६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

सार्वजनिक बिदा दिएपछि खुशी हुँदै मनाए चेपाङ समुदायले छोनाम

सिमान्तकृति अल्पसंख्यक चेपाङ समुदायले छोनाम (न्वाङगी) पर्व मनाएका छन्। आज चितवनको भपतरपुरमा चितवन, मकवानपुर, धादिङ लगायतका जिल्लाका चेपाङहरु भेला भएर न्वाङगी मनाएका हुन्।

भदौ महिनालाई चेपाङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन्। तर, नेपाल चेपाङ संघले सात वर्षदेखि भदौ २२ गतेलाई नियमित रुपमा मनाउँदै छ। यस वर्ष वाग्मती प्रदेश सरकारले सार्वजनिक चार जिल्लामा सार्वजनिक बिदा दिएकामा उनीहरु खुशी समेत भएका छन्।

यसअघि राष्ट्रिय पर्वका रुपमा मनाउनका लागि उनिहरुले सरकारलाई पटक पटक दबाव दिएका थिए। २०५४ सालदेखि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई २२ बुँदे ज्ञापन पत्रसमेत बुझाएका थिए। तर, प्रत्येक सरकारले व्यवास्था गरेको नेपाल चेपाङ संघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताए।

यो वर्ष फलेका नयाँ अन्न, फलफूलहरु पितृ तथा देवीदेवतालाई चढाएर मात्रै खाने प्रचलन रहेको छ। नेपाल चेपाङ संघले आयोजना गरेको कार्यक्रममा न्वाङगी पर्वमा फलाक्ने विधि र पर्व मनाउनेबारे चर्चा भएको थियो। समूह वा व्यक्तिगत रुपमा चेपाङहरुले भदौ पूर्णिमा आसपासमा न्वाङगी मनाउने गर्छन्।

पान्दे (पुरोहित) लाई बोलाएर राती फलाक्ने (झाँक्रि बस्ने) गरेपछि भोलिपल्ट भोजभतेर गरेर रमाइलो गर्ने प्रचलन छ। गोविन्दराम चेपाङले पान्देबाट आर्शिवाद लिने र नयाँ अन्न तथा फलफूलहरु चढाएर रमाइलो गरिने बताए। अहिले चेपाङ समुदायको भाषा संस्कृती लोप हुँदै गएकोमा प्रचारप्रसारका रुपमा नेपाल चेपाङसंघले यस पर्व मनाउन लागेको उनले बताए।

घैया धान, मकै, कोदो, पीडालु, कन्दमुल, घिरौला, फर्सि, निमुवा, वामरी लगायतका अन्न तथा फलफुलहरु जम्मा पारेर पान्देले ड्याङग्रो बजाउँदै पूजा गर्ने गर्छन्। कालिका–८ भोर्लेघारीका रामजीमाया चेपाङले ७ वर्ष यता पुरोहितको काम गर्दै आएको बताइन्।

उनका अनुसार दाजुभाई, आफन्तीहरु मिलेर न्वाङगी फलाक्ने र समूहगत रुपमै पर्व मनाउने प्रचलन रहेको छन्। ८ वर्षदेखि पुरोहितको काम गर्दै आएका भोर्लेघारीकै मानबहादुर चेपाङले नयाँ अन्न तथा फलफूलहरु नचढाई खान नहुने मान्यता रहेको बताए।

राप्ती–१० कोराकाका मिलन चेपाङले युवा पुस्ताहरु समेत चेपाङ संस्कृति जगेर्ना गर्न सक्रिय बन्नुपर्ने बताए। बागमती प्रदेश सरकारले न्वाङगी पर्वको अवसर पारेर आज (बुधबार) चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा दिएको थियो।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले चेपाङ समुदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन्। न्वाङगी पर्वको अवसरमा भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले चेपाङ समुदायमा शिक्षा, सीप विकास गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए।

नेपालमा चेपाङ समुदाय ७० हजारको हाराकारीमा छन्। त्यसमध्ये चितवनमा सबैभन्दा धेरै ३० हजार रहेका छन्। त्यस्तै मकवानपुरमा २६ हजार, धादिङमा २० हजार, र गोर्खामा १५ हजारको हाराहारीमा रहेको चेपाङ समुदाय रहेका छन्। अहिले भाषा संस्कृती लोप हुँदै गएकामा चेपाङ समुदाय चिन्ति छन्।

नेपालमा भएका चेपाङ मध्ये ८५ प्रतिशत धर्म परिर्वतन गरी क्रिश्चियन धर्ममा लागेको संविधान सभा सदस्य समेत रहेका गोविन्द राम चेपाङले बताए। उनले चेपाङ भाषा बोलिँदै आएको भएपनि लिपि नभएको उनले बताए। उनका अनुसार, चेपाङका ६४ वटा थर रहेका छन्।

प्रकाशित: २२ भाद्र २०७९ १२:५३ बुधबार

चेपाङ समुदाय नेपाल चेपाङ संघ सिमान्तकृति अल्पसंख्यक चेपाङ समुदायले छोनाम (न्वाङगी) पर्व