गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई बोक्सी कुप्रथा मुक्त प्रदेश बनाउने बताएका छन्।
मान्छे बोक्सी हुन्न कहिल्यै जागरण प्रतिष्ठान नेपालको तेश्रो अधिवेशन तथा सातौ साधारणसभामा उनले गण्डकी प्रदेशलाई बोक्सी कुप्रथा मुक्त प्रदेश बनाउने उद्घोष गरेका हुन्। ‘तपाईंहरुले आफ्नो तर्फबाट अभियान चलाईरहनु भएको छ, अब प्रदेशले पनि तपाईंहरुसँग सहकार्य गर्छ, र चाँडै प्रदेशलाई बोक्सी कुप्रथा मुक्त घोषणा गर्न पाईन्छ भन्ने विश्वास छ,’उनले भने।
मुख्यमन्त्री पोखरेलले नेपालको कानूनले बोक्सी कुप्रथालाई बन्देज गर्दै त्यस्तो कार्य गर्नेलाई दण्डित गर्ने प्रावधान भएपनि यो कुप्रथामा कमी नआउनु दुःखद भएको बताए। ‘कडा सजाय हुँदैमा यस्ता कुप्रथा अन्त्य हुन्छ भन्ने हुँदैन,’ उनले भने, ‘यो अन्त्यका लागि मानसिकतामा परिवर्तन ल्याउनुपर्छ, जनचेतना जगाएर जागरुक बनाउनुपर्छ।’ सरकारको निर्णय वा कानूनले मात्र यस्ता घट्ना नियन्त्रण गर्न नसक्ने दाबी गर्दै उनले थपे, ‘मान्छेले मनबाटै गर्न हुन्न भन्ने जान्नुपर्छ, नत्र त लुकीलुकी, छलछाम गरेरपनि यस्ता घटनाहरु घटाईरहन्छन्।’
मुख्यमन्त्री पोखरेलले बोक्सी कुप्रथा जस्ता विकृति, विसंगति अन्त्य गर्नु सबैको साझा दायित्व भएकोमा जोड दिए। ‘समाजमा यस्ता खालका चुनौतिहरु, समस्याहरु छन्, यसलाई सबै मिलेर समाधान गर्नुपर्छ,’ उनले भने।
मान्छे बोक्सी हुन्न कहिल्यै जागरण प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायले आफू काठमाडौं जाँदै गर्दा एउटी महिलालाई नांगै बनाएर कुटपीट गर्दै मलमुत्र खुवाएको देखेपछि आफू उद्देलित भएर यो अभियान सञ्चालन गरेको बताए। उनले भने, ‘एउटी महिलालाई त्यसरी मलमुत्र खुवाउँदा मैले सम्झेः त्यसरी मेरी आमालाई मेरै आँखा अगाडि मलमूत्र खुवाए भने ? त्यसपछि म यो अभियानमा लागे।’ उनले शुरुमा मान्छे बोक्सी हुन्न कहिल्यै भन्ने पुस्तक लेखेर देशभर पुर्याएको र पछि यहि विषयवस्तुमा ‘दलहन’ चलचित्र बनाएर गाउँगाउँमा प्रदर्शन गर्दै हिंडेको बताए।
अभियान अन्तर्गत अहिलेसम्म २५ जिल्लाका ७० ठाउँमा पुगेर ‘दलहन’ प्रदर्शन गर्नुका साथै जनचेतनामूलक कार्यक्रम गरिसकेको बताए। उनले ७७ वटै जिल्लामा कार्यक्रम लैजाने योजना रहेको बताउँदै त्यसका लागि आर्थिक अभाव भएकाले सरकारबाट सहयोगको अपेक्षा गरेको बताए।
माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष कुष्णकुमारी दवाडीले कानूनले वर्जित गरेपनि गरिब, दलित र एकल महिलाजस्ता अवला नारी माथि बोक्सीको आरोपमा कुटपीट गर्ने, मलमुत्र खुवाउने, कुटपीट गर्ने तथा मार्नेसम्मका हर्कत हुने गरेको भन्दै यसको अन्त्यका लागि सबै एकजुट भएर अभियान चलाउनुपर्ने बताईन्।
पोखरा महानगरपालिका–२५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले हरेक गाउँमा स्वास्थ्यचौकी नपुगेसम्म अशिक्षित समाजले बोक्सीको आरोप लगाईरहने अवस्था रहने भन्दै यसको अन्त्यको लागि हरेक गाउँमा स्वास्थ्यचौकी निर्माण गर्नुपर्नेमा जोड दिए।
प्रकाशित: २४ कार्तिक २०७८ १०:०९ बुधबार