१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नेपाल–भारत सीमामा श्रीपेच र राजदण्ड

श्रीपेच र राजदण्ड अंकित चिन्ह निर्माण गरी निर्माण गरिएको नेपाल–भारत सीमा क्षेत्र जमुहास्थित मूल गेट। तस्बिर: गणेश/नागरिक

नेपालगन्जको मुख्य चोक धम्बोझीमा राखिएको राजा वीरेन्द्रको शालिक जिल्ला प्रशासनले झिकेर केही वर्षअघि राष्ट्रिय झण्डा राख्यो। शालिक राख्ने र हटाउने भन्ने विषयमा प्रहरी र केही युवाहरूबीच झडपसमेत भएको थियो। यसभन्दा पहिला गणतन्त्रवादीहरूले उक्त शालिकमाथि तोडमोड गरेका थिए। यति मात्र होइन राजाका नामबाट नामाकरण गरिएका चोक र केही सडकको पुनः नामाकरण गरियो। अन्य क्षेत्रमा रहेका शालिक भत्काइयो भने श्रीपेच र राजदण्ड अंकित चिन्हहरू मेटाइयो। तर सरकारले नेपाल–भारत सीमा जस्तो महत्वपूर्ण स्थानमा भने श्रीपेच र राजदण्ड हटाउने विषयमा चुकेको छ।

राजतन्त्र ढलेको यति लामो सयम हुँदासम्म सरकारको ध्यान नजाँदा सीमा क्षेत्रका गेटहरूमा राजतन्त्र झल्काउने श्रीपेच र राजदण्ड अंकित चिन्ह कायमै छन्। जसले बाहिरी देशबाट आउनेलाई नकारात्मक सन्देश प्रवाह गरिरहेको छ। बाँकेको नेपालगन्जस्थित नेपाल–भारत सीमा क्षेत्र जमुनाहको मूल गेटमा श्रीपेच र राजदण्ड अंकित चिन्ह छ। उक्त गेट राजा महेन्द्रले निर्माण गरेका थिए। ‘जुन राष्ट्रको पृष्ठभूमि छ विश्वभरिको उच्च हिमाल, त्यस देशको गौरव राखौं हाम्रै हो यो देश नेपाल। महेन्द्र वीर विक्रम शाह’ लेखिएको सन्देश पनि उक्त गेटमा दुरुस्तै देखिन्छ। 

सन्देश महत्वपूर्ण भए पनि राजाको नाम उल्लेख हुँदा लोकतान्त्रिक गणतन्त्रमा नसुहाउने रामबहादुर चौधरी बताउँछन्। ‘पहिलादेखि नै श्रीपेच र राजदण्ड अंकित चिन्ह सीमाको गुटमा छ,’ उनले भने, ‘राजा हुँदा त राम्रै हो। अहिले भने अस्वभनिय छ।’ सामान किनमेलका लागि आएका उनी भन्छन्, ‘सरकारले यसमा चासो देखाउनु पर्छ।’ सीमा प्रवेश द्वारमै राजा झल्काउने चिन्ह हुँदा राम्रो नहुने उनको भनाइ छ। उक्त चिन्ह हटाएर सबै जातजाती, भाषा, संस्कृति झल्किनेखालाका चिन्हहरू निर्माण गर्नुपर्ने उनको भनाइ छ।

नेपाल प्रवेश गर्ने मूल प्रवेशद्वारमै राजतन्त्रको झल्को दिने श्रीपेच र राजदण्डले गलत सन्देश दिने स्थानीय बताउँछन्। ‘श्रीपेच र राजदण्ड गेट निर्माण गर्दा नै बनाइएको हो,’ किनमेलका लागि भारतीय बजार रुपैडिहाबाट फर्किंदै गरेकी सीता रिजालले भनिन्, ‘अहिले आएर पनि उस्तै छ।’ एक सीमा सुरक्षाकर्मीले कतिपय भारतीयले आफूलाई श्रीपेच र राजदण्डका विषयमा सोध्ने गरेको बताए। ‘नेपालमा राजा हटेका होइनन् र ? अझै श्रीपेच र राजदण्ड छ त भन्दै प्रश्न गर्छन,’ उनले भने। राजा हटे पनि यो पुरानै गेट भएकाले श्रीपेच र राजदण्ड भएको आफूले उनीहरुलाई जानकारी गराउने गरेको उनको भनाइ छ। कतिपयले भने गेटमा अंकित श्रीपेच र राजदण्डको वास्त नगर्ने गरेको उनी बताउँछन्।

श्रीपेच राजतन्त्रकालमा नेपालको राजाले प्रयोग गर्ने पारम्परिक पहिरन थियो। नेपाल एकीकरणपश्चात् राजतन्त्रको उदय भएसँगै राजाहरूले यसको प्रयोग गर्ने गरेका थिए भने राणा शासन कालमा श्री ३ प्रधानमन्त्रीहरूले समेत विशेष किसिमको श्रीपेच पहिरिने गरेका थिए। श्रीपेचको पछिल्तिर झुन्डिने आकर्षक कल्कीचाहिँ बर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो। श्रीपेचको अभिन्न भागका रूपमा रहेको बर्ड अफ प्याराडाइज दुर्लभ र मार्न प्रतिबन्धित संरक्षित चरा भएकाले पनि श्रीपेचको महत्व विशेष रहेको बताइन्छ।

प्रकाशित: १३ आश्विन २०७८ १४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App