८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

व्यवस्था फेरियो, अवस्था उस्तै

गुनासो सुनाउँदै बादी समुदाय। <div><br></div>

खाँडाचक्र नगरपालिकाको सडक छेउछाउमा भाडाका घरमा बस्दै आएका बादी समुदायमा धेरै समस्या छन्। नेपालमा व्यवस्था फेरियो, स्थानीय सरकार आयो। अब त राम्रो घरमा बस्न पाईन्छ भने आशामा रहेका यस बस्तीका चिन बादी अहिले पनि भाडाकै घरमा बस्न बाध्य भएको बताउँछन्। हरेक जसो चुनावी एजेण्डा बन्ने बादी बस्तीको अवस्था भने उस्तै छ। 

जग्गा,जमिन रोजगारी र घरको अभावमा रहेका उनीहरूको समस्या ज्यूँका त्यूँ छ। वर्षाैँ देखि यिनै पीडाबाट गुर्जिरहेका खाँडाचक्र नगरपालिका–१ का कृष्ण बादी निर्वाचनमा आफ्नो बस्तीको एजेण्डा बने पनि समाधान भने हुन नसकेको बताउँछन्। ‘जग्गाविना यहाँ बस्न थालेको २१ वर्ष बित्यो।’ उनले भने, ‘अहिलेसम्म नेताहरूको कमाइ खाने भाँडो मात्र भयौं।’  

कालिकोटमा बस्दै आएका  १५ घरपरिवार रहेका बादी समुदायलाई २१ वर्ष बितिसक्दा पनि सरकारले अझै व्यवस्थापन गर्न सकेको छैन। सदरमुकाको कर्णाली राजमार्गको छेउछाउमा १५ घरपरिवार  बसोबास गर्दै आएका छन्। दुईघर परिवारलाई छ बर्ष पहिला जनता आवासले घर बनाई दिएको थियो। त्यो पनि अहिले भत्किएका छन्।

भाडामा बस्दै आएका उनीहरु बिहानदेखि साँझसम्म अरूकै घरमा ज्याला मजदुरी गरेर साँझ बिहानको छाक टारिरहेका छन्। अहिले उनीहरूसँग न त जमिन छ, न त आफू बस्ने घर नै छ। २०६५ सालमा सरकारले बादी  समुदायका महिलालाई यौनशोषण मृक्त र पुन ःस्थापनाको घोषण गरे पनि अहिले सम्म त्यसको कार्यान्वयन हुन सकेको छैन। २०६५ पुस २३ गतेको मन्त्रिपरिषदको निर्णयले बादी महिलालाई यौनशोषमृक्त र पुनःस्थापनाको धोषण गरेको थियो। घोषण भएको बषौँ बितिसक्दा पनि त्यसको कार्यान्वयन नहँुदा बादी समुदायले समस्या झेल्दै आएका छन्।

छाप्रोका घरमा बादी समुदाय

बषौँदेखि जग्गाजमिन र खास थातथलो नभएका कालिकोटका बादी समुदायलाई बर्षातको पानीले हैरान बनाएको छ। खाँडाचक्र नगरपालिकामा छाप्रोका घरमा बस्दै आएकी गंगा बादी अहिले पनि जग्गाजमिन बिनै बस्न बाध्य छन्।  

बादी समुदाय कालिकोट बस्न थालेको २१ वर्ष बितिसकेको छ। अहिल सम्म सरकारले जग्गाजमिनको व्यवस्थापन नगर्दा यो समुदायले धेरै समस्या खेप्नु परेको छ।

राष्ट्रिय भूमि आयोग कालिकोटमा  निवेदन दिँदापनि अहिले सम्म सुनवाई नभएको उनीहरुको गुनासो छ। राष्ट्रिय भूमि आयोग कालिकोेटले भूमिहीन र अव्यवस्थित बसोबासीलाई भूमि प्राप्तिका लागि अहिले सम्म कुनै काम गरेको छैन।  

राष्ट्रिय भूमि आयोग कालिकोटका अध्यक्ष चित्रसिंह गाउँलेले कुनै पनि नयाँ कामको थालनी नगरेको बताए। यता खाँडाचक्र नगरपालिकाले पनि उनीहरुको व्यवस्थाको लागि चासो दिएको छैन।

शिक्षा बाट बन्चित

बादी समुदायका किशोर,किशोरी अहिले पनि शिक्षाको पंहुँचबाट बन्चित छन्। बिहान बेलुकाको छाक टार्नको लागि घरमा काम गनुपर्ने बाध्यताले स्कुल नगएको १४ बर्षीया रेष्मा बादीले बताइन्। उस्तै बादी समुदायकी १३ बर्षीया गिता बादी पनि स्कुलमा पढन् नगएर घरकै काम  व्यस्त छिन्। उनी भन्छिन् कापी,कलम,झोला किन्ने पैसा छैन,स्कुल जाने ड्रेस किन्ने पैसा छैन,कसरी जानु स्कुल ?बादी समुदायकी  गंगा बादीले घरमा काम गनुपर्ने बाध्यताले बालबालिकाले स्कुल देख्न नपाएको स्विकार गरिन्। अहिले पनि यस समुदायका पुरुषहरुले मदिरा पिएर घरमा आएर श्रीमतीलाई पिट्ने गरेको र यो समुदायका पुरुषहरुलाई व्यवाहारिक शिक्षा दिनुपर्ने उनीहरुको माग छ।

प्रकाशित: १३ आश्विन २०७९ ०५:२६ बिहीबार

बादी समुदाय