७ वैशाख २०८१ शुक्रबार
समाज

बुटवलमा शिक्षा मन्त्रीको पुत्ला दहन

शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको राजीनामा माग गर्दै सोमबार बुटवलमा उनको पुत्ला दहन गरीएको छ। जातीय भेदभाव तथा छुवाछुत जस्तो सरकारवादी मुद्दाका अभियुक्त छुटाउन सरकारी दलबदलसहित गएको भन्दै मन्त्री श्रेष्ठको राजीनामा माग गर्दै पुत्ला दहन गरीएको हो। संयुक्त दलित संघर्ष समिति रुपन्देहीले बुटवलको ट्राफिकचौकमा शिक्षामन्त्रीको पुत्ला दहन गर्दै जातीय भेदभावविरुद्ध प्रदर्शन गर्‍यो।

'जात व्यवस्था अन्त्य गर, मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर, सम्पूर्ण दलित एक हौं, जात व्यवस्था बचाउने सरकार मुर्दावाद' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

सञ्चारकर्मी रुपा सुनारले जातकै कारण कोठा भाडामा नपाएको भन्दै काठमाडौं बबरमहलकी सरस्वती प्रधानविरुद्ध कारबाही माग गर्दै उजुरी दर्ता गरेकी थिइन्। कोठा नदिएको सरकारवादी मुद्दालाई आरक्षसँग तुलना गरेर बौद्धि तप्कानै उत्रेकोमा समेत प्रदर्शनमा आपत्ति जनाउँदै जात व्यवस्था अन्त्य नगरे देशमा युद्ध हुने चेतावनी दिए।

संयुक्त दलित संघर्ष समिति रुपन्देहीका अध्यक्ष हरिओम विश्वकर्माले देशमा गणतन्त्र स्थापना हुँदासम्म पनि जातीय भेदभाव अन्त्य नभएकोमा आक्रोश पोखे। उनले ९९ प्रतिशत दलित समुदायले कोठा भाडा नपाउने समस्या भएको भन्दै मनुवादी समाज परिवर्तन गर्ने अभियानमा लाग्न अपिल गरे।

बुटवलको पुष्पलाल पार्कदेखि नाराबाजी गर्दै ट्राफिकचौकमा पुगेर कोण सभा गरीएको थियो। दलित संघ रुपन्देहीका अध्यक्ष रवि विश्वकर्माले जातका आधारमा विभेद हुनेक्रम नरोकिएकाले एकीकृत आन्दोलन गर्नुपर्ने बताए। दलित अभियान्ता नरबहादुर सुनारले दलित समुदायमाथि भेदभाव हुँदा सिंगो राज्य शक्ति लागी परेको आरोप लगाए। दलित नेता ओमप्रकाश विश्वकर्मा, जीवन परियार लगायतले बोल्दै जातीय भेदभावविरुद्ध सशक्त रुपमा प्रतिरोधमा उत्रने चेतावनी दिए।  

जातकै कारण कोठा भाडामा नदिएर अपमान गरेको आरोपमा घरबेटी सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले आफ्नै गाडीमा लगेपछि त्यसको चौतर्फी आलोचना हुनुका साथै दलित समुदाय आन्दोलन भएका हुुन्। जातका आधारमा हुने भेदभावलाई सरकारले नै संरक्षण गरेको दलित अभियान्ताहरुको आरोप छ।

प्रकाशित: १४ असार २०७८ १४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App