९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

उपत्यकाको फोहाेर भोलिदेखि पुनःव्यवस्थापन हुने

फाइल तस्बिर

एक हप्तादेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहाेर  भोलि (बिहीबार)देखि पुनःव्यवस्थापन हुने भएको छ।  

सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ता उपत्यकाको फोहाेर  उठ्न सकेको थिएन। बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोहाेर  व्यवस्थापनको काम रोकिएको थियो।  

बाटो मर्मतको काम सकिएकाले बिहीबार बिहान ६ बजेदेखि साविकबमोजिम नै फोहाेर  व्यवस्थापन हुने कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालद्वारा जारी सूचनामा भनिएको छ।  

कामपाले यही साउन ४ गते सूचना सार्वजनिक गर्दै एक हप्तासम्म आआफ्नो घर, पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहाेरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको थियो।  

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। यसमध्ये सबैभन्दा बढी कामपामा ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहाेरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको छ।  

यसैबीच कामपाले उपत्यकाको कुहिने फोहाेर यहीँ नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको कामलाई तीव्रता दिएको छ। यसका लागि उपत्यकाका विभिन्न स्थान र उपत्यका बाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र साहकै अग्रसरतामा कुहिने फोहाेर व्यवस्थापनका लागि जग्गा खोज्ने काम भइरहेको छ।  

कामपाले फोहरको प्रभावकारी व्यवस्थापनका लागि यही साउन १ गतेदेखि ३२ वटै वडाबाट कुहिने र नकुहिने फोहाेर फरक किसिमले नै व्यवस्थापनको कार्य सुरु गरिसकेको छ। 

प्रकाशित: ११ श्रावण २०७९ ०९:३२ बुधबार

काठमाडौं उपत्यका सिसडोलबाट बञ्चरेडाँडा