११ माघ २०८१ शुक्रबार
image/svg+xml
समाज

'अचम्मै भो ! यसपल्ट त ढाँटेनन'

इलाम– २०६२/०६३ को जनआन्दोलनपछि आफूद्वारा प्रेषित संविधान सम्बन्धी समाचारबाट 'धेरैपल्ट स्रोता तथा पाठक झुक्किएको' कमला थापाले महसुस गरेकी छन्। तर, त्यो 'झुक्याई' आफ्ना कारण नभई नेताको 'ढँटुवारे बानी'का कारण थियो।स्थानीय र राष्ट्रिय सञ्चारमाध्यमकी संवाददाता उनले इलामलाई कार्यथलो बनाई समाचार पठाउँदा 'यो महिना संविधान आइसक्ने', 'उ महिना संविधान जारी हुने' मात्रै होइन 'फलानो गते संविधान सार्वजनिक हुने' र 'फलानो बार संविधान घोषणा हुने' भन्दै दर्जनौंपल्ट समाचार प्रेषित गरिन् । बिडम्वना, नेताले भने झैं कहिल्यै ती मितिमा सहमति भएन र संविधान बनेन।

'अचम्मै भो ! यसपल्ट त ढाँटेनन्' बर्षौंदेखि संविधानको रडाको सुन्दै आएकी उनै थापाले आइतबार भनिन्, 'आखिर चाहँदा त के असम्भव रहेछ र ! नेताले संविधान त बनाएरै छोडे ।' ४ मंसिर २०७० को दोस्रो संविधानसभा निर्वाचनपछि जिल्ला आएका दर्जनौं नेताले 'संविधान आइहाल्छ' भन्दै तोकेका मिति त्यतिकै खेर जाँदा आजित थिइन्। नहोउन् किन! ०६४ को पहिलो निर्वाचनपछि पनि जिल्ला दौडाहामा निस्कने नेताले उसैगरी बाचा गर्थे तर संविधान बन्थेन। 'तर, यसपल्ट बोलेको कुरा पूरा गरे,' थापाले सुनाइन्, 'नयाँ संविधानले अस्थिरता अन्त्य गर्दै मुलुकलाई विकास र संवृद्धिको दिशातर्फ लैजाओस् भन्नेछ।'

आफूद्वारा प्रेषित समाचारमा दाबी गरिए झैं भनेको मितिमा संविधान घोषणा नहुँदा कतिपय स्रोता तथा पाठकले 'तिमेरु हावा पत्रकार' भनेर गिज्याएको ख्याम भुजेलले बिर्सेका छैनन्। इलाममै कार्यरत उनले नेताको भाषणमा विश्वास गरेर समाचार पठाउँदा आफैं जिल्लिनुपरेको मात्र अनुभव गरेका छैनन्, त्यस्ता समाचार लेख्दा मनमनै 'योपल्ट नि गफै त होला' भन्ने आंकलन गर्ने गरेको सुनाए। 'सहमति भइगो, संविधान आइहाल्छ भन्दै मिति तोकेर भाषण ठोक्थे, त्यही लेखेर पठायो, भोलिपल्ट पाठकले जिस्क्याएर हैरान,' भुजेल भन्छन्, 'धन्न यसपल्ट त्यस्तो भएन, भनेकै दिन संविधान आयो र ढिलै भए नि नेता इमान्दार देखिए ।'

संविधानै नबनाई पहिलो संविधानसभा विघटन भएपछि दुःखी सञ्चारकर्मी दोस्रो संविधानसभा निर्वाचनताका हौसिएका थिए । 'पहिले जे भो भो, अब त पक्कै संविधान बन्छ, नेताले नि चेते होला' भन्नेमा विश्वस्त उनीहरु निर्वाचनपछि जिल्ला आउने नेताको भाषणलाई उसैगरी रिपोर्टिङ गर्न थाले । 'यो महिनाको यति गते संविधान आउने' नेताले यसरी तोक्ने मिति पत्याएर उसैगरी समाचार सम्प्रेषण गर्दा दोस्रो निर्वाचनको धेरै महिना बित्दासमेत पार लागेन । त्यसपछि नेताले मिति तोकेका समाचार डेस्कबाट मिल्काउने स्थिति आयो। केही महिनायता जिल्लाबाट प्रेषित त्यस्ता समाचारको शीर्षकमा मिति तोकिन छोड्यो।

