१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

चक्काजाम गर्न खोज्ने ८० गाडीका चाबी खोसिए, १३ जना पक्राउ

पोखरा–नयाँ बसलाई रुट इजाजत दिएको विरोधमा चक्काजाम गर्न निकालिएका पुराना गाडीको चाबी प्रहरीले खोसिदिएको छ। बिहीबार पोखराभर चक्काजाम गर्न निस्किएका गाडीका १३ जना चालक पनि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी हरिबहादुर पालले जानकारी दिए।पोखरा बस व्यवसायीले एकछत्र राज गर्दै आएको नगर क्षेत्रको सार्वजनिक यातायातमा विन्ध्यवासिनी बस व्यवसायी समिति प्रतिस्पर्धामा आएपछि पुरानाहरु आन्दोलित छन्। बुधबार आफ्ना गाडीको सेवामात्रै रोकेका पुरानाहरुले बिहीबार पूरै चक्काजाम घोषणा गरेका थिए। तर प्रहरीले चक्काजाम गर्न चोकचोकमा तेसार्न ल्याएन खोजिएका गाडी सडक किनारमा लगाएर चाबी खोसिदिएको हो। त्यसपछि बिहीबार पोखरामा निजी यातायातका साधन निर्वाध गुडेका छन्।

जिल्लामा प्रहरी जनशक्ति थप्न लगाएरै भए पनि चक्काजाम गर्न खोज्नेहरुलाई रोकिएको निमित्त प्रहरी नायब महानिरीक्षक (डिआइजी) महेन्द्र पोखरेलले जानकारी दिए। उनका अनुसार अटेर गरी चक्काजाम गर्न तम्सिएकाहरु पक्राउ परेका हुन्।

यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयको निर्देशानुसार यातायात व्यवस्था कार्यालय गण्डकीले विन्ध्यवासिनीलाई माघ १८ गते रुट इजाजत दिएको थियो। त्यसलगत्तै माघ २२ गतेबाट सडक ओर्लिएका नयाँ बसलाई पुराना व्यवसायीले बाटो छेकेर अवरोध गरेका थिए। फागुन ४ गते फेरि सेवा सुरु गर्न खोज्दा पुराना व्यवसायीले विन्ध्यवासिनीका ३ बस तोडफोडै गरे। त्यसै क्रममा पक्राउ परेका पोखरा बस व्यवसायी समितिका कोषाध्यक्ष पवित्रमणि अधिकारी र देवीप्रसाद कुइँकेल सहसचिव पक्राउ परेका छन्। उनीहरुलाई सरकारी वकिलमार्फत कास्की प्रहरीले सार्वजनिक अपराधसम्बन्धी मुद्दा चलाइसकेको एसपी पालले जानकारी दिए।

पुराना व्यवसायीले भने उनीहरुको रिहाइ गर्नैपर्ने भन्दै बिहीबारका लागि चक्काजाम घोषणा गरेका थिए। सार्वजनिक र निजी यातायात दुवै नचल्दा सर्वसाधारणलाई अति मर्का पर्ने देखेपछि चक्काजाम गर्न खोज्नेहरुको गाडी प्रहरीले सडकमा निस्कनै नदिएको हो। गाडी थन्किएपछि पनि चोकचोकमा बाटो छेक्न भेला भएका मजदुर र व्यवसायीलाई पनि प्रहरीले ठूलो बल प्रयोग नगरिकनै तितरबितर पारिदिएको थियो।

पुराना व्यवसायी पोखरामा थप बस आवश्यक नभएको भन्दा नयाँलाई कुनै हालतमा चल्न नदिने बताएका छन्। आफूबाहेक अरु बस भित्रन नदिने उनीहरुको सिन्डिकेट चरित्रलाई प्रशासनलेसमेत सघाएको आरोप सर्वसाधारणले लगाएका छन्। २०६९ सालमा जिल्ला प्रशासन कार्यालयमा संस्थाको रुपमा विन्ध्यवासिनी दर्ता भएको थियो। त्यस समयदेखि नै पुराना व्यवसायीले उक्त संस्थाको विरोध गर्दै आएका हुन्। जिल्ला प्रशासन कार्यालय कास्कीमा बस व्यवसायी, राजनीतिक दलका, नागरिक समाजका प्रतिनिधि लगायतको सहभागितामा सर्वपक्षीय भेला बिहीबार दिउसो जारी छ।

प्रकाशित: ६ फाल्गुन २०७२ ०४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App