२७ फाल्गुन २०८१ मंगलबार
image/svg+xml
समाज

अनुदानमा वितरण गरिएका बाख्रामा पीपीआर महामारी

फाइल तस्बिर।

कर्णाली प्रदेश सरकारले कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरेका बाख्रा धमाधम मर्न थालेका छन्। भेरीगंगा नगरपालिका-३ का विभिन्न गाउँमा अनुदानमा वितरण गरिएका ६० वटा बाख्रा मध्ये ३८ वटा मरेका छन्।

भेरीगंगा नगरपालिकाका पशुपंक्षी विकास शाखाका प्रमुख भोजप्रसाद चपाईँका अनुसार माघको अन्तिम सातादेखि फैलिएको पीपीआर रोगबाट कृषकका ३८ वडा बाख्रा मरेको बताए। गाउँमा दुई सय भन्दा धेरै बाख्राहरु बिरामी रहेको उनले जानकारी दिए।

प्रदेश सरकार अन्र्तगतको पशुपंक्षी विकास निर्देशनालयले नेपालगञ्जबाट ल्याएर बारबेरी जातका बाख्रा वितरण गरेको थियो। ५० प्रतिशत अनुदानमा वितरण गरिएका बाख्राबाट सरेको रोग अहिले स्थानीय जातका बाख्रामा पनि देखिन थालेको छ।

चपाईँका अनुसार बाख्रामा उच्च ज्वरो आउने, खोक्ने, सिंगान आउने, मुख पाक्नेलगायतका लक्षणहरु देखिन थालेका छन्। अनुदानमा वितरण गरिएका बाख्रा मर्न थालेपछि नगरपालिकाले स्वाव संकलन गरेर केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा पठाइएको थियो।

प्रयोगाशालाले पठाएको रिपोर्टमा मरेका बाख्राहरुमा पीपीआर महामारी देखिएको उल्लेख छ। पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका अनुसार रोग अन्वेषणका लागि नगरपालिकाले पठाएका स्वाव नमूना परीक्षण गर्दा पीपीआर पोजेटिभ देखिएको र यो महामारी तत्काल नियन्त्रण गर्नका लागि निर्देशन दिइएको छ।

कृषकहरुलाई बाख्रा वितरण गरेको भेरीगंगा गंगादोभान बाख्रा स्रोत विकास समितिका अध्यक्ष तिलक बुढाले महामारी नियन्त्रणका लागि सरोकारवाला कार्यालयहरुसँग अनुरोध गरिएको बताए। ‘स्रोतकेन्द्रमा आवद्ध विभिन्न कृषकका ३२ सय भन्दाबढी बाख्राहरु छन्,’ उनले भने, ‘अनुदानमा ल्याइएका बाख्रामा देखिएको रोग अहिले स्थानीय तहका बाख्रामा पनि देखिन थालेको छ।’

प्रकाशित: २३ फाल्गुन २०७८ ०८:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App