९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

गोरखा अस्पतालमा उपचार गराउने भन्दा रेफर बढी

गोरखा अस्पतालमा छ महिनामा तीनजनाको शल्यक्रिया ६३ जना रेफर

गोरखा अस्पताल । तस्बिर : नागरिक

५० शैयाको गोरखा अस्पतालमा बिरामीको उपचार भन्दा रेफर धेरै हुन थालेपछि सर्वसाधारणलाई उपचार महँगो परेको छ । गत साउन देखि माघसम्म अस्पतालले जम्मा तीनजना महिलालाई  शल्यक्रिया मार्फत प्रसुती गराएको थियो भने सोही अवधीमा ६३ जनालाई अन्यत्र रेफर गरेको सुचना अधिकारी कृष्ण ढकालले बताए ।  

रेफर भएको अधिकाशंले चितवन र केहीले काठमाडौंका अस्पतालबाट प्रसुती सेवा लिएका छन् । स्वास्थ्यमा कुनै समस्या नदेखिएका र सामान्य अवस्थामा भने अस्पतालमै सुत्केरी गराउने गरिएको छ । सामान्य अवस्थामा अस्पतालमा बच्चा जन्माउनेको संख्या मासिक ४० देखि ५५ जनासम्म हुन्छन् । शल्यक्रिया गराएर सुत्केरी गराउनुपर्ने मात्र होईन अन्य बिरामी पनि अस्पतालबाट रेफर भईरहन्छन् ।  

अस्पतालको वार्डमा एकसय देखि एकसय ५० जना बिरामी मासिक भर्ना हुन्छन् । यो संख्यामा भर्ना हुँदा न्यूनतम १० देखि अधिकतम २० जना रेफर हुने गरेका छन । साउन महिनामा एकसय ५८ जना बिरामी भर्ना भएको गोरखा अस्पतालको वार्डमाा २६ जना रेफर भए । गत पुस महिनामा एक सय जना भर्ना हुँदा २० जना अन्यत्र रेफर भए ।  

इमर्जेन्सीबाट रेफर हुनेको संख्या एकसय २५ रहेको छ । यी मध्ये टाउको र ढाडको गम्भिर चोट, सडक दुर्घटना, कुटपिटका बिरामी धेरै रहेको अस्पतालका डाक्टर सुरज ढकालले बताए । सबै खाले विषेशज्ञ जनशक्ति नभएपछि अस्पतालमा हाल कार्यरत स्वास्थ्यकर्मीले जोखिम लिन नचाहने र सिधै रेफरलाई प्राथमिकता दिने गरेको गुनासो बिरामीको छ ।  

स्वास्थ्य विमा कार्यक्रमबाट रेफर हुनेको संख्या एकहजार तीन सय ३७ रहेको छ । मुटुरोग, मिर्गाैला, नसा, मस्तिष्क लगायत कडा खालका बिरामी अस्पतालमा यी सेवा नपाउने भएपछि पहिलो प्राथमिकता रेफर चाहन्छन् ।  

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट शान्ति भुर्तेलले भौतिक संरचना निर्माणको क्रममा अस्पताल रहेकाले सबै सेवा दिन नसकेको बताईन । ‘हामीले चाहेजति सेवा दिन सकेका छैनौं,’ उनले भनिन् ‘आवास गृहबाट अस्पताल संचालन गर्नुपरेको छ ।’ गोरखा अस्पतालको सुविधा सम्पन्न भवन निर्माणाधिन छ । उक्त भवन पुरा हुँदासम्म अहिले भएको जनशक्ति रहने हो भने सहज सेवा दिन सकिने बताउँदै उनले भनिन् ‘अस्पताल निर्माण पुरा हुँदा यो जनशक्ति रहन्छन् या रहँदैनन् भन्ने चिन्ता हो ।’ अस्पताल ५० शैयाको भनिएपनि इमर्जेन्सी, जनरल, शल्यक्रिया गरी ३१ वेड मात्र रहेको उनले बताईन । 

प्रकाशित: ३ चैत्र २०७७ ०७:१४ मंगलबार

गोरखा अस्पताल