२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

लगातारको वर्षाले सम्पर्कविहीन सातजनाको उद्धारमा कठिनाइ

ओढारमै रोकियो प्रहरी

लगातारको वर्षापछि राप्ती राजमार्ग अवरुद्ध हुँदा रोकिएको एम्बुलेन्स। तस्विरः नागरिक

जाजरकोटस्थित कुसे गाउँपालिका–८,जलजला पाटनमा भेरीगोठाला गएका सम्पर्कविहीन भएका सातजनाको उद्धारमा समस्या भएको छ। लगातार वर्षा र चिसो हावा चलेका कारण उनीहरुको उद्दारमा समस्या भएको हो। औँलाजाका उनीहरु जेठ ३१ गते गाई, भैंसी र बाख्रा लिएर भेरीगोठका लागि ११ जना पाटन गएका थिए। 

पाटनमा एक्कासि हावाहुरीसँगै ठूलो वर्षा भएपछि चारजना घर फर्किएका थिए भने सातजना सम्कर्कविहीन भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुकुमार थापाले जानकारी दिए। ४४ वर्षीय भक्तबहादुर रोकाया, १० वर्षीय कृष्ण रोकाया, १४ वर्षीया दुर्गा रोकाया र ५५ वर्षीया गंगा खड्का सम्पर्कमा आएका छन्।  

सोही वडाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय भिमबहादुर खड्का, १७ वर्षीया तुलसरा खड्का र सोही गाउँपालिका वडा नम्बर ९ चैनका ४० वर्षीय कृष्ण रोकाया सम्पर्कविहीन भएका डिएसपी थापाले जनाए।

भारि वर्षासँगै चिसो हावा चलेकाले प्रहरी र स्थानीय पाटन क्षेत्रमा पुग्न सकेका छैनन्। अहिले प्रहरी र स्थानीय बोड ओढार सम्म पुगेको छन् । त्यहाँबाट पाटन पुग्न करिब चार घण्टा लाग्छ। ‘प्रहरी र स्थानीय पुगेको क्षेत्रबाट माथि जान सक्ने स्थिति छैन,’ डिएसपी थापाले भन्छन्, ‘प्राकृतिक मौसम बदलीका कारण उद्दारमा समस्या भएको छ ।’ पाटनमा हेलिकोप्टरबाटसमेत उद्दार गर्न समस्या छ।  

उक्त पाटन समुन्द्री सतहदेखि चार हजार हाठ सय मिटर अग्लो भएकाले पनि हवाइबाट उद्दार गर्न कठिन भएको उनको भनाइ छ। ‘१२ बजेभन्दा अघि कम हावा चल्छ,’ उनले भने, ‘अब आज माथि (पाटन) पुग्ने स्थिति छैन। भोलि प्रहरी माथि जान प्रयास गर्छ।’ उद्दारमा खटिएका प्रहरी र स्थानीयले चाउचाउलगायतका खानेकुरा लिएको गएका छन्।

‘हामी पाटनमा सँगै भेरीगोठालो गर्दै थियौं,’ सम्पर्कमा आएकालाई उदृढ गर्दै डिएसपी थापाले भने, ‘ठूलो हावासँगै वर्षा भएपछि हामी तलतिर झर्‍यौ। उहाँहरु कता जानु भयो थाहा भएन।’ प्रहरीका अनुसार सातजनासँगै २२ गाई, १० भैंसी १० र ५० बाख्रा पनि हराएका छन्। यस क्षेत्रका बासिन्दा बर्सेनि भेरीगोठाला पाटनमा जाने गर्छन्।

यता जुम्लामा यार्सा संकलन गर्न पाटन गएका एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। घाइते र अन्य दुईजना पाटनमा अलपत्र परेका छन्। पातारासी गाउँपालिका–२, त्यामचेङ पाटनमा यार्सा संकलन गर्न गएका सोही गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय सुकबहादुर नेपालीको मृत्यु भएको हो। उनीसँगै गएका ३० वर्षीय ताराबहादुर सुनार घाइते भएका छन्।  

सुकबहादुर जेठ ३० गते घाइते भएका थिए। पाटनमा उपचार हुन नसक्दा र गाउँ फर्कन सक्ने अवस्था नहुँदा उनको ३१ गते मृत्यु भएको पाटनमा फर्किएका स्थानीयको भनाइ छ। घाइते र अन्य दुईजना अहिले पाटनमै छन्। पाटनमा हुस्सु, पानीसँगै चिसो हावा चलेकाले उनीहरु घर फर्किन समस्या भएको छ।  

घर फर्किने बाटाहरुमा पर्ने खोलाका काठेपुलसमेत बाढीले बगाउँदा उनीहरुको उद्दारमा जान समस्या भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। ‘यार्सा टिप्न गएका केही फर्कनु भएको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवनकुमार चौधरीले भने, ‘उनीहरुलाई पाटनबाट उद्दार गर्न समस्या छ।’ मौसमी बदली हुँदा हवाइ उडान गर्न समस्या हुने प्रहरीले जनाएको छ। पाटनमा फर्केका १० जनाले प्रहरीलाई जानकारी गराएपछि यो कुरा बाहिर आएको हो। पातारासी सञ्चारविहीन हुँदा थप जानकारी आउन समस्या भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ असार २०७८ १०:१७ बिहीबार

लगातारको वर्षाले उद्धारमा कठिनाइ