१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

सडक छ, सवारी चल्दैनन्

भुरिगाउँ–तेलपानी सडकखण्ड अन्र्तगत रानीघाट–तेलपानी सडकको अनुगमन गर्दै वडाध्यक्ष तुलादेव भारतीलगायत ।

बराहताल गाउँपालिका–१ तेलपानीका इन्द्रबीर थापा (७१) ले जीवनको उर्वर समय बर्दियादेखि भारी बोकेरै बिताए । भूगोल सुर्खेतको भएपनि दूरीका हिसावले तेलपानी बर्दियाको भूरिगाउँसँग नजिक छ । तीन वर्षअघि सुर्खेत खण्डबाट सडक खन्दै आँगनै डोजर पुग्यो । थापाको आँगनैबाट आठ मिटरको चौडा सडक जान्छ । सडक पुगेपनि अझैसम्म यहाँ गाडी भने पुगेका छैनन् ।

इन्द्रबहादुरलाई आफुले भोगेको दुःख छोरा र नाति पुस्ताले नभोगुन भन्ने लाग्छ । ‘मैले त पिठ्यूमै भारी बोकेर आफ्नो जीवन गुजारे, त्यो दुःख छोरा र नातिले नपाउनु भन्ने हो,’ उनले भने, ‘बनेको सडकमा गाडी गुड्न पाए हुन्थ्यो ।’ सडक भएपनि सवारी नचल्नुको एउटै कारण हो, भेरी नदीमाथि पुल नबन्नु ।

२०६९ असार २९ गते पप्पु/मल्ल जेभी निर्माण सेवाले भेरी नदीमा पुल बनाउने गरेर सडक डिभिजन कार्यालय सुर्खेतसँग संझौता गरेको थियो । संझौता अनुसार काम गरिदिएको भए प्रदेश राजधानीबाट बर्दिया जोडिन्थ्यो । भेरीपारीका साविकको हरिहरपुर र तरंगा गाविसका नागरिक यातायातको पहुँचमा हुन्थे । ‘भेरीमा पुल नबन्दा अहिले पनि बर्दिया राष्ट्रिय निकुञ्जमा जोखिमपूर्ण यात्रा गरेर दैनिक उपभोग्य बस्तु खरिदका लागि बर्दिया पुग्नुपर्छ,’ स्थानीय टोपबहादुर कठायतले भने, ‘सडक भएपनि साधन नहुँदा आफ्नै क्षेत्रमा यात्रा गर्र्न पाएका छैनौं ।’  

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि लुम्विनी प्रदेशको बर्दिया जोड्ने सबैभन्दा छोटो तेलपानी–भुरिगाउँ सडकको दूरी ५१ किलोमिटर छ । तेलपानी–भुरिगाउँ अन्र्तगत सुर्खेत खण्ड सडक सञ्जालले जोडिएको छ । भुरिगाउँबाट बर्दियाकै बडपानीसम्म पनि सडकले जोडिएको छ । निकुञ्जको १९ सय मिटर मात्रै सडक छिचोल्न बाँकी छ । पाँच दशकअघि चिठीपत्र पु¥याउनका लागि खनिएको यो सडक कर्णाली र सुदूरपश्चिमको लाइफलाइन पनि हो ।  

भेरीपारीका स्थानीयहरु प्रशासनिक कामका लागि मात्रै सुर्खेत सदरमुकाम वीरेन्द्रनगर आउँछन् । वीरेन्द्रनगरदेखि तेलपानीसम्मको दूरी ३५ किलोमिटर हो । तेलपानीदेखि भुरिगाउँ १६ किलोमिटर मात्रै टाढा छ । ‘त्यसैले पनि प्रशासनिक कामबाहेक अन्य कामका लागि निकुञ्जको जोखिमपूर्ण यात्रा गरेर भुरिगाउँ जान्छौं,’ तेलपानीका दिलबहादुर वलीले भने, ‘पुल निर्माण भएर यातायात चलेको भए निकुञ्ज क्षेत्रका बासिन्दाहरुलाई धेरै सहज हुन्थ्यो ।’

बराहताल–१ का वडाध्यक्ष तुलादेव भारतीले तीन प्रदेश जोड्ने सबैभन्दा छोटो मार्गको २०२५ सालमै ट्याक खुलेको भएपनि अहिलेसम्म सञ्चालनमा भने आउन नसकेको बताए । ‘निर्माण कम्पनीले संझौता अनुसार भेरीको पुल २०७२ मै निर्माण सम्पन्न गरेको भए तीन वटै प्रदेशका जनतालाई सहज हुन्थ्यो,’ वडाध्यक्ष भारतीले भने, ‘सडक तयार छ, गाडी भने गुड्दैनन् ।’ गाडी नगुडे पनि वडा कार्यालयले सडक मर्मतका लागि हेरालु राखेको छ । भेरीपारीका तेलपानी, हेर्रेकाँडालगायतका क्षेत्र उच्च मूल्यका कृषि खेतीका लागि प्रख्यात छ । यातायातका साधन सञ्चालन भइदिए उच्च मूल्यका कृषि बस्तुहरु  सस्तोमा विक्री गर्नुपर्ने बाध्यता पनि हट्थ्यो ।

छोटो दूरीको सडक भएका कारण कर्णाली र तराईको उत्पादन ल्याउन र लैजान सहज हुन्थ्यो । दैनिक उपभोग्य बस्तुहरु कर्णालीबासीले सस्तोमा पाउँथे । बर्दिया र सुदूरपश्चिमका नागरिकहरुलाई कोहलपुर भएर कर्णाली आउने–जाने झन्झट हट्थ्यो । 

प्रकाशित: २४ माघ २०७७ १२:२० शनिबार

तेलपानी–भुरिगाउँ सडक २०२५ सालमै ट्याक खुलेको सडक निकुञ्जमा जोखिमपूर्ण यात्रा