९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

विपद्ले जगाएको मानवता

चिया गफमा ब्यस्त एउटा युवा समूह। चिया छलफलकै क्रममा उनीहरुले एउटा सोँच बनाए ‘कोरोनाको यो महाबिपत्तिमा हामीहरुले के गर्न सक्छौँ?’ कोरोना महामारीमा मानवता जगाउन उनीहरु हरेकले एक एक नयाँ योजना ल्याए। उनीहरुको चिया छलफलले एउटा निष्कर्ष निकाल्यो ‘कोरोना संक्रमितहरुलाई पौष्टिक आहार खुवाउने।’ 

जिल्लामा रहेका कोरोना संक्रमित बिरामीहरुलाई पौष्टिक आहार अन्तर्गत चना, अण्डा तथा मिनिरल वाटर उपलब्ध गराउने योजना बुनेर ‘फिल्ड’मा उत्रिएको यो समूहलाई अभियान सुरु गर्न गाह्रो थियो। अनि यसको निरन्तरता कति? भन्ने चुनौती झनै पेचिलो थियो। पहिलो दिन निकटस्थहरुको सहयोगका आधारमा बेलझुण्डि अस्पतालमा रहेका ७७ जना बिरामीहरुलाई उनीहरुले पौष्टिक आहार पुर्याए। अनि दोस्रो दिनदेखि लमही आसाेलेसनमा रहेका तीन दर्जन बिरामीहरुलाई पनि यो आहार पुर्याउन थाले।  

सात दिन भयो उनीहरुले प्रत्यक दिन यसैगरि बेलझुण्डि र लमही आइसोलेसनमा रहेका झण्डै १ सय जना बिरामीहरुलाई निरन्तर पौष्टिक आहार खुवाईरहेका छन्। ‘यो बिपद्मा हामी भित्र पनि मानवता जाग्नु पर्छ भन्ने सोचेर हामी युवासाथीहरुले यो अभियानको सुरुवात गर्यौँ,’ अभियानका संयोजक सन्जिव पछाईले भने, ‘एक हप्ता भयो, हामीहरुले बेलझुण्डि र लमहीमा रहेका बिरामीहरुलाई पौष्टिक आहार प्रत्यक दिन खुवाईरहेका छौँ।’ अहिले यो अभियानमा झण्डै दुई दर्जन युवाहरु जोडिएका छन्। ठूलो संख्यामा घुलमिल हुँदा आफूहरु नै असुरक्षित हुने खतरा प्रति सचेत रहँदै उनीहरुले चारवटा समूह निर्माण गरेका छन्। सबै भेला नभई एउटा समूहले दुई दिन काम गर्ने गरि उनीहरुले पालो लगाएका छन्।  

पालो अनुसार घोराहीको एक नास्ता पसलमा भेला हुने उनीहरुले आफै पौष्टिक आहार पकाएर तयार पार्छन्। अनि प्याकिङ गरेर अस्पतालहरुमा रहेका बिरामीहरुसम्म पुर्याउन कुद्ने गर्दछन्। ‘सधैँभरी एउटा आहार खान बिरामीलाई नरुच्ला भनेर पौष्टिक आहार पनि परिवर्तन गर्ने गरेका छौँ, ’ अभियानका अर्थ संयोजक कुलराज पोख्रेलले भने, ‘हाम्रा, आफन्ती तथा शुभच्छुकहरुको सहयोग तथा उहाँहरुमा जागेको मानवताकै कारण यो अभियानलाई चलाउन सफल भएका छौँ।’ कोरोनाका बिरामीहरुलाई पौष्टिक आहार खुवाउने अभियानबाट आफूहरुलाई सामाजिक अभियानमा जोडेको यो युवा समूहले हरेक बिपद्मा आफूहरुको सहयोग रहने प्रणःसहित अघि बढेको छ। 

उनीहरुले ‘बिपद्मा हामी’ भन्ने अभियानको नयाँ नामाकरणै गरेका छन्। ‘यो बिपद्ले हामीहरुलाई सामाजिक सेवा भावको बिकास गरायो, अब हामीहरु हरेक बिपद्मा सहयोगी बन्ने निधोका साथ अघि बढेका छौँ,’ संयोजक पछाईले भने।  

उता पश्चिम दाङको शान्ति नगर गाउँपालिकामा पनि अर्को युवा समूहले कोरोना संक्रमितहरुका लागि खाना तथा खाजाको ब्यवस्थापन गरेको छ। युवाहरुको समूहले शान्तिनगर गाउँपालिकाको आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामी तथा उपचारार्थ खटिएका स्वास्थ्यकर्मीहरुका लागि प्रत्यक दिन खाना, खाजाको व्यवस्था गरिएको साे अभियानका संयोजक राघव देवकोटाले जानकारी दिए। यता घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि अर्को युवा समूहले त्यहाँ रहेका बिरामीहरुलाई पौष्टिक आहार खुवाई रहेका छन्।  

दोस्रो लहरको कोरोनाको संक्रमण सुरु भएसंगै अर्को बिपत्ति निम्तीएको छ। यो बिपत्तिको न्यूनिकरणका लागि राज्य निरीह बसेको भनेर जनसमुदायबाट राज्यको तीव्र आलोचना भैरहेको छ। मुलुकमा रहेका तीनै तहका सरकार कोरोना नियन्त्रणमा अनुदार रहेपछि समुदाय स्तर आफै मानवीय सेवाको अभियानमा जुटेको छ।    

