७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

उपत्यकाका सम्पदाको एकसाथ पुनर्निर्माण आरम्भ

काठमाडौं-महाभूकम्पमा क्षतिग्रस्त काठमाडौं उपत्यकाका विश्व सम्पदा क्षेत्रका ४ स्मारकको पुनर्निर्माण एकसाथ आरम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न राजनीतिक दलका नेताले सोमबार एकै समय आरम्भ गरेका हुन् ।प्रधानमन्त्री ओलीले स्वयम्भूस्थित अनन्तपुर मन्दिरको पुनर्निर्माण आरम्भ गरे । प्रधानमन्त्री ओलीले एक वर्ष अघिको महाभूकम्पमा क्षतिग्रस्त मन्दिरको पुनर्निर्माण सुरुवात गरेका हुन् ।

सोमबार बिहान ९ बजे उनले मन्दिरको पुनर्निर्माण आरम्भ गर्दा हनुमानढोका दरबार क्षेत्रको वंशगोपाल मन्दिरको पनि पुनर्निर्माण आरम्भ गरिएको थियो । हनुमानढोकामा भने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पुनर्निर्माण आरम्भ गरेका थिए भने त्यही समयमा नै ललितपुर, पाटनस्थित मणिमण्डप पाटीको पुनर्निर्माण एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सुभारम्भ गरेका थिए । सरकारको तयारीअनुसार भक्तपुरमा भने फसिदेग मन्दिर (सिलु महादेव) र लायकु दरबारको प्रवेशद्वार पुनर्निर्माणको सुरुवात नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें र संस्कृतिमन्त्री आनन्दराज पोखरेलले संयुक्त रुपमा गरे ।

प्रधानमन्त्री ओलीले स्वयम्भूमा पुनर्निर्माण अभियानलाई तीव्रता दिन आग्रह गरे । 'सर्वसाधारण अप्ठ्यारो र असुविधामा रहेकाले तीव्र गतिमा पुनर्निर्माण गर्न मैले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु,' उनले भने ।

पुरातत्व विभागले चालू आवमा १ सय ४ वटा स्मारक पुनर्निर्माण गर्न स्वीकृति पाएकोमा ४९ वटा मठ÷मन्दिर पुनर्निर्माणका लागि टेन्डर भैसकेको जनाएको छ । त्यस्तै आगामी वर्ष सय सम्पदा पुनर्निर्माण गर्ने योजना विभागको छ । 'सोमबार आरम्भ भएका स्मारकको पुनर्निर्माण छिट्टै हुनेछ,' विभागका महानिर्देशक भेषनारायण दाहालले भने, 'अन्यको पनि अब द्रुत रुपमा पुनर्निर्माण हुन्छ ।'

महानिर्देशक दाहालका अनुसार सोमबार आरम्भ गरिएको लायकु दरबारको प्रवेशद्वार भक्तपुर नगरपालिकाले र ललितपुरको मणिमण्डप पाटी काठमाडौं उपत्यका संरक्षण कोष (केभिपिटी) ले निर्माण स्वीकृती पाएका छन् । सबै सम्पदा दुईदेखि तीन वर्षभित्र निर्माण भइसक्ने पनि विभागले जनाएको छ । 'निर्माण कम्पनीसँग ठेक्का सम्झौता हुन मात्र बाँकी छ,' उनले भने, 'सरकारले बहुवर्षिय योजनाअन्तर्गत पुनर्निर्माण थालेको छ ।'

विभागका अनुसार फसिदेग पुनर्निर्माणमा ३ करोड २ लाख रुपैयाँ, वंशगोपाल मन्दिरमा २ करोड ५४ लाख रुपैयाँ भ्याटबाहेक लाग्ने अनुमान छ । विभागले चालू आवमा २८ करोड रुपैयाँ सम्पदा पुनर्निर्माणका लागि निकासा गरेको छ ।

मन्दिर पुनर्निर्माणमा आवश्यक काठ सरकारले नै दिने पनि महानिर्देशक दाहालले जानकारी दिए । 'आवश्यक काठ उपलब्ध गराउन हामीले वन मन्त्रालयसँग आग्रह गरेका छौं,' उनले भने, 'निर्माणकर्ताले सरकारी काठ नै प्रयोग गर्न पाउँछन् ।'

विभागको प्रारम्भिक अध्ययन अनुसार महाभूकम्प प्रभावित जिल्लाका ६० भन्दा बढी पुरातात्विक सम्पदा ध्वस्त भएका छन् । भूकम्पले काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेलगायत जिल्लामा ऐतिहासिक र सांस्कृतिक सम्पदा ध्वस्त भएका थिए । २ सय ५० भन्दा बढी स्मारकमा आंशिक क्षति भएको थियो । जिल्लागत रुपमा काठमाडौंमा सबैभन्दा बढी, त्यसपछि ललितपुर, भक्तपुर र काभ्रेमा धेरै सम्पदा क्षतिग्रस्त भएका थिए ।

प्रकाशित: १३ वैशाख २०७३ २०:२५ सोमबार