५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बर्दियामा ‘मान्छे खाने बाघ’ बाँके निकुञ्जमा भाग्यो

बर्दियामा नियन्त्रणमा लिईएको मान्छे मार्ने बाघ बाँके राष्ट्रिय निकुञ्जमा भागेको छ । बर्दियामा नियन्त्रणमा लिईएको उक्त बाघ चैत ५ गते बाँके राष्ट्रिय निकुञ्जमा ल्याईएको थियो । उक्त बाघ निकुञ्ज सुरक्षार्थ रहेको नेपाली सेनाको खैरी पोष्टमा राखिएको थियो । फलामको खोर बनाएर नियन्त्रणमा राखिएको उक्त बाघ सोमबार बिहान खोर भत्काएर भागेको निकुञ्जका वार्डेन श्याकुमार शाहले जानकारी दिए । 

‘बर्दियाबाट उक्त बाघ हामीहरुलाई नियन्त्रणमा राख्नका लागि भनेर जिम्मा दिईएको थियो,’ उनले भने ‘खोर बनाएर राखिएको पनि थियो, तर सोमबार बिहान ६ बजेतिर खोर भत्काएरै भाग्यो ।’ खोर भत्काएर भागेको बाघ निकुञ्ज क्षेत्रको जंगल पसेको उनले जानकारी दिए । बाँके निकुञ्ज क्षेत्रमा उक्त बाघ भागेपछि निकुन्ज क्षेत्र आसपासका स्थानीयहरु त्रसित बनेका छन् ।  

निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने लौकी गाउँका राजु बस्नेतले बस्ती नजिकै रहेको निकुञ्ज क्षेत्रमा भाग भागेपछि स्थानीयहरु त्रस्त बनेको बताए । ‘बर्दियामा मान्छे मारेकै बाघ भागेको सुनेपछि स्थानीयहरुलाई कसरी जोगिने भन्ने त्रास बढेको छ,’ उनले भने ‘घरबाट मान्छेहरु कम मात्रै निकस्कन थालेका छन् ।’ बाँके राष्ट्रिय निकुञ्जको बन क्षेत्र संग बाँकेको राप्ती सोनारी गाउँपालिकाका दर्जनौँ बस्तीहरु नजिकै छन् । फलतः उक्त बाघले त्यस क्षेत्रमा मानवीय क्षेति पुर्याउन सक्ने चिन्तामा स्थानीयहरु छन् । ‘निकुञ्जको वन क्षेत्रसंगै बस्तीहरु सटेका छन्,’ बस्नेतले भने ‘यहाँ त जतिबेला पनि बाघले आक्रमण गर्न सक्छ, त्यसैले स्थानीयहरु अधिक त्रस्त बनिरहेका छन् ।’  

निकुञ्जले पनि अत्यावश्यक बाहेक जंगल आसपास क्षेत्रमा नजान स्थानीयहरुलाई सूचना जारी गरेको छ । साथै पूर्व पश्चिम महेन्द्र राजमार्ग क्षेत्रमा मोटरसाईक, साईकल चलाउन रोक लगाईएको छ । ‘हामीहरुले जंगल नजिकमा नजान स्थानीयहरुलाई माईकिङ गरेर, घरघरमै पुगेर स्थानीयहरुलाई भनिरहेका छौँ,’वार्डेन शाहले भने ‘महेन्द्रराजमार्गमा मोटरसाईकल तथा साईकल चलाउनमा रोक पनि लगाएका छौँ ।’  

उनका अनुसार बर्दियामा बितण्डा मच्चाएको उक्त बाघ सुरक्षित राख्नका लागि बाँके राष्ट्रिय निकुञ्जको जिम्मा लगाईएको थियो । फलामको बलियो खोर बनाएको भएपनि बाघले खोर भत्काएको उनको भनाई छ । ‘हामीहरुलाई यो बाघ सुरक्षित रुपमा खोरमा राख्नका लागि जिम्मा लगाईएको थियो,’वार्डेन शाहले भने ‘फलामको बलियो खोर निर्माण गरेर राखेका पनि थियौँ, तर खोर भत्काएर भाग्न सफल भयो ।’ खोर भत्काएर भागेको बाघ निकुञ्ज क्षेत्रभित्रै बाघको सुरक्षित बासस्थानमा गएको हुन सक्ने निकुञ्जले आँकलन गरेको छ ।

 ‘बाघ आफ्नो सुरक्षित बासस्थान खोजेर त्यसतर्फ गएको हुन सक्छ, फलतः मानव बस्ती आसपास क्षेत्रमा बाघ आउने सम्भावना हामीले देखेका छैनौँ,’ शाहले भने ‘तथापी सुरक्षा दृष्टिकोणले स्थानीयहरुलाई सजगता अपनाउन भनिरहेका छौँ ।’ उनका अनुसार बाघ पुनः बर्दियामै पहिला रहँदै आएको क्षेत्रमा पनि जान सक्ने उनले बताए ।‘यस्ता जनावरहरु पुरानै थलोमा फर्किने सम्भावना पनि रहन्छ, किनकी यस्ता जनावरहरु जहाँ पायो त्यहाँ बस्न रुचाउँदैनन्,’ उनले भने ‘यहाँबाट भागेको बाघ पुनः बर्दियामै फर्किन पनि सक्ने सम्भावना रहन्छ ।’

प्रकाशित: ११ चैत्र २०७७ ०६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App