कोरोना संक्रमणका बिरामी बढ्दै जान थालेपछि जिल्लामा अक्सिजनको चरम अभाव निम्तिन थाल्यो। बिरामीको बढ्दो चाप र अक्सिजन अभावका कारण केही बिरामीले ज्यान समेत गुमाए। सर्वसाधारणहरुले सरकारको आश गरिरहे। बिरामी अक्सिजन अभावमा छट्पटाई रहे। तर सरकारले अक्सिजनको ब्यवस्थापन गर्न सकेन। अनि घोराहीका एक व्यवसायी सुरज बुढाथोकीले दाङ जिल्ला उद्योग बाणिज्य संघका तर्फबाट एउटा अभियान चलाए ‘अक्सिजनका लागि रु.१ हजार।’ यो अभियान अन्तर्गत उद्योग बाणिज्य संघले अहिले सम्म झण्डै दुई सय सिलिण्डर अक्सिजन जिल्लामा झारीसकेको छ। 

‘हामीहरुले चितवन लगाएतका स्थानबाट अक्सिजन आयात गर्यौँ, ’दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले भने, ‘अँझै पनि हाम्रो अभियान जारी नै छ, हामीहरु हाम्रो तर्फबाट सकेजति अक्सिजन जिल्लामा झार्ने लक्षका साथ अघि बढेका छौँ।’ यसैगरि निर्माण व्यवसायी महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र रानाले पनि अक्सिजन अभावलाई टार्नका लागि आफ्नो एकल अभियान चलाएका छन्।  

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उनले आफ्नो लगानीमा ५० सिलिण्डर अक्सिजन उपलब्ध गराईसकेका छन्। ‘यस्तो महामारीका बेला हामीहरु हातेमालो गरेर रोगसंग लड्ने अभियानमा लाग्नु हामी सबैको दायित्व हो नि,’ रानाले भने, ‘मैले पनि यहि मानवताकै लागि अक्सिजन खरिद गरेर प्रतिष्ठानलाई प्रदान गरेको छु, अझै थप अक्सिजनका लागि पहल गरिरहेको पनि छु।’

कोरोना संक्रमितहरुको उपचार, उनीहरुलाई पौष्टिक आहार मात्रै हैन, सामाजिक अभियानमा जोडिएकाहरुले कोरोना संक्रमितहरुलाई राख्ने आईसोलेसनमा ठलै सहयोग समेत गरेका छन्।  

जिल्लाका अन्य स्थानीय तहहरुले आइसाेलेसन निर्माण गरेपनि घोराही उपमहानगरपालिकाले भने आइसाेलेसन निर्माण गरेन । कोरोना महामारीका बेला समेत स्थानीय सरकार सुतेको भन्दै उपमहानगरको तीव्र आलोचना भयो । घोराहीमा आइसाेलेसन अति आवश्यक महसुस स्थानीयले गरे। फलतः एक ब्यवसायीले आइसाेलेसन निर्माणका लाग आफ्नो घर निःशुल्क रुपमा प्रयोग गर्न दिएका छन्। 

घोराहीका भोजराज अधिकारीले तीनवटा हल कोठासहित २३ कोठाका दुईवटा भवन आइसाेलेसनका रुपमा निःशुल्क प्रयोग गर्न दिएका हुन्। ‘मान्छे उपचार नपाएर मर्नु पर्ने अवस्था आउन थाल्यो, यो बेला हामी सबैमा मानवता जाग्नु पर्छ,’ अधिकारीले भने, ‘यो बेलामा कोरोना संक्रमितहरुको उपचारमा सहजता ल्याउनका लागि घर उपलब्ध गराएको हुँ।’ उक्त आइसाेलेसनका लागि अक्सिजनको व्यवस्थापनको तयारी भैरहेको  र तत्कालै आइसाेलेसन सञ्चालनमा आउने घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेले जानकारी दिए।  

उता तुलसीपुर उपमहानगरपालिका १२ को एउटा युवा समूहले भने कोरोना लगाएत अन्य रोगका कारण मृत्यु भएका शवको ब्यवस्थापनका लागि काठ संकलन अभियान थालेको छ। बखरिया गाउँको बस्ती नजिकै रहेको शवदाह स्थल। कोरोनाबाट मृत्यु भएकाहरुको दाहसंस्कार त्यहि बस्ती नजिकै हुँदै आएको थियो। काठ अभावमा शवहरु पुरै जलाईन्नथे। शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीले शव पुरै नजल्दै छोडेर हिँड्न थाले। स्थानीय देबीराम कुसारीले यो दृष्य देख्न सकेनन्। 

‘मरेपछि पनि राम्रोसंग जल्न नपाउनु यो जस्तो बिडम्बना अरु के हुन सक्छ?’ कुसारीले भने, ‘कसरी काठ व्यवस्थापन गर्ने र शव पुरै जलाउने भन्ने सोँच मेरो दिमागमा आईरह्यो।’ अनि उनै कुसारीले शवदाहस्थलमै काठबैँक (काठ संकलन) सञ्चालन गर्ने योजना बनाए। फेसबुक मार्फत उनले थालेको यो अभियानमा धेरै युवाहरु जोडिँदै गए। ‘अब शवदाह स्थलमा काठ अभावमै लाश पुरै जल्न नपाउने अवस्थाको अन्त्य भएको छ,’कुसारीले भने, ‘धेरै मनकारीहरुले काठ बैंकलाई काठ सहयोग गर्नुभएको छ।’

प्रकाशित: २ जेष्ठ २०७८ १०:०० आइतबार

कोरोना संक्रमित पौष्टिक आहार बेलझुण्डि अस्पताल आईसोलेसन कोरोना