बाँकेमा एक युवायुवतीबीच भएको अन्तरजातीय प्रेम विवाहलाई बेपत्ता आरोप लगाएर रोक्न खोजिएको प्रयास असफल भएको छ। जाहेरवालाले छोरीलाई बेपत्ता पारेको भनी जाहेरी दिएकोमा पीडित स्वयम् उपस्थित भई आफूहरु प्रेम विवाह गरी भागेको भनी कागज गरेको र निज उमेर पुगेको देखिएको अवस्थामा प्रतिवादी अमनसिंह नेपालीलाई मुद्दाको अनुसन्धानको निमित्त हिरासतमा राखिरहन पर्ने अवस्था नदेखिँदा पत्रबमोजिम म्याद थप अनुमति दिन नमिल्ने अदालतले भनेपछि उक्त प्रयास असफल भएको हो।
जिल्ला अदालत बाँकेले तसर्थ प्रतिवादीलाई हाजिर जमानीमा छाडी मुद्दाको थप अनुन्धान गर्नुपर्ने भए गरी कानुनबमोजिम गर्नू भनेको छ। अन्तरजातीय प्रेम विवाह भएपछि केटी पक्षका परिवारले केटाविरुद्ध बेपत्ता मुद्दा दर्ता गराएका थिए। नेपालगन्ज–१५ पिप्रहवाका अमन सिंह नेपाली र सोही गाउँकी अञ्जली शर्माबीच अन्तरजातीय प्रेम विवाह भएपछि अञ्जलीका परिवारले बेपत्ता मुद्दा दर्ता गराएका थिए। सानैमा पिता गुमाएका अमनलाई दाईले भारतको कानपुरमा पढाए। तीन वर्षअघि कानपुरबाट बिए पास गरेर आएका अमन नेपालगन्जस्थित एक सहकारी संस्थामा असिस्टेन्ट लोन म्यानेजरको रुपमा काम गरिहेका छन्।
अञ्जलीले दुई वर्षअघि नै एसईई पास गरिसकेकी छिन्। तर उनले प्रेम गरेकै कारण त्यसभन्दा माथिको पढाइ गर्न पाएकी छैनन्। बिए पास गरेर आएपछि अमनले अञ्जलीलाई प्रेम प्रस्ताव गरे। उनी भन्छन्, ‘उहाँको बानी सबभन्दा राम्रो। उहाँ अरुजस्तो छैन। घुम्न जाने, यो लुगा लगाउनै पर्ने, यस्तो छैन। उहाँलाई मैले हेरे कि घरको काम अनि सबैसँग मिलेर बस्ने। गाउँमा उहाँको बारेमा सोध्नु न, सप्पैले तारिफ गर्छन्।’ अञ्जली अगाडि भन्छिन्, ‘म पनि एज ए फ्राइन्ड मन पराउथँे। पछि अलिअलि गर्दागर्दै प्रेम गर्न थालियो।’
अहिले उनीहरुबीचको प्रेम कति गहिरो छ भन्ने जान्न उनीहरुको शाब्दिक स्पष्टीकरणभन्दा उनीहरुले तीन वर्षमा झेलेको तनावको नालीबेलीले नै पुष्टि गर्छ।
अञ्जली र अमनको परिवारबीच त्यसअघि भेदभावको कुनै महसुस थिएन। खानादेखि पानी सबै चल्थ्यो। एकअर्काले छिमेकीका रुपमा गर्ने व्यवहारमा कुनै फरक थिएन। तर जब श्वेता (अञ्जली) र अमनको प्रेम भएको कुरा अञ्जलीको परिवारले थाहा पायो, त्यसपछि सुरु भयो जातको नाममा रडाको। त्यसपछि अञ्जलीलाई आफ्नै परिवारले भारतमा लगेर छुपाउनेदेखि अमनलाई अनेक झुटा मुद्दामा फसाउनेसम्मका प्रपञ्च भए। प्रेम गरेको सजायस्वरुप उनीहरुलाई दुईपटक गरी करिब नौ महिना सम्पर्कविच्छेद गराइयो। अमनले दुईपटक गरी करिब २४ दिन हिरासतमा बिताउनुपर्यो।
