१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मधानी महायज्ञमा राजनेताभन्दा भारतीय कलाकारको ठुम्का प्यारो

रौतहटको मौलापुर नगरपालिकाले गर्दै आएको मधानी महायज्ञमा भारतीय कलाकारको वर्चस्व देखिएको छ। २०७६ मा सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सुरु भएको मधानी महायज्ञको तेस्रो संस्करणमा नेपालका राजनेता तथा नेपाली कलाकारभन्दा भारतीय कलाकारहरुको वर्चस्व देखिएको छ।

मौलापुर नगरपालिकाको पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरमा नगरपालिकाले महाशिवरात्रीको अवसरमा मधानी महायज्ञ गर्दै आएको छ। रौतहट र बारामा मुख्य गरी ग्रामीण क्षेत्रमा शिवको विशेष अनुष्ठानको रुपमा प्रचलनमा रहेको मधानी लोपोन्मुख अवस्थामा पुगेको थियो। मौलापुर नगरपालिकाले मधानी यज्ञलााई विशेष प्राथमिकता दिएर स्थानीय संस्कृतिलाई महोत्सवको रुप दिने प्रयास गरिरहेको छ।

मौलापुर नगरपालिकाले नेपालका विशिष्ट राजनीतिज्ञ तथा कलाकारका साथै भारतीय कलाकार र गायकलाई बोलाएर मधानी महायज्ञको साथै पुरातात्विक महादेव मन्दिरको प्रचार गरिरहेको छ।पछिल्लो उत्खननले मौलापुरको महादेव मन्दिरको अवशेष बुद्धकालीन भएको अनुमान गरिएको छ। 

मौलापुरको पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरलाई नेपाल सरकारले देशको सय पर्यटकीय गन्तव्यमा पनि पारेको छ। नगरपालिकाले महाशिवरात्रीको अवसरमा आयोजना गरेको तेस्रो मधानी महोत्सवमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपि शर्मा ओली आउने प्रचार गरिएको थियो। साथमा नेपाली सिनेमाका सुपर स्टार राजेश हमाल, भारतीय भोजपुरी सिनेमाका गायक तथा सुपर स्टार खेसारीलाल यादव र सदाबहार भोजपुरी नायिक रानी चटर्जी आउने प्रचार गरिएको थियो। 

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपि शर्मा ओली मधानी महायज्ञमा उपस्थित हुन नसक्दा पूर्वमन्त्री टोपबहादुर रायमाझीका साथ पूर्वमन्त्री प्रभु साहसहित अन्य राजनीतिकर्मीको उपस्थिति रहेको थियो तर मञ्चमा कलाकारहरु खेसारीलाल यादव, रानी चटर्जी तथा अन्य भारतीय कलाकारहरुको उपस्थितिले दर्शकहरु निकै उत्साहित भएपछि राजनेताभन्दा कलाकार नै प्यारो भएको व्यवहार देखाएका छन्।

कार्यक्रममा उपस्थित सबैलाई मौलापुर नगरपालिकाका उपमेयर गौरीशंकर साहले स्वागत मन्तव्य व्यक्त गर्न खोज्दा कार्यक्रमस्थलमा उपस्थित लाखौँको भीडले हात हल्लाएर समय खेर नफाल्न संकेत गरेपछि एक मिनेटभन्दा कम समयमा स्वागत गरेर फर्केका थिए। कार्यक्रममा राजनीतिकर्मीहरुको मन्तव्य सुन्न दर्शकहरुमा कुनै रुचि भएको देखिएको थिए।

भारतीय भोजपुरी सिनेमाका कलाकार यादवले पनि बारम्बार राजनेताहरुलाई सम्मान गर्न, राजनेताहरुको अभिभाषण सुन्न र आयोजकहरुको कुरा सुन्न आग्रह गरिरहेका थिए तर दर्शकहरुले कलाकार यादवको कलाको लागि निरन्तर आग्रह गरिरहेको देखिन्थ्यो। कार्यक्रममा नेपाली सिनेमाका महानायक राजेश हमाल तथा टिकटक स्टार सामिया पोखरेलले पनि आफ्नो सहभागिता जनाएका थिए।

कार्यक्रममा भारतीय कलाकार यादवले नेपालमा आफ्नो पहिलो औपचारिक कार्यक्रममा उपस्थित हुन पाएको बताएका थिए। यसअघि एकपल्ट आउँदा आयोजकको गल्तीले आफ्नो चारवटा गाडी जलाइएको र आफूले आफ्नो कला प्रस्तुत गर्न नपाएको गुनासो गरेका थिए। कलाकार रानी चटर्जीले औपचारिक स्टेज कार्यक्रममा खेसारीलालसित आफूले पहिलोपटक प्रस्तुति दिन पाएको भनी खुसी व्यक्त गरेकी थिइन्।

खेसारीलाल यादव र रानी चटर्जीको ठुम्कामा लाखौँ मानिस मधानी महोत्सवमा एक साथ झुमेका थिए। कलाकार यादवलाई लाखौँ नेपालीले मन पराउने गरेको कार्यक्रमले देखाएको छ। नेपालकी चर्चित टिकटक कलाकार सोमिया पोखरेलले आफ्नो देब्रे हातमा खेसारीलाल यादवको नामको ट्याटु नै बनाएको प्रसंगले पनि मञ्चमा खूब ताली पाएको थियो।

प्रकाशित: १७ फाल्गुन २०७८ १३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App