८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

दुई पत्रकार पक्राउ, महासंघको आपत्ति

समाचारको विषयलाई लिएर प्रहरीद्वारा पक्राउ परेका पत्रकार अनिश तामाङ र दुर्गालाल तामाङलाई तीन दिनको म्याद थप गरी महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको छ। 

प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरेको थियो। अनुसन्धानको लागि उनीहरूको म्याद थप गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए। उनले हिरासतमा राखेर थप अनुसन्धान गर्नुपर्ने भएपछि म्याद थप गरिएको बताए।  

यसैबीच पत्रकारलाई प्रहरीले गिरफ्तार गरेको विषयमा नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ। समाचार लेखेकै विषयलाई लिएर उज्यालो नेर्टवक अनलाइनको अनामनगरस्थित कार्यालयमा पुगेर प्रहरीले दुई पत्रकारलाई पक्राउ गरेको थियो। आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघले अनिश र दुर्गालाललाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको अवरोध भएको जनाएको हो।

‘पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भनि आदेश दिइसकेको छ,’ महासंघले जारी गरेका विज्ञप्तिमा लेखिएको छ, ‘अनलाइनमा प्रकाशित समाचारलाई लिएर प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारभित्र रही निरूपण गरिसकेको छ, यस्तो अवस्थामा कार्यालयमै पुगेर पत्रकारलाई गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन, संवैधानिक व्यवस्था माथिकै ठाडो हस्तक्षेप भएको ठहर गरेको छ।’  

महासंघका महासचिव रोशन पुरीद्वारा जारी गरिएको विज्ञप्तिमा पाटन उच्च अदालतको निर्णयलाई पनि सस्मरण गराइएको छ। अदालतले उक्त मुद्दामा आदेश दिइसकेको अवस्थामा पनि प्रहरीले जबरजस्ती पक्राउ गर्ने विषयमा महासंघले आपत्ति जनाएको हो। त्यस्तै नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

विज्ञप्ति जारी गर्दै समितिले प्रकाशित समाचारको विषयमा गल्ती स्वीकार गर्दा पनि प्रहरी सञ्चार गृहमै पुगी पक्राउ गर्नुलाई ‘निन्दनीय’ भनेको छ। समितिका महासचिव रामकुमार शाहीद्धार जारी विज्ञप्तिमा भनिएको छ, ‘यस घटना सिंगो पे्रस स्वतन्त्रतामाथिको ज्यादती हो, संविधानले पूर्ण प्रेस स्वतन्त्रता ग्यारेन्टी गरिसकेको अवस्थाामा प्रकाशित समाचारको विषयलाई लिएर राज्यबाट यो हदको घटना हुनुले राज्य प्रेस स्वतन्त्रतामाथि अनुदार छ भन्ने प्रष्ट भएको छ।’

प्रकाशित: १३ वैशाख २०७८ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App