुनेछ।  

सातवटा वडा रहेको चुमनुब्री गाउँपालिका भौगोलिक रुपमा विकट रहेको, एउटा वडाबाट अर्कोमा पुग्न दुईदेखि तीनदिन लाग्ने भएकाले खाद्यान्न बिक्री केन्द्र आवश्यक परेको गाउँपालिकाले जनाएको छ। ‘गाउँपालिका भित्र दुई प्रतिशत मात्रै खेतियोग्य जमिन छ, जिल्लाको झण्डै आधा क्षेत्रफल (१६४९ वर्ग किलोमिटर) ओगटेको छ’, गाउँपालिका अध्यक्ष निमा लामाले भने ‘यहाँका मानिसले सँधै खाद्य संकट भोग्नुपरेको छ।’

चुमनुब्री गाउँपालिका ३ सिर्दिबासमा कम्पनीको डिपो छ। तर उक्त डिपोबाट सबै वडाका सर्वसाधारणले सहज रुपमा खाद्यान्न खरिद र उपभोग गर्न नपाएको लामाले बताए। गाउँपालिकाले गोरखा स्थित खाद्य कम्पनीलाई पत्राचार गर्दै वडा नम्बर १,२,४,५ का लागि वडा नम्बर ४ को गाप वा नामरुङ र ६, ७ को लागि वडा नम्बर ६ को चुम्लिङमा बिक्री केन्द्र राख्न अनुरोध गरेको थियो।  

‘गाउँपालिकाको अनुरोध अनुसार आइतबारको बैठकले नामरुङ र चुम्लिङमा बिक्री केन्द्र राख्ने निर्णय गरेर सिफारिसका लागि केन्द्रिय कार्यालय पठाउने भएको छ’, कम्पनीको गोरखा स्थित कार्यालयका सूचना अधिकारी शिव सुनारले भने। चुमनुब्री गाउँपालिका सडक सञ्जालले जोडिएको छैन। खच्चडबाट खाद्यान्न ढुवानी हुने त्यहाँ अहिले पैदल हिँड्ने, खच्चड हिँड्ने बाटो समेत नहुँदा खाद्यान्न अभाव हुन थालेको प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले बताए।  

उत्तरी गोरखामा खाद्यान्न सहज बनाउन बिक्री केन्द्र राख्ने निर्णय र सिफारिस भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए। ‘पहिले खाद्यान्न अभाव हुँदा हेलिकप्टरबाट पनि लगेका थियौँ, सधैँ त्यो संभव नहुन सक्छ, त्यसैले बिक्री केन्द्र राख्दा स्थानीयलाई सहज हुन्छ’ प्रअिज आचार्यले भने।

अहिले प्रस्ताव गरिएको बिक्री केन्द्रलाई स्थायी डिपो कार्यालयमा रुपान्तरण गरिदिन पनि जिल्ला खाद्य व्यवस्थापन समितिको बैठकले सिफारिस गरेको छ। अहिले धार्चे गाउँपालिकाको माछाखोला र चुमनुब्रीको सिर्दिबासमा कम्पनीको डिपो छ। डिपो र गोरखा स्थित कार्यालयबाट खाद्यान्न बिक्री वितरण हुँदै आएको छ।  

जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाको अध्यक्षतामा भएको बैठकमा प्रजिअ आचार्य, राजनीतिक दलका प्रतिनिधि, उद्योग बाणिज्य संघ, गाउँपालिकाका प्रतिनिधि लगायतको उपस्थिती थियो।

प्रकाशित: ३० आश्विन २०७९ १०:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App