‘ममीबुवाले त जात नहेरे पनि हजुरआमा हुनुहुन्छ। उहाँका रिलेशनहरु छन्। जसले तिमीहरुको छोरी यस्तोसँग लागी, उस्तोसँग लागी, अब तिमीहरुसँग नाता तोडिदिन्छौँ। अनेक भने होलान्। त्यसपछि हामीलाई छुटाउन उहाँहरुले सकेको प्रयास गर्नुभयो,’ अञ्जली भन्छिन्। तर, अञ्जली र अमनको प्रेम जति छुटाउन खोजियो त्यति बलियो हुँदै गयो। उनी भन्छिन्, ‘यो त यस्तो फिलिङ हो, जो एकचोटी भइसक्यो त कसरी हटाउने? जति टाढा गराउन खोजियो त्यति नजिक हुँदै गयौ।’ अञ्जलीलाई फकाउन उनको परिवारले अनेक मानसिक र शारीरिक हतकण्डाहरु अपनायो। उनले प्रहरीलाई आफ्नो ज्यानको सुरक्षा पाउँ भनेर उजुरी गर्दा पनि प्रहरीले उनको कुरा सुनेन। उनी भन्छिन्, ‘ज्यानको सुरक्षा पाउँ भनेर उजुरी गर्दा पुलिसले पनि तिमी रातभरि केटासँग कुरा गर्छौं भने तिम्रो आमाबुवाले पिट्ने नै भो, उल्टै मैमाथि गल्ती। मेरा आँशु, मेरो चोट केही देखाइदिएन।’
यता अमनको घरमा अञ्जलीको घरमा हुने हल्ला नसुनिने कुरै भएन। सम्झाइबुझाई गर्न जान पनि नमिल्ने। सुनेर बसिराख्न पनि नसकिने। एक प्रेमीलाई त्यो समय सहज पक्कै थिएन। एकपटक बचाउन जाँदा अर्का एक छिमेकीसँग अमनको सामान्य भनाभनका क्रममा हात हालाहाल भयो। त्यसपछि अमनले कोरोनाको महामारी फैलिरहेका बेला अभद्र व्यवहारको मुद्दामा २१ दिन प्रहरीको हिरासतमा बिताउनुपर्यो। उनलाई अनेक झुटा मुद्दाको त्रास देखाउँदै मानसिक प्रताडना दिइयो। प्रहरीले पनि अञ्जलीको परिवारको कुरा सुनेरै अमनमाथि मानसिक दबाबको वातावरण बनाइराख्यो। अमन भन्छन्, ‘म त सर कसरी बाँचेछु। नत्र त यति धेरै इल्जाम ममाथि लगाएको थियो कुरै नगरम्।’
अञ्जलीलाई उनको परिवारले भारतमा एक आफन्तकोमा एकपटक ६ महिना र अर्काेपटक तीन महिना छुपाइयो। उनको अर्काे केटासँग बिहे गराउने प्रयास पनि परिवारले गर्यो। अमन र अञ्जलीका लागि त्यो टाढा बस्नुपर्दाको समय झन् कठिन थियो। ‘न फोन हुन्छ। न केही। के भयो होला, कसो भयो होला अनेक चिन्ता लाग्ने। अनि खाना नरुच्ने, निद्रा नलाग्ने। न कसैसँग बिहे पो गराइदिए कि? यस्तो हुन्थ्यो,’ अमनले भने। उता अञ्जलीको पनि त्यही हाल। उनमा तनावकै कारण अनेक शारीरिक र मानसिक समस्या देखिन थाल्यो। डिप्रेसनको औषधि खानुपर्यो। ‘उ त दुब्लाएर कस्तो भइसकेकी थिइ। तपाईं फोटो हेर्नुभयो भने छक्क पर्नुहुन्छ,’ फोटो देखाउँदै अमनले भने।