'आठ बर्षमा सयौंपल्ट स्रोता, दर्शक र पाठक झुक्याइए तर त्यो सञ्चारकर्मीका कारण नभई नेताको सतही अभिव्यक्तिका कारण थियो,' इलामकै अर्का सञ्चारकर्मी गणेश घिमिरे भन्छन्, 'एउटै नेताले महिनैपिच्छे संविधान घोषणा हुने मिति फेरेका समाचार सम्प्रेषण गर्दा दिक्क लाग्थ्यो।' पूर्वप्रधानमन्त्री झलनाथ खनाल, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, का"ग्रेस पूर्वमहामन्त्री कुलबहादुर गुरुङको गृहजिल्ला भएकाले उनीहरुकै भाषणमा आधारित भएर समाचार लेख्दा धेरैपल्ट बाचा पुरा नभएको उनको अनुभव छ। घिमिरे भन्छन्, 'तोकेको मितिमा संविधान बन्दैन भन्ने जान्या भए नेताहरुले नढाँट्दै राम्रो हुन्थ्यो ।'

नेताले ठोकुवा गरेअनुसार समयमै संविधान नबन्दा कतिपय स्रोता समाचारप्रति नै दिक्क बनेको र जहिल्यै ढाँट्छ भन्दै भाषण सुन्न छोडेको रेडियोकर्मी कौशिला राईको अनुभव छ। नयाँ संविधान घोषणा हुनुलाई उनले 'आशाको दियो' मान्दै 'नयाँ नेपाल'को शुभारम्भ भएको ठानेकी छन् । 'दशक लामो सशस्त्र द्वन्द्वको सास्ती भोगेको मुलुकलाई दोस्रो जनआन्दोलनले उर्जा दिएको थियो, तर आठ बर्षसम्म संविधान नबन्दा जनसाधारण दिक्क थिए,' रेडियोकर्मी कौशिला राईले भनिन्, 'ढिलै भए पनि संविधान बन्यो, अब असन्तुष्ट पक्षलाई खुशी पार्दै देशलाई विकास र संवृद्धिको बाटोमा हिँडाउनुपर्छ ।'

बल्ल बल्ल जारी भएको संविधानमा 'पूर्ण प्रेस स्वतन्त्रता' सुनिश्चित नगरिएकोप्रति भने सञ्चारकर्मी बेखुशी छन् । अन्तरिम संविधानमा त्यस्तो व्यवस्था भए पनि आइतवार जारी नया" संविधानमा 'प्रेस स्वतन्त्रता' मात्रै लेखिएको र 'प्रतिवन्धात्मक व्यवस्था' गरिएकोमा उनीहरु रुष्ट भएका हुन् । 'अन्तरिम संविधान सञ्चारकर्मी जति उदार थियो नयाँ संविधान त्यसविपरीत हाम्रा लागि प्रतिगामी देखियो,' सञ्चारकर्मी राम योङहाङले भने, 'यसले सञ्चारकर्मीको अधिकार कुण्ठित भएको छ, संशोधन गरेर नयाँ व्यवस्था लागू गर्नुपर्छ ।' प्रेस बलियो नभए लोकतन्त्र बलियो नहुने भन्दै उनले 'पूर्ण प्रेस स्वतन्त्रता' सुनिश्चित हुनुपर्ने दोहो¥याए ।

प्रकाशित: ४ आश्विन २०७२ ०४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App