१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

म्याग्दीमा सामूहिक बलात्कारका तीन आरोपित पक्राउ

बलात्कारमा संलग्न भएको आरोपी। तस्बिरः हरिकृष्ण गौतम

सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ। बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार घटनामा संलग्न भएको किटानी जायरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई अलगअलग ठाउँबाट प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले तीनैजना आरोपीलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। प्रहरीले एक जनालाई रुपन्देही र दुई जनालाई पोखराबाट नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए। ‘आधुनिक विधि र प्रविधिको प्रयोग गरी अनुसन्धान भइरहेको छ,‘ प्रनाउ राईले भने,'घटनामा कसैको दवाव छैन।’  

महिलालाई एक्लै सुतिरहेको अवस्थामा ती युवकहरुले जबर्जस्ती धम्क्याउँदै पालैपालो बलात्कार गरेको भन्ने पीडितसहितको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको प्रनाउ राईको भनाई छ।उजुरीपछि जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरी पीडकहरुको खोजी गरिएको थियो। सामूहिक ‘बलात्कार’को घटना थामथुम पार्न गाउँका केहीले पीडितका आफन्तहरुकै उपस्थितिमा पीडित युवतीको परिवारबीच आर्थिक लेनदेनमा मिलापत्रको प्रयास गरेको हल्लाले अनुसन्धानमा असर नगर्ने प्रहरीको भनाई छ।

आफूलाई बलात्कार गरेको भन्दै मुद्दा दर्ता गराएर बयान दिएकी महिलालाई जिल्ला अदालतमा बकपत्र गर्ने बेला पीडित महिलालाई आफ्नो जायरीको विपक्ष अर्थात आफूविरुद्ध बयान दिने वातावरण बनाउन समेत एक समूह सक्रिय भएको हल्लालाई समेत नजिकबाट हेरिरहेको र फेला पारेमा उनीहरुलाई समेत कानुनी दायरामा ल्याउने जनाएको छ।

अदालतमा सहमतिमै शारीरिक सम्बन्ध राखेको भनी बयान फेर्न दवाव दिएपनि जबर्जस्ती करणी भएको भनी दिएको जायरी र प्रहरीको अनुसन्धानका क्रममा पनि सोही दोहोर्‍याएको प्रमाण, भौतिक परीक्षण प्रतिवेदन, अदालतले बयान र कानुनलाई आधार मानेर फैसला हुन्छ। नेपालको मुलुकी अपराध संहितामा १८ वर्ष वा माथिका व्यक्ति बलात्कारमा १० देखि १२ वर्षसम्म कैद सजायका साथै सामूहिक बलात्कार पुष्टी भएमा थप ५ वर्ष सजायको कानुनी व्यवस्था रहेको छ।

प्रकाशित: २२ कार्तिक २०७८ १२:३५ सोमबार

विवाहित महिला सामूहिक बलात्कार आरोपित पक्राउ