उनीहरुलाई छुटाउने परिवारको कसरतको चरम उत्कर्ष त्यतिबेला देखियो। जब उनीहरुले भागेर बिहे गरे। २० वर्ष नपुगी बिहे गर्नुहुन्न भन्ने थाहा पाएका उनीहरुले अञ्जली २० वर्ष पुगेपछि भागेर भारतको श्रावस्तीस्थित देवीपाटन मन्दिरमा बिहे गरे। दुई तीन दिन उतै धर्मशालामा बसे। त्यसपछि फर्केर आए। कोहलपुरमा होटलमा बसे। त्यहीबीचमा अञ्जलीकी आमाले चैत २३ गते प्रहरीमा अमनविरुद्ध आफ्नी छोरी बेपत्ता पारेको भन्दै उजुरी गरिन्। त्यो थाहा पाएपछि अञ्जलीले आफूलाई बेपत्ता नपारेको बरु आफूहरुले भागेर प्रेम विवाह गरेको भनेर जिल्ला प्रशासन, इलाका प्रहरी कार्यालय जमुनाह, जिल्ला प्रहरी कार्यालय बाँके र राष्ट्रिय मानव अधिकार आयोगमा लिखित जानकारी पनि गराइन्। यति गर्दा पनि अमनलाई चैत २९ गते प्रहरीबाट खबर आयो तिमीविरुद्ध उजुरी छ। उनी र अञ्जली आफैँ प्रहरी कार्यालय पुगे। त्यहाँ अञ्जलीका बुवा आमा र परिवारका अरु सदस्य पनि थिए।
प्रहरीकै सामू उभिएर अञ्जलीले भनिन्, ‘उनले मलाई बेपत्ता पारेका होइनन्। हामीले प्रेम विवाह गरेका हौँ।’ उनले बिहे गरेका फोटोहरु देखाइन्। सिन्दुर देखाइन्। तर प्रहरीले अञ्जलीको कुरा सुनेन। अमनलाई हिरासतमा पठाइयो। अञ्जलीलाई साथी संस्थाको सेल्टरमा पठाइयो। प्रेम बिहे गरिसकेका जोडीलाई आमाले दिएको झुटा मुद्दाका आधारमा प्रहरीले पुनः छुट्याइदियो। अनाहकमा अमनले तीन दिन हिरासतमा बिताउनुपर्यो।
हिरासतमा राखिएका अमनमाथि अनुसन्धानका लागि थप गर्न भन्दै चैत २ गते प्रहरीले अदातलतमा उपस्थित गराएपछि बल्ल प्रहरी र उनको परिवारले एक उमेर पुगेका जोडीमाथि गरेको ज्यादतिको पटाक्षेप भयो। बाँके जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलले पक्ष विपक्षका वकिल र पीडित भनिएकी अञ्जलीको बयान सुनेपछि अञ्जलीको बिहे गर्ने उमेर पुगेको, अमनसिंह नेपालीलाई हिरासतमा राखिरहन नपर्ने र अञ्जली शर्मालाई अमनसँगै बस्ने व्यवस्था मिलाइदिनु भन्ने आदेश दिए। यस फैसलाका लागि अञ्जली र अमनलाई साथ दिए अधिवक्ता निर्दीपकुमार श्रेष्ठले।
अमनकी दिदीले उनीहरुलाई श्रेष्ठ कहाँ लिएर आएकी थिइन्। त्यसपछि श्रेष्ठले उनीहरुलाई कानुनी बाटो देखाए। अदालतमा उनीहरुको प्रेमका पक्षमा तथ्यसहित बहस गरे। उनले प्रहरीले अनाहकमा अमनलाई हिरासतमा राखेको कुराको पनि घोर विरोध गरे र फैसलाका लागि अञ्जलीको बयानले सबैभन्दा बढी काम गर्यो।
प्रकाशित: ५ वैशाख २०७९ १०:२६ सोमबार