११ माघ २०८१ शुक्रबार
image/svg+xml
समाज

जब एकैपल्ट तीन एम्बुलेन्स हुईंकिए...

इलाम-लिम्बुवान बन्दले सन्नाटा छाइरहेका बेला शुक्रवार अपरान्ह ३ बजे इलाम बजारबाट तीन एम्बुलेन्स एकसाथ साइरन बजाउँदै हुईंकिए। मे १ च ३२१०, मे १ झ १२८ र मे १ च २८४८ नम्बरका एम्बुलेन्स निलो बत्ती बालेर हुइकिँदा कान ठाडा र आँखा तेजिला पार्दै सडकतिर हेर्नेको हूल देखियो।सदरमुकामस्थित इलाम अस्पताल परिसरबाट निस्किएका एम्बुलेन्स मेची राजमार्ग हुँदै झापातर्फ बत्तिँदा खुल्दुलीपूर्वक ननियाल्ने कोही भएनन्।

दुई दिने बन्दले सवारी साधन चल्न ठप्प प्राय : भएको राजमार्गमा एकसाथ तीन एम्बुलेन्स हुईकिँदा 'कतै अनिष्ट भएको' लख काट्दै हेर्नेहरु बढ्दै जाँदा त्यहाँ भित्र बिरामी भने छटपटिएको छटपटियै थिए। अनिष्ट त अनिष्टै भएको थियो तर त्यो सवारी दुर्घटना वा राजनीतिक झडपले निम्तिएको अनिष्ट थिएन। विषालु च्याउ खाँदा सिकिस्त भएका एकै परिवारका चार र बँदेल आक्रमणले थलिएका एकलाई झापा रेफर गरिँदै थियो।

'बन्दका बेला यसरी एकसाथ तीनटा एम्बुलेन्स बत्तिँदा ठुलै दुर्घटना भएको ठानेको थिएँ' अस्पताल लाइनमा पसल गर्ने व्यापारी सुधिर थपलियाले भने, 'नभन्दै एकै परिवारका चारको बोली बन्द हुनु र अर्का वृद्धको शरीरभरी बँदेल आक्रमणको चोट हुनु डरलाग्दो कुरा हो।' च्याउ खाँदा सिकिस्त भएका र बँदेल आक्रमणमा परेकालाई इलाम अस्पतालमा आइसियु नभएकाले प्राथमिक उपचारपछि र चिकित्सकको सिफारिसमा रेफर गरिएको हो।

खानासँग खाएको च्याउ विषाक्त पर्दा इलामको शान्तिडाँडा–६ स्थित झुत्रे खोला नजिकै बस्ने ५० बर्षीय काजीमान राई, उनकी श्रीमति ५३ बर्षीया फूलमाया राई, छोरा १८ बर्षीय सन्दीप राई र छोरी १३ बर्षीया सञ्जिता राई सिकिस्त भएका हुन्। अचेत अवस्थाका उनीहरुलाई लिएर अस्पताल आएका आफन्तले बताएअनुसार सुरुमा वाकवाकी गर्न खोज्दै पेट दुख्यो भनेका उनीहरु बिस्तारै बोल्नै छोडेर छटपटिएपछि सदरमुकाम ल्याइएको हो।

शुक्रवार बिहान खानासँग खाएको 'गोबरे च्याउ' विषाक्त पर्दा पेट दुखेर छटपटिएका उनीहरुको स्थानीय स्वास्थ्य चौकी र इलाम अस्पतालमा उपचार हुन नसकेपछि झापातर्फ रेफर गरिएको हो। गाउँलेले 'खान हुने' मान्दै आएको गोबरे च्याउले उनीहरु अन्तिम हुँदा अस्पतालमा हेर्नेको घुईंचो लागेको थियो। कतिपयले 'विषालु सर्पले छोएको च्याउ खाँदा यस्तो भएको' भन्दै बिरामीलाई सान्तवनापूर्वक नियाल्दै एम्बुलेन्समा चढाएका थिए।

'सुरुमा आमा बुवालाई साह्रो पारेछ, अनि छोराछोरीलाई' बिरामी लिएर आएका हर्कबहादुर राईले सुनाए, 'पुरानो गोबरमा पलाउने च्याउ खाँदा यस्तो होला भन्ने सोचेको थिएन।' बिहानै बटुलेको च्याउले बुवा आमालाई सिकिस्त पार्दै लान थालेपछि छोरा सन्दीपले नै 'हामीलाई नि गाह्रो हुँदैछ, एम्बुलेन्स बोलाइदिनु' भनेको र उपचारमा ल्याएको उनले बताए। च्याउले थलिएका काजीमान बैंकमा कार्यरत छन्। सञ्जिता विद्यार्थी हुन्।

उता, लिम्बु समुदायले 'किपट' मान्दै आएको जमुना–१ स्थित पिप्लेको घना जंगल नजिकै घर भएका ६२ बर्षीय घनश्याम थेवे बँदेलको आक्रमणले शुक्रवार सबेरै घाइते भएका हुन्। जंगली बँदेलले बालीनाली खाएर चौपट पारेपछि अरुबेला जस्तै बारीमा पासो थापेका थेवे बिहान ६ बजे नै त्यो पासो हेर्न जाँदा बँदेल अड्किइरहेको देखेका र नियन्त्रणमा लिन खोज्दा उसैको आक्रमणमा परी सख्त घाइते भएको छोरा रत्न थेवेले बताए।

'मकै खान आउने बँदेललाई पासोमा परेको भेटेपछि नियन्त्रणमा लिन खोज्दा आक्रमण गरेछ' रत्नले सुनाए, 'दाहिने हातका औंला चुँडिएका छन्, कम्मरको मासु लुछिएको छ र दाहिने घुँडामा चोट छ।' बँदेलले इलामका लेकाली गाउँमा यसअघि पनि गाउँलेको बारी पसेर बालीनाली खानुका अतिरिक्त कतिपयलाई आक्रमण गर्दै आएको छ। बन्दका बेला भएका यी घटनाले पीडित परिवारलाई विरामीको उपचारमा चौतर्फी समस्या परेको छ।

प्रकाशित: २५ भाद्र २०७२ ०४:२२ शुक्रबार