४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

फेवाताल ड्याम मर्मतः तालबाट माटो निकाल्न विज्ञको सुझाव

ड्याम मर्मतका लागि अहिले फेवातालको जलाशय क्षेत्र घटाइएको छ। पानीको सतह दुई मिटरसम्म घट्ने अनुमान छ। पानीको सतह घटेको मौकामा सुख्खा क्षेत्रको माटो निकाल्न सके तालको गहिराइ बढाउन सकिने विज्ञहरूले सुझाव दिएका छन्। ताललाई बर्सेनि सिरान क्षेत्रबाट बगेर आएको ढुंगा, गिट्टी, बालुवाले पुर्दै लगेको अवस्थामा थुप्रिएको माटो किनाल्न सके तालको गहिराइ बढाउन सकिने विज्ञको भनाइ छ।  

वन विज्ञान अध्ययन संस्थान पोखराका वातावरण विज्ञानका प्राध्यापक राजन सुवेदीले जलचरलाई असर नपार्नेगरी माटो निकाल्न सकिने बताए। ‘जलचरलाई हानी नहुनेगरी तालको सुख्खा क्षेत्रको माटो निकाल्न सकिन्छ। सुरक्षित तरिकाले माटो निकाल्ने यो गतिलो अवसर हो,’ सुवेदीले भने, ‘माटो निकाल्न ठूला उपकरण प्रयोग गर्नुहुँदैन। तर, तालका जलचरलाई कुनै प्रभाव नपर्नेगरी माटो निकालेमा तालको गहिराइ बढाउन सकिन्छ।’ सिरान क्षेत्रबाट मात्र तालमा बर्षेनी बर्सेनि करिब १ लाख ४२ हजार टन गिट्टी, बालुवा र माटो मिसिने अनुमान छ। सिरान क्षेत्रबाट थपिँदै आएको ढुंगा, माटोले ताल पुरिने भएकाले अहिले सुख्खा भएको मौकामा निमाल्न सकिने सुवेदीले बताए।

तालको पानी शनिबारदेखि घटाउन थालिएको छ। पानीको सतह अझै घटाउने क्रम चलिरहेको छ। पानी घटेको थाहा पाएर ताल हेर्न पुगेका स्थानीयवासीले पनि तत्काल तालको सुख्खा भएको माटो निकाल्न सक्ने हो भने तालको गहिराइ बढाउन सकिने बताए।  

फेवातालको पानी रोक्ने मुख्य ड्याम चार दशकपछि मर्मतसम्भार गर्न थालिएको छ। लामो समयदेखि ड्याम मर्मत नहुँदा पानीको चुहावट बढेको थियो। ड्याम मर्मत गर्नका लागि तालको पानी दुई मिटर घटाइनेछ। यसअघि सानो आकारमा सामान्य रूपमा ड्याममा मर्मतसम्भार गरे पनि अहिले गर्न थालिएजस्तो वृहत् मर्मत भएको थिएन। जलश्रोत तथा सिंचाइ विकास डिभिजन कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यका अनुसार शनिबारदेखि ड्याम मर्मत गर्न थालिएको हो। उनका अनुसार एक महिना अवधि लगाएर ड्याम मर्मत गरिनेछ। २०३५ सालपछि फेवातालको ड्याम मर्मत भएको थिएन। ड्याम मर्मत गर्नका लागि मात्रै एक करोड लागत विनियोजन गरिएको छ।  

पहिलो पटक २०१७ सालमा फेवातालमा बाँध बाध्न थालिएको थियो। त्यो बाँध २०१९ सालमा पूरा भयो। त्यसपछि तालले स्वरूप लिइरहेकोमा २०३१ सालमा बाँध भत्किएको थियो। बाँध भत्केर तालको पानी घटेको बेला तालको जग्गा अतिक्रमण भएको अध्ययन प्रतिवेदनले औंल्याएका छन्। तालको पानी घटेको बेला कमाई गरेको आधारमा व्यक्तिका नाममा जग्गा दर्ता गरिएको थियो। ताल सुकेको मौका पारेर २०३३ सालसम्म केहीले तालको जग्गा व्यक्तिको नाममा दर्ता गरेको पनि प्रतिवेदनमा उल्लेख छ। २०३५ सालमा पुनः बाँध बनेपछि तालले पुरानै रूप लिएको हो।

ताल संरक्षण तथा विकास प्राधिकरण, गण्डकी प्रदेश प्रमुख डा. अनुप गुरुङ पनि तालको माटो निकाल्ने गतिलो अवसर भएको बताए। ‘तालमा पानीको सतह घटेको बेला थुप्रिएको माटो निकाल्न सकिन्छ। बजेट भएमा निकाल्न कुनै समस्या हुँदैन,’ गुरुङले भने, ‘थुप्रिएको माटो निकाल्नै नहुने भन्ने हुँदैन। माटो निकाल्दा पुरिएको खण्डमा पानीको आकार बढाउन सकिन्छ। जलाशय क्षेत्रफल नै बढाउने नभई गहिराइ भने पक्कै बढ्छ।’  

विभिन्न अध्ययन प्रतिवेदनका आधारमा फेवातालको अहिले क्षेत्रफल करिब ४.२ वर्ग किलोमिटर रहेको छ। यो क्षेत्रफल २०१८ सालमा १० वर्गकिलोमिटर थियो। त्यही क्षेत्रफल २०३१ सालमा ६, २०५२ मा ४.४३, २०५७ मा ४.२५ हुँदै २०६४ सालमा ४.२ वर्ग किलोमिटरमा झरेको छ। त्यसपछि आधिकारिक मापन भएको छैन। पर्यटन व्यवसायी पनि तालको माटो निकाल्ने यो गतिलो अवसर भएको बताउँछन्। ‘ढिलाचाँढो तालको माटो निकाल्नै पर्छ। अहिले सुख्खा भएको बेला तालको माटो निकाल्ने हो भने गहिराइ बढाउन सकिन्छ,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले भने।

पोखरा महानगरपालिका इन्जिनियर महेन्द्र गोदारका अनुसार यो बेला तालबाट मात्रै करिब ३५ हजार घनमिटर माटो निकाल्न सकिन्छ। सुख्खा भएको क्षेत्रलाई आधार मान्दा पनि ३५ हजार घनमिटर माटो निकाल्न सकिने उनको भनाइ छ। ‘अरूबेला पानीले भरिएको हुन्छ। अहिले पानीको क्षेत्र घटेको छ। माटो निकाल्ने हो भने तालको गहिराइ बढाउन सकिन्छ,’ गोदारले भने, ‘यो हाम्रो लागि गतिलो अवसर हो। पछि निकाल्दा पनि तालमा पानीको सतह घटाउनै पर्ने भएकोले अहिले पानी घटाएको बेला निकाल्ने हो भने सहज हुन्छ।’  

महानगरका मेयर मानबहादुर जिसी पनि तालको माटो निकाल्ने बारे योजना बनाउन सकिने बताए। ‘बल्ल तालको सतह घटेको छ। अझै चिसो रहेकाले अहिले नै हतार गर्नुपर्दैन, तर, माटो निकाल्ने अवसर भने आएको छ,’ उनले भने, ‘सुख्खा भएपछि हामीले सम्भावनाबारे प्राविधिक अध्ययन गर्छाैं र आवश्यक परेमा कदम चाल्छाैं।’ कति र कुन क्षेत्रबाट, कसरी माटो निकाल्न सकिन्छ भन्ने बारेमा महानगरले अध्ययन गर्ने उनले बताए।

प्रकाशित: २९ माघ २०७७ ०२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App