२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कर्मचारी अभावको कारण देखाउँदै आठराइ त्रिबेणीद्वारा काजमा खटिएका कर्मचारी फिर्ताको माग

ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाले कामकाज गर्न अन्यत्र स्थानीय तहमा खटिएका ९ जना कर्मचारीको काजफिर्ता गरी आफ्नै पालिकामा खटाइदिने व्यवस्थाका लागि संघीय सरकारसँग माग गरेको छ।

पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सम्बोधन गरी लेखेको पत्रमा कर्मचारी अभावका कारण दैनिक सेवा प्रवाह गर्न कठिनाइ भएको भन्दै यसअघि मन्त्रालयको पत्रमार्फत विभिन्न स्थानीय तहमा खटाइका कर्मचारीलाई काजफिर्ता गर्न माग गरिएको छ।

पालिकाका कर्मचारी काजमा खटाइएका कारण कर्मचारी अभाव भइ दैनिक सेवा प्रवाह गर्न कठिनाइ भएको भन्दै गाउँ कार्यपालिकाको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रमार्फत काजमा खटिएका कर्मचारीलाई फिर्ता बोलाउने कार्यमा संघीय सरकारको ध्यानाकृष्ट गर्ने निर्णय गरेको थियो।

गाउँपालिकाका अनुसार शिक्षा अधिकृत सीतादेवी लावती इलामको माई नगरपालिका, प्रशासनको पाँचौ तहका सागर आचार्य झापाको अर्जुनधारा नगरपालिका, सोही तहका सिभिल इञ्जिनियर दिनेश भट्टराई काठमाडौँ महानगरपालिका, पाँचौं तहकै शिक्षा प्राविधिक गीतादेवी घिमिरे झापाको हल्दिवारी गाउँपालिका र प्रशासन पाचौं तहकी प्रभा राई सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका काज सरुवा भएका छन्।

यस्तै प्रशासन पाँचौं तहकै बिनिषा बाँस्कोटा झापाको शिवसताक्षी नगरपालिका, प्रशासन चौथो तहका इन्द्र बजगाँई झापाकै कन्काई नगरपालिका, चौथो तहका सिभिल इञ्जिनियर रत्नराज बुमी सोरु गाउँपालिका र रमेशबहादुर बोहरा छबिसपाथीभेरा गाउँपालिका काज सरुवा भएका छन्।

प्रकाशित: ८ आश्विन २०७९ ०९:१३ शनिबार

